
नेपाल नागरिक उड्यन प्राधिकरणले विमान कम्पनीका एयर होस्टेजहरुसँग छलफल गरेको छ । उडानका क्रममा पाइलटहरुबाटै गैर व्यवसायिक कार्य तथा दुर्व्यवहार हुने गरेको घटनाहरु आउन थालेपछि क्यानले आज दिउँसो सबै विमान कम्पनीका एयरहोस्टेजहरुसँग छलफल गरेको हो ।
क्यानले गरेको छलफलमा सहभागी भएका एयरहोस्टेजहरुले महिला भएकै कारण आफूहरुलाई हेर्ने दृष्टिकोण फरक भएको, आफूहरुको ‘प्रोफेशनल वर्क’मा भन्दा पनि बडी र फेसियल स्टक्चरका आधारमा व्यवहारहरु गर्ने गरिएको गुनासो निर्धक्कसँग राखेका छन् ।
कम्पनीहरुले पनि समयमै तलब सुविधा नदिने, बिरामी पर्दा पनि उडान गर्नुपर्ने लगायतका बाध्यतामा राखेको उनीहरुको गुनासो छ ।
एयरहोस्टेजहरुको गुनासो सुनेपछि क्यानले ‘प्रोफेशनल’ रुपमा काम गरिरहेका एयरहोस्टेजहरुको आत्मसम्मानमा चोट पुर्याउने खालका गतिविधि रोक्न ‘एक्सन’मै जाने निर्णय गरेको छ । यसका लागि क्यानकी फ्लाइट सेफ्टी डिपार्टकी सावित्री राइलाई आधिकारिक फोकल पर्सन नै नियुक्त गरेको छ ।
‘प्रोफेशनल्ली रुपमा आफ्नो ड्युटी पूरा गरिरहेका एयरहोस्टेजहरुको आत्मसम्मानमा चोट पुग्नु भएन, यदि कसैबाट र कतैबाट जेण्डर ह्यारेसमेन्ट र सेक्स्युअल ह्यारेसमेन्ट भएको छ भने यसको जानकारी क्यानमा गराउन र कुनै पनि डर नमानी निर्धक्कसँग आफूलाई परेको समस्या राख्न भनेका छौँ, एयर होस्टेजहरुको गुनासो सुन्न फ्लाइट सेफ्टी डिपार्टमा कार्यरत सावित्री राइलाई आधिकारिक फोकल पर्सन नै तोकेका छौँ’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिजपाटीसँग भने, ‘क्यानले यस्तो छलफल गरेपछि उहाँहरु खुशी हुनुभयो, यस्ता छलफल नियमित गर्नुपर्ने माग पनि गर्नुभएको छ ।’