हिमालयको चार्टर्ड फ्लाइटमा मजाकः यात्रुलाई काठमाडौँबाट भेडाबाख्राझैं गाडीमा भैरहवा, अनि मलेसिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 07:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले भैरहवाबाट चार्टड उडान गर्ने नाममा यात्रुलाई दिनुसम्मको सास्ती दिएको छ ।

आज शुक्रबार बिहान ७ बजे काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडानमार्फत यात्रु लैजाने तालिकालाई यात्रुलाई जानकारी नै नदिई परिवर्तन गरेपछि करिब २ सय यात्रु शुक्रबार साँझ नक्सालमा बिचल्ली अवस्थामा परेका छन् ।

वैदेशिक रोजगारीमा जाने यात्रुहरुले शुक्रबार बिहान ७ बजेको एच९–८९११ उडानका लागि टिकट काटेका थिए । सोही अनुसार उनीहरु बिहान सबेरै त्रिभुवन विमानस्थल पुगे । तर, विमानस्थलस्थित हिमालय एयरलाइन्सको काउण्टरमा कोही पनि कर्मचारी नदेखेपछि यात्रु तनावमा परे । 

त्यहाँ विमानस्थलका कर्मचारीले हिमालयको उडान शनिबार भैरहवाबाट हुने जानकारी गराएपछि यात्रुहरुले हिमालयको कार्यालयमा सम्पर्क गरे । विमानस्थल पुगिसकेपछि बिहान करिब ६ः३० बजेको समयमा हिमालय एयरलाइन्सले यात्रुलाई शनिबार दिउँसो १ः२० बजे भैरहवाबाट उडान हुने भन्दै म्यासेज पठायो । 

त्यसपछि यात्रुहरु खानु र पिउनु गरी बिचल्ली भए । म्यानपावर कम्पनीहरूले खाजा खान भनेर २/२ सय उपलब्ध गराए । त्यसैको खाजा खाए । तर, न बिहानको खाना, न खाजा, न बेलुकाको खाना खान पाए । 

दिउँसो हिमालय एयरलाइन्सले शुक्रबार साँझ ७ बजे नक्सालमा जम्मा हुन सबै यात्रुलाई उर्दी गर्यो । नक्सालबाट भैरहवासम्म गाडीमा लैजाने र त्यहाँबाट भोली शनिबार दिउँसो १ः२० बजेको चार्टड उडानमार्फत क्वालालम्पुर उडाउने जानकारी गरायो । 

बिहानको समेत खाना खान नपाएका यात्रुहरुलाई म्यानपावरका कर्मचारीले ६ः३० बजेदेखि नै नक्सालस्थित नन्दी रात्री माध्यमिक विद्यालयको गेट र तरकारी बजार आसपास जम्मा गराएर राखे । करिब २ सयको संख्यामा महिला सहितका यात्रुहरु जम्मा भएर बसेपनि साँझ ७ः३० बजेसम्म न हिमालयका कुनै कर्मचारी आएका छन्, न गाडी नै आएको छ । 

अब कुन समयमा गाडी आएर काठमाडौँबाट बसमा ८ देखि ९ घण्टा लाग्ने भैरहवा पुर्याउने हो भन्ने ठेगान छैन । त्यसपछि रातीको खाना के गर्ने, शनिबार बिहान करिब ४ बजे पुर्याएर कहाँ सुताउने हो भन्ने जानकारी कुनै पनि यात्रुलाई छैन । 

विभिन्न म्यानपावरमार्फत मलेसिया जान लागेका यात्रु रामबहादुर (नाम परिवर्तन)ले आफूहरु बुधबारदेखि नै काठमाडौँ आएको र यहाँ आजसम्म जसोतसो बसेको तर, अब आज बिहानदेखि खाना खान नपाएको र भोली शनिबारको पनि कुनै ग्यारेन्टी नरहेको गुनासो गरेका छन् । 

यस विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी यसबारे आफूले तत्कालै एयरलाइन्ससँग सम्पर्क गरेर यात्रुले सास्ती नपाउने गरी तत्काल उपाय अबलम्बन गर्न निर्देशन दिने बताएका छन् ।

'यसबारे म हिमालयनसँग कुरा गर्छु, यात्रुहरूलाई कम सास्ती होस् भन्नेमा म सचेत छु,' उनले बिजपाटीसँग भने । 

सँगै, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलाई पटक पटक सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved