
नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज आकाशै ठोक्किनबाट बचेका छन् । चैत १० गते नेपाल एयरलाइन्स र एयर इन्डिया आकाशमै झण्डै ठोक्किएका थिए ।
दुर्घटना टरे पनि नागरिक उड्डयन प्राधिकरणले एयर कन्ट्रोलरका २ कर्मचारीलाई कारबाही गरेको छ । प्राधिकरणले उक्त समय कन्ट्रोल रूममा रहेका २ कर्मचारीलाई कारबाही गरेपनि कर्मचारीहरूको नाम भने खुलाएको छैन ।
शुक्रबार बिहान मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज आकाशमै झन्डै ठोक्किएका थिए।
१९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किएको थियो । तर, तत्कालै नेपाल एयरलाइन्सको जहाज ७ हजार फिट तल झरेपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो ।