
नेपाल नागरिक उड्डयन प्राधिकरणले मार्च २६ (चैत १२) गतेभित्र बाँकी बक्यौता चुक्ता गर्न सबै एयरलाइन्स कम्पनीहरुलाई निर्देशन दिए अनुसार अहिले एयरलाइन्स कम्पनीहरु धमाधम बक्यौता तिर्न केन्द्रित छन् ।
बक्यौता नतिरेकै कारण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान अनुमति पाउन सकेको थिएन । यसपछि प्राधिकरणले पुनः मार्च २६ भित्र सबै बक्यौता तिर्न यसअघि दिएको निर्देशन स्मरण गराउनु परेको थियो । सोही अनुसार नेपाल एयरलाइन्सले हालसम्म सन् २०२२ नोभेम्बरसम्मको बक्यौता चुक्ता गरेको छ ।
यति एयरलाइन्स र तारा एयरले सबै बक्यौता बुझाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । हालसम्म यति एयरलाइन्सले ३ करोड ३६ लाख ३७ हजार, तारा एयरले ४८ लाख ४ हजार बक्यौता बुझाएका छन् ।
हेलिकप्टर कम्पनीतर्फ माउण्टेन हेलिकप्टरबाहेक अरु कम्पनीले बक्यौता तिरेका छन् ।
अप्रिल १ पछि समर सेड्युअल सुरु हुने भएकाले नयाँ सेड्युअल सुरु हुनु अगाडी बक्यौता चुक्ता गरिसक्न प्राधिकरणले ताकेता गरेको थियो । आजसम्म पनि विमान कम्पनीहरुले आफ्नो बक्यौता तिर्ने क्रम जारी रहेको र अब आइतबार कुन कम्पनीले कति तिरे र कति बाँकी छ भन्ने हिसाब निकालिने क्यानले जनाएको छ ।
क्यानले मार्च २६ भित्र बक्यौता चुक्ता नगरे सबै उडान रोक्ने चेतावनी नै दिएको छ ।