दिल्ली उड्न नपाएपछि नेपाल एयरलाइन्सको कार्यालयमा पुगे यात्रु, सोमबार पनि २ उडान रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 02:21:20 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट दिल्लीमा हुँदै आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को उडान संख्या कटौती हुँदा यसको मार यात्रुले खेप्नु परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको दिल्ली उडान कटौती गरेपछि यात्रुहरु मारमा परेका हुन् ।

सोमबार पनि नेपाल एयरलाइन्सको २ वटा उडान रद्द भएका छन् । आइतबार रोकिएका यात्रु समेतलाई लैजाने गरी निगमले आज तयारी गरेको भएपनि उडान अनुमति नपाएपछि आज पनि एउटा मात्रै उडान हुने भएको हो । 

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले आज ३ सय यात्रु लैजाने तयारी गरेको भएपनि अनुमति नपाइएको बताएकी छिन् । 

हिजो आइतबार काठमाडौँमा रोकिएकामध्ये १ सय जनालाई विभिन्न एयरलाइन्ससँग समन्वय गरी दिल्ली पठाइएको र बाँकी रहेका १५५ जना जतिलाई आज दिउँसो हुने एउटा उडानमा व्यवस्थापन गर्ने प्रवक्ता खड्काको भनाई छ । आज दिउँसो दिल्ली उड्ने जहाजलाई हिजो रोकिएका र आजको टिकट भएका गरी मिलाएर अधिकतम यात्रु राखेर पठाइने उनले बताइन् । 

दिल्ली उड्न नपाएका यात्रुहरुलाई निगमले आलोपालो प्रणालीमा लैजाने तयारी गरेको छ । यसका लागि सोमबार यात्रुहरु निगमको मुख्यालय न्यूरोड गेटमा पुगेका थिए । कार्यालयमै आएका यात्रुलाई निगमले टोकन दिएर पठाएको छ । अब टोकनका आधारमा उनीहरुको उडान हुनेछ ।

दिल्लीमा हप्तामा १४ उडान गर्दै आएको नेपाल एयरलाइन्सको उडान संख्या कटाएर प्राधिकरणले १० मा झारिदिएको छ । दैनिक २ उडान भइरहेकोमा अहिले प्राधिकरणले आइतबार र शुक्रबार दिउँसोको र सोमबार र बिहीबार बिहानको एक एक वटा उडान कटौती गरिदिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved