ग्राउण्डेड गुण एयरको वित्तीय अबस्था दयनीय: पाइलटले तलब पाएनन्, विषय मोड्न जहाज बेच्ने हल्ला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2023 | 11:13:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पाइलट र कर्मचारीलाई तलब दिन नसकेको गुण एयरलाइन्सको आर्थिक अवस्था कमजोर रहेको पुष्टी भएको छ । कर्मचारीहरुले तलब सुविधा नपाएको भन्दै लिखित उजुरी गरेपछि नेपाल नागरिक उड्डययन प्राधिकरण (क्यान)ले गरेको लेखा परीक्षणमा गुण एयरलाइन्सको वित्तीय अवस्था कमजोर देखिएको हो ।  

पाइलट र कर्मचारीले तलब नपाएको गुनासो गरेपछि क्यानले फागुन ८ गते गुण एयरका सबै जहाज ग्राउण्डेड गर्दै अडिट थालेको थियो । प्राधिकरणलमा दाखिला गर्नुपर्ने सेवा शुःल्कसमेत भुक्तानी नगरेको गुण एयरलाइन्सले कर्मचारीहरुलाई तीन महिनादेखि तलब नदिएको पाइएको छ । 

गुणले प्राधिकरणलाई ४ करोड ४४ लाख २३ हजार ५१ रुपैयाँ ५५ पैसा बक्यौता तिर्न बाँकी छ । ‘हामीले गरेको अडिटमा गुण एयरलाइन्सको आर्थिक अवस्था निकै नै कमजोर देखिएको छ’ क्यानका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘यसबारे हामीले कम्पनीलाई पत्र पठाइसकेका छौँ ।’ 

उसको दयनीय आर्थिक अबस्थाले गुण एयरलाइन्स आर्थिक रुपमा टाट पल्टिने सङ्घारमा रहेको देखाउँछ । 

यसपछि यो कुरालाई अन्यत्र मोड्न गुण एयरले जहाज बेच्ने ‘हल्ला’ चलाएको थियो । गुणका प्रवक्तासमेत रहेका बजार व्यवस्थापक प्रज्ज्वल थापाले जहाज बेच्नका लागि खरिदकर्तालाई देखाउनुपर्ने भएकाले जहाजहरु कम्पनी आफैँले ग्राउण्डेड गरेको दाबी गरेका थिए ।

तर, क्यानले गरेको अडिटका क्रममा कम्पनीको वित्तीय अवस्था कमजोर रहेको पुष्टी भएको हो । अब क्यानले गुण एयरलाइन्सलाई जहाज बिक्रीको अनुमति पनि नदिने भएको छ । 

प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता नतिरेसम्म गुणले बिक्री गर्ने भनेका ५ वटा जेटस्ट्रिम जहाज बिक्री गर्न क्यानबाट अनुमति पाउने छैन । यसअघि गुणले ५ जेटस्ट्रिम जहाज बेचेर हाललाई २ वटा विचक्राफ्ट विमानबाट मात्रै उडान गर्ने र सँगै नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाउने दाबी गरेको थियो ।

उता गुण एयरका बजार व्यवस्थापक थापा भने आफूहरुले जहाज बिक्रीको अन्तिम तयारी गरिसकेको र अमेरिकी कम्पनीले जहाज खरिद गर्ने पक्कापक्की जस्तै भएको दावी गर्न भने छाडेका छैनन् । जहाज बिक्रीका लागि पहिले बक्यौता तिर्नुपर्छ भने क्यानबाट बिक्रीको अनुमतिसमेत लिनुपर्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved