
नागरिक उड्डयन प्राधिकरणले उडान सम्बन्धि विभिन्न ६ वटा निर्णय गरेको छ । प्राधिकरणले नेपालको उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गरेर थप सुदृढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने र हवाई सेवा प्रदायक निकायको सेवा सञ्चालन प्रतिको व्यवसायिक जिम्मेवारी तथा जवाफदेहितालाई अभिबृद्धि गर्ने उद्देश्यले यी निर्णय गरेको जनाएको छ।
यस्ता छन् ६ निर्णय :
१) हेलिकप्टर बाहेक अन्य वायुयानले VFR Flight अर्न्तगत Stabilized Approach गर्दा Short Take-off & Landing (STOL) विमानस्थलहरुमा जमिनको सतहबाट कम्तीमा ५०० फिट तथा अन्य विमानस्थलहरुमा कम्तीमा १००० फिट को उचाई अनिवार्य कायम गर्नु पर्ने ।
२) आगामी Summer Schedule - 2023 बाट लागु हुने गरी यान्त्रिक उडान हुने Controlled Aerodrome मा उडान गर्ने STOL वायुयान (Twinotter, LET - 410, Dornier लगायत) बाहेकका अन्य वायुयानहरुले IFR Flight Operation मात्र गर्न पाउने ।
(३) वायुसेवा कम्पनीमा उडान गर्ने प्रशिक्षक / परिक्षक पाईलटले अर्को Pilot Proficiency Check (PPC) गर्नु पुर्व सम्बन्धित वायुयान निर्माता कम्पनीको वा सो कम्पनीबाट सिफारिस प्राप्त संस्था / परीक्षकमार्फत अनिवार्य रुपमा Proficiency Check / Skill Test गर्नु पर्ने व्यवस्था लागु गर्ने ।
(४) वायुयान चालक दलका सदस्यको थकानको जोखिम न्युनीकरण (Fatigue Risk Mitigation) गर्न उडानमा हाल कायम रहेको Augmented Flight Duty Time Limitation (उडानमा दुई भन्दा बढी चालकदलका सदस्य रही Extended Hour उडान गर्न पाउने) सम्बन्धी प्रावधान अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गर्ने ।
(५) STOL विमानस्थलको उडानमा रहेको Flight Time Limitation लाई अधिकतम् प्रति दिन ८ घण्टा बाट घटाएर ७ घण्टा कायम गर्ने ।
६) Non-STOL विमानस्थलको उडानमा रहेको Flight Time Limitation लाई अधिकतम् प्रति दिन ९ घण्टा बाट घटाएर ८ घण्टा र प्रतिदिन १० वटा कायम रहेको उडान / अवतरण (Number of Landings) लाई ८ वटा कायम गर्ने ।