आतंकवाद जोडेर नेपालको 'राष्ट्रिय सुरक्षा' माथि अमेरिकाले उठाएको प्रश्नभित्र लुकेको स्वार्थ !

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 13, 2023 | 12:36:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी विदेश मन्त्रालयले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘अतङ्कवादीहरुको ट्रान्जिट’ बन्ने खतरा औँल्याएको प्रतिवेदन सार्वजनिक गर्यो । दुई हप्ता अघि अमेरिकाको विदेश मन्त्रालयले सार्वजनिक गरेको आतङ्कवादसम्बन्धी सन् २०२१ को प्रतिवेदनअनुसार नेपाललाई आतङ्कवादीको खतरा रहेको औल्याए पनि त्यसको प्रतिवाद भने नेपालबाट हुन सकेको छैन ।

अमेरिकाको ऐन (युनाइटेड स्टेट्स कोड,  सेक्सन २६५६ एफ) को दफा २२ को व्यवस्थाअनुसार रिपोर्ट तयार पारेर संसदलाई जानकारी गराउने कानूनी व्यवस्था छ । त्यही अनुसार उसले रिपोर्ट सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेपालसहित विश्वका सबै देशमा आतंकवादको अवस्था, यदि वर्षभर ति देशमा कुनै आतंकवादी घटना भएको भए सो को विवरण, ति देशमा आतंकवाद नियन्त्रणको लागि कानुनी व्यवस्था भए सो को विवरण लगायतका विषय उल्लेख हुन्छन् । 

प्रतिवेदनमा भारतसंगको खुला सिमाना र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा व्यवस्थाको कारण नेपाल ‘अतङ्कवादीहरुको ट्रान्जिट’ बन्ने खतरा  औँल्याइएको छ । प्रतिवेदनमा नेपाल र भारतबीच १ हजार माईलको खुला सिमाना रहेको सिमानामा रहेका चेक पोइन्टहरुमा पर्याप्त सुरक्षा चेक जाँच नहुने उल्लेख छ  । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था पर्याप्त नभएको , यात्रुको स्क्रिनिङ नहुने, नेपाल प्रवेश गर्ने यात्रुको विवरण कतै पनि इन्ट्री नहुने, कागजातको चेकचाँज गर्न युभी लाइटसहितको उपकरण नभएको, विमानस्थलमा इन्टरपोलका प्रहरीको उपस्थिति नहुने गरेको लगायतका कारण नेपाल ‘अतङ्कवादीहरुको ट्रान्जिट’ बन्ने खतरा  औँल्याइएको छ ।

नेपालले यसबारे कहीँ कतै ‘डिफेन्स’ गरेको छैन । सुरक्षा प्रणाली र प्रबन्धमाथि प्रश्न उठाएको भए पनि रक्षा, गृह तथा परराष्ट्रले केही बोलेको छैन । कुटनीतिक सम्बन्धको विषयसमेत जोडिने हुँदा बोल्नुपर्ने, जवाफ दिनुपर्ने वा ‘डिफेन्स’ गर्नुपर्ने विभागीय मन्त्रालय परराष्ट्र हो । 

मन्त्रीविहीन रहेको गृह र परराष्ट्रको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राखेका छन् । नेपाल प्रहरीका एक जना पूर्व महानिरीक्षक यो रिपोर्टबारे कम्तीमा गृहमन्त्री र परराष्ट्रमन्त्री जानकार हुनुपर्ने बताउँछन् । उनले अहिले यी दुबै मन्त्रालय खाली रहनु नै दुर्भाग्य ठानेका छन् । 

‘नेशनल सेक्युरिटी’माथि नै प्रश्न उठ्दासमेत केही नबोल्नु लज्जाको विषय भएको ती पूर्व महानिरीक्षकको तर्क छ । कमजोर सुरक्षा प्रणाली भएको ठाउँ ‘ट्रान्जिट’ बन्न सक्ने जोखिम रहने भए पनि अमेरिकी विदेश मन्त्रालयले भने जस्तो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आतङ्कवादीहरुको हब नबन्ने उनको दाबी छ । 

उनी बिना कुनै स्वार्थ अमेरिकी रिपोर्ट नआएको दाबी गर्दै भारतले विगतमा सुरक्षा खतरा छ भन्ने गरेको विषयलाई पुष्टी गर्न अमेरिकी रिपोर्ट आएको हुन सक्ने अनुमान गर्छन् । 

‘नेपालमा कोही आयो भने अनुहार हेरेर व्यवहार गरिन्छ, कालो छाला भएको देखियो भने यो भारतीय हो भन्यो परिचयपत्र पनि नमाग्यो, साँच्चै भन्ने हो भने नेपाल आएको भारतीय नागरिकसँग परिचयपत्र देखाउ भन्ने आँट पनि हामीसँग नभएको सत्य हो’ ती पूर्व प्रहरी अधिकृतले भने ‘हामीले जति नै कुरा गरे पनि नेपालको सुरक्षा व्यवस्था कस्तो छ भन्ने कुरा अमेरिकाले भारतीय आँखाबाट हेर्छ ।’

उनका अनुसार भारतले नेपालको सुरक्षा व्यवस्था जस्तो छ भनिदिन्छ, अमेरिकाले त्यहीँ सत्य मान्छ । नेपालको विमानस्थलको सुरक्षा प्रणाली ठिक छैन, हामी गरिदिन्छौँ भनेर भारतले धेरै अघिदेखि भनिरहेको र यसैलाई अमेरिकी विदेश मन्त्रालयको रिपोर्टमाफर्त पुष्टी गर्न खोजेको हुनसक्ने उनको दावी छ । 

भारतले नेपालमा क्रिश्चियनहरुको गतिविधि बढ्दा आफूलाई असुरक्षित महशुस गरेर बेला बेलामा नेपालको सुरक्षा प्रणालीमाथि प्रश्न उठाउने गरेको उनले स्मरण पनि गरे । तर, हुनुपर्ने जति ‘वाच’ नभएको भए पनि आतङ्कवादीहरुको हब र ट्रान्जिट नै बन्छ भन्ने अमेरिकी दाबीमा सत्यता नदेखिने ती पूर्व आइजीपीको भनाइ छ ।

यस्तै, सैन्यविद् डा. इन्द्रजित राइले भने चेकजाँच गर्ने प्रणाली अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसारको नभएकाले अमेरिकी विदेश मन्त्रालयले प्रश्न उठाएको हुनसक्ने बताएका छन् । मानिसको ‘बडी सर्च’देखि भिसा प्रणालीसम्म ‘ल्याक’ हुनु र मानिस हेरेर व्यवहार गरिनु अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रतिकुल हुने भएकाले प्रश्न उठेको हुनुपर्ने र यसलाई सुधार गर्नुपर्ने उनको सुझाव छ ।

‘सुरक्षामा खटिएका सुरक्षाकर्मी र अरु कर्मचारीहरुलाई जो भए पनि निर्धक्क चेकजाँच गर्न दिइँदैन, उनीहरुमा लोभ लालच भराइदिएर उनीहरुलाई इमानदारीताका साथ काम गर्न दिइँदैन, यसले भ्रष्टाचारको नियत बढ्छ’ सैन्यविद् राइले भने, ‘अर्को कुरा भारतले नेपालको विमानस्थल असुरक्षित भयो, हामी सुरक्षा दिन्छौँ भन्ने प्रस्ताव गरिरहन्छ, यो विषयसँग पनि अमेरिकी रिपोर्ट जोडिएको हुन सक्छ । सेक्युरिटीमा ल्याक छ भने आफूले गर्ने हो, यो रिपोर्टमा औँल्याइएका प्रश्नहरुको कामबाट जवाफ दिनुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री भने यो विषय नितान्त सुरक्षा प्रणालीसँग जोडिएकाले विमानस्थलको सुरक्षाको जिम्मेवारी पाएका नेपाली सेना, नेपाल प्रहरी र अध्यागमन विभागले चासो लिनुपर्ने बताउँछन् ।

‘सुरक्षाको विषय भएकाले सिभिल एभियसन भन्दा पनि इमिग्रेशन र सुरक्षाको विषय हो यो, सेक्युरिटीको विषय भएकाले सिभिल एभियसनको नजरबाट बोल्नु हुँदैन, उनीहरुले नै जिम्मेवार भएर फर्मल ‘वे’बाट जवाफ देलान्’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved