पोखरा एयरपोर्टः चिनियाँ ऋणको किस्ता हाल्ने मिति आइसक्यो, जहाज उड्ने सुरसारै छैन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 02, 2023 | 11:18:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको तामझामका साथ उद्घाटन भयो । विमानस्थल उद्घाटनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्थमन्त्री विष्णु पौडेललाई लिएर पोखरा ओर्लिएका थिए । हजारौँको संख्यामा पोखरेलीहरु जम्मा भएर हर्षोल्लास मनाए ।

विमानस्थल उद्घाटनको खुशीयालीसँगै विमानस्थल बनाउन लिइएको ऋण तिर्नुपर्ने मिति नजिकिएपछि अर्को पिरलो सुरु भएको छ । एयरपोर्टको उद्घाटन कार्यक्रममै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले यो विमानस्थल बनाउन दिएको ऋणलाई अनुदानमा बदल्न चीन सरकारसँग अनुरोध नै गरे । उनको यो भनाइले पनि ऋण तिर्ने मिति नजिकिएपछि सरकार त्रसित भइरहेको भान गराउँछ ।

चर्को ब्याज, चैतदेखि नै किस्ता बुझाउनुपर्ने

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकमार्फत नेपालले २२ अर्ब रुपैयाँ ऋण लिएको थियो। एक्जिम बैंकले दिएको कुल रकममध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रकम हो । 

२० वर्षमा चुक्ता गरिसक्नुपर्ने सर्त राखेर ऋण लिइएको ७ वर्ष भइसक्यो । आउँदो चैतबाट यो ऋणको किस्ता बुझाउन सुरु गर्नुपर्नेछ । ऋणको ब्याज पनि चर्को छ । अर्थात् २ प्रतिशत ब्याजदर छ । अन्य अन्तराष्ट्रिय दातृ निकायबाट १ प्रतिशतभन्दा पनि कम ब्याजदरमा ऋण लिँदै आएको नेपालले चीनसँग भने पोखरा एयरपोर्ट बनाउन २ प्रतिशत ब्याजदरमा ऋण लिएको थियो ।

नेपालले ब्याजवापत मात्रै वार्षिक ३३ करोड रुपैयाँ चीनको एक्जिम बैंकलाई दाखिला गर्नुपर्छ । यो आम्दानी तत्कालै हुने सम्भावना छैन । किनकी, अन्तराष्ट्रिय उडानका लागि एउटा पनि हवाई सेवा प्रदायक कम्पनीहरुले चासो देखाएका छैनन् ।

‘साना जहाजले अन्तराष्ट्रिय गन्तव्यमा व्यवसायिक उडान गर्न सम्भव छैन’

आइतबार पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन बुद्ध एयरको ७२ सिटे जहाजबाट गरियो । जबकी यो सिट क्षमताको जहाज आन्तरिक उडानमा प्रयोग हुन्छ । बुद्धले भारतका २ गन्तव्यमा यो जहाजबाट उडान गर्दै आएको छ ।

तर, आन्तरिक उडान गर्ने जहाजबाटै अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन हुनुले नै यो विमानस्थलबाट ठूला जहाजमार्फत व्यवसायिक उडान हुन सक्दैन भन्ने प्रष्ट भइसकेको छ ।  

हुन पनि २२ अर्ब लागतमा तयार भएको यो एयरपोर्टमा साना र मझौला जहाजले मात्रै उडान गर्न सक्छन् । १५० देखि १८० सिट क्षमता भएका एयरबस–३२० र बोइङ–७५७ सरहका जहाज मात्रै उड्न सक्ने यो विमानस्थलमा ठूला जहाज अवतरण नै गर्न सक्दैनन् ।

साना र मझौला क्षमताका जहाजले मात्रै अन्तराष्ट्रिय व्यवसायिक उडानमार्फत सञ्चालन खर्च र निर्माण गर्दा लिइएको ऋण तिर्न सक्ने गरी आम्दानी गर्न कठिन मात्रै होइन, असम्भव प्रायः छ । 

‘एउटा पनि विदेशी कम्पनीले चासो दिएनन्’

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का एक अधिकारीका अनुसार हालसम्म पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्ने मनशायका साथ कुनै पनि विदेशी हवाई कम्पनीहरुले चासो राखेका छैनन् । 

नेपालमा आन्तरिक उडान गर्दै आएको बुद्ध एयरले आफूले यसअघि पनि उडान गर्दै आएको भारतको २ गन्तव्यमा पोखरा विमानस्थलबाट उडान गर्ने जनाएको छ । यो बाहेक अरु कुनैपनि हवाई सेवा प्रदायकले अन्तराष्ट्रिय उडानका लागि चासो राखेका छैनन् । 

यसकारण, पोखरा विमानस्थलबाट हुने आम्दानीबाट ऋण तिर्न र सञ्चालन खर्च धान्न सक्ने अवस्था नरहेको क्यानकै अधिकारीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved