नेपाली आकासमा बढेको ‘हवाइ फल्ट’ स्वभाविक की गम्भिर लापरबाही ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 28, 2023 | 02:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली आकाशमा उड्ने जहाजमा पटकपटक समस्या बल्झिँदै आएको छ । पछिल्ला केही हप्ताका घटनाक्रमलाई मुल्याङ्कन गर्ने हो भने नेपालको उड्डयन क्षेत्रमाथि नै प्रश्न तेर्साइदिएको छ । 

आकासमा उड्दाउड्दै चील ठोक्किने र विमानस्थलमा स्याल कुद्ने घटना बेलाबेलामा देखिँदै आएको हो तर, अहिले आकासमा उड्दाउड्दै हुने घटना बढिरहेको छ । कतिपय प्राविधिक त कतिपय मानवीय लापरबाही बढेको अनुभूति भइरहेको छ । 

विज्ञहरुले केही घटनामा निजी उड्डयन कम्पनीको लापरबाही भएको हुनसक्ने सङ्केत गरेका छन् । पछिल्लो एक महिनामा मात्रै नेपाली आकाशमा २ पटक जहाजहरु झण्डै ठोक्किएको थियो ।

आन्तरिक उडान गर्ने जहाजहरुमा पनि समस्या बढेको बढ्यै छ । कहिले आकाशमै रहेका जहाजभित्रबाट धुँवा निस्केको छ भने कहिले रन–वेबाट जहाजले ‘टेकअफ’ गर्न नसकेका घटना देखिए । नेपाली आकासमा देखिएको बढ्दो ‘हवाइ फल्ट’ स्वभाविक थियो की लारबाही ? बिजपाटीले त्यसलाई चिरफार गर्ने प्रयास गरेको छ । त्यस्ता प्रतिनिधि घटनालाई एक पटक हेरौँ । 

आकासमै झण्डै ठोक्किएका घटना

चैत १० गते शुक्रबार नेपाल एयरलाइन्सको विमान मलेसियाबाट काठमाडौँ आउँदै थियो । जहाज सिमराको ‘होल्डिङ सेन्टर’ आसपास आइपुगेको थियो । त्यहीबेला दिल्लीबाट काठमाडौँ आउँदै गरेको एयर इण्डियाको जहाज पनि आइपुग्यो । एयर इण्डियाको जहाज १९ हजार फिटको उचाइमा हुँदा नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा थियो । अन्तर जम्मा ४ हजार फिटको थियो ।

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज ह्वात्तै १५ हजार फिटमा झरिदियो । जहाँ नेपाल नेपाल एयरलाइन्सको जहाज थियो । यसरी एयर इण्डियाको जहाज झरिरहेको थाहा पाएपछि नेपाल एयरलाइन्सको जहाजलाई पाइलटले करिब ११ हजार फिटमा डाउन गराउन सफल हुँदा ठूलो दुर्घटना टर्यो ।

त्यसअघि गत फागुन १५ गते कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्स र आन्तरिक उडान गरेर अवतरणका लागि काठमाडौँ आएको बुद्ध एयर पनि त्यसैगरी झण्डै आकाशै ठोक्किएका थिए ।

एटीसीसँग यी ३ वटै जहाजले अवतरणको अनुमति मागेका थिए । एटीसीले विमानस्थल व्यस्त रहेको जनाउ दिँदै ३ वटै जहाजलाई केहीबेर आकाशमै होल्ड गर्न भनेका थिए । एटीसीले होल्डमा बस्नु भनेका बेला कतार एयरवेजको जहाज १३ हजार ५ सय फिट, नेपाल एयरलाइन्सको हजाज १२ हजार ५ सय फिट र बुद्ध एयरको जहाज ११ हजार फिटको उचाइमा थिए ।

तर, एकाएक कतार एयरवेजको जहाज ७ सय फिट तल झरिदियो । एटीसीसँग अनुमति नलिई जहाज तल झरेपछि ३ सय फिट मुनि मात्रै रहेको नेपाल एयरलाइन्सको जहाज उडाइरहेका पाइलटलाई समस्या पर्यो । तल झरौँ, बुद्धको जहाज होल्डमा छ, त्यहीँ बसौँ कतार एयरवेजसँग ठोक्किने खतरा छ ।

यस्तो अवस्थामा नेपाल एयरलाइन्सको जहाज पनि केही फिट तल झर्यो । नेपाल एयरलाइन्सको जहाज होल्ड भएको ठिक ७ सय फिट जति मुनि बुद्ध एयरको जहाज थियो । यहाँभन्दा तल झर्ने अवस्था पनि थिएन । त्यहाँ पनि सम्भावित दुर्घटनाबाट जोगियो ।

आकाशमा पुगेपछि आगो देखिनेदेखि ‘टेकअफ’नै नलिनेसम्म

सोमबार (चैत १३ गते) दिउँसो काठमाडौँबाट भैरहवाको लागि उड्न ठिक्क परेको बुद्ध एयरको जहाज धावनमार्ग छोड्ने सकेन । ‘टेकअफ ’ लिनै नसकेपछि बुद्धको विमान रनवेबाटै फर्कियो ।

चैत ४ गते पनि काठमाडौँबाट सुर्खेत उडेको बुद्व एयरको जहाजमा समस्या देखिएको भन्दै काठमाडौँ फर्काइयो । चैत ६ गते ताप्लेजुङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाजले पुरुष यात्रुलाई महिला भनेर यात्रा गराएको थियो । उसले तौल पनि धेरै बोकेको भेटियो र त्यस रुटको उडानमा बोक्न मिल्नेभन्दा ४८ किलो बढी सामान पनि बोकेको पाइएपछि चालक दलका सदस्य र ग्राउण्ड स्टाफलाई निलम्बन गरिएको छ ।

फागुन २५ गते बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै फर्काइयो । 

काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग कुरा गर्दा अन्नपूर्ण हेलिकप्टरका पाइलटले अश्लिल कुरा बोलेको रेकर्ड सार्वजनिक भएपछि ती पाइलटलाई ग्राउन्डेड गरिएको छ ।

एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा सुरक्षा मापदण्ड विपरित ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयर स्पेसमा हेलिकप्टर उडाए । उनीहरु पनि अर्को सूचना नआएसम्मका लागि हेलिकप्टर उडान नपाउने गरी ‘ग्राउण्डेड’मा परे ।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपालमा आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीका जहाजहरुमा पछिल्लो समय समस्या बढ्दो क्रममा देखिएको छ । नागरिक उड्डयन प्राधिकरणले पनि धमाधम निलम्बन गर्दै अनुसन्धान तथा कारबाही गरिरहेको छ ।

८ महिनामा २ ठूला दुर्घटना

पछिल्लो ८ महिनाको अवधिमा नेपाली आकाशमा दुई ठूला दुर्घटना पनि भए । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेका तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाए ।

गत माघ १ गते यति एयरको ९–एन–एएनसी, एटीआर–७२ जहाज पोखराको सेती खोंचमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भयो । त्यस दुर्घटनाले नेपालमा यती धेरै मानिसको ज्यान जाने गरी भएको जहाज दुर्घटनाको रेकर्ड नै बन्यो । 

‘हेल्चेक्र्याईं गर्नुभएन, नत्र उड्डयन क्षेत्र ध्वस्त हुन्छ’

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षेत्री विगतको तुलनामा प्राधिकरणले जहाजहरुको प्राविधिक जाँच बढाएको तर, एयरलाइन्स कम्पनीहरु ‘सिरियस’ नदेखिएको हो की भन्ने जस्तो लागेको बताउँछन् । 

यस्तो अबस्थामा प्राधिकरणसँग भएका इन्जिनियरहरुले बेलाबेलामा जाँच गरिरहेको भए पनि सम्बन्धित एयरलाइन्स कम्पनीहरु नै आफ्नो जहाजको अवस्थामा बढी सिरियस हुनुपर्ने उनको भनाइ छ ।

जहाजहरु नजिक नजिक आउने, उड्न लाग्दा टेकअफ लिन नसक्ने, उडिसकेपछि जहाजको बडीमा खराबी देखिनेलगायतका समस्याहरु आइरहने समस्या हुन् भनेर हेल्चेक्र्याईं गर्न नहुने क्षेत्री बताउँछन् । 

‘बोइङ ७५७ जहाज हेर्ने इन्जिनियर हो भने उसले त्यो मात्रै हेर्नुपर्यो, हेलिकप्टर हेर्ने हो भने त्यसमा पनि कुन खालको हेलिकप्टर हेर्ने सर्टिफाइड हो, त्यो अनुसार हेर्न लगाउनुपर्यो’, पूर्व महानिर्देशक क्षेत्री भन्छन्, ‘म्यानपावर कम नै छन्, थप गर्नुपर्ने आवश्यकता छ । क्यानको मात्रै जिम्मेवारी हो भन्ने जसरी एयरलाइन्स कम्पनीहरु पनि बस्नु भएन ।’

उनले केही दिन अगाडि इण्डियन एयरलाइन्स र नेपाल एयरलाइन्स कम दूरीमा ठिक तलमाथि हुनु डरलाग्दो अवस्था भएको पनि स्पष्ट पारे । उनी एटीसीलाई नै अटेर गर्ने विमान कम्पनीलाई कारबाहीका लागि कठोर हुनुपर्ने आवश्यकता औँलयाउँछन् । 

‘अर्को देशको एयरलाइन्स कम्पनी भएकाले हामीले कारबाही गर्न त मिल्दैन, तर कारबाहीका लागि लेखेर पठाउने हो, यसमा कठोर हुनुपर्छ भन्ने लाग्छ’, उनले थपे, ‘इयूलगायतले हेर्दा नेपाली आकाशमा भएको घटना भनेर हेर्छन्, उनीहरुले हाम्रै नेक्लिजेन्स हो पनि भनिदिन सक्छन् । तर, इण्डियन एयरको पाइलटले हाम्रो एटीसीलाई नटेरेको हो । किन अटेरी बन्यो भनेर कारबाहीका लागि लेखेर पठाउनु पर्छ । उस्तै परे केही समय उडान नै पनि रोकिदिनू पर्छ ।’

कालोसूची लम्बिने जोखिम

२०७० देखि नेपाली आकाश युरोपियन युनियनको कालो सूचीमा छ । पटक पटक नेपालको पक्षबाट कालोसूचीबाट बाहिर निकाल्न प्रयास भइरहेपनि इयूले विश्वास गरिसकेको छैन ।

नेपाली एयरलाइन्स कम्पनीका जहाजहरुमा पछिल्लो समय देखिइरहेका समस्याहरुले पनि कालोसूची लम्बिने खतरा बढेको छ । तर, नेपाल नागरिक उड्ययन प्राधिकरण भने प्राविधिक समस्या आउनु नौलो विषय नभएको दावी गर्छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी प्राविधिक समस्या आउनु खासै ठूलो समस्या नभए पनि इन्जिनमै समस्या आएपछि क्यानको प्राविधिक टोलीले परीक्षण नगरी जहाजहरु उडाउन नदिइने बताउँछन् ।

इन्जिनमा समस्या आउँदैछ भनेर जहाजको इन्डिकेटरमा पूर्व जानकारी आएपछि जहाज तत्काल अवतरण गराइने र प्राविधिक जाँच गरिने उनको भनाइ छ । यसपछि ठिकठाक नदेखिए उडान गर्नै नदिइने महानिर्देशक अधिकारी बताउँछन् । नेपालको हवाइ उड्ययन क्षेत्रलाई इयूको कालोसूचीबाट बाहिर निकाल्ने प्रयास जारी रहेको पनि उनको दाबी छ ।

बिजपार्टीको प्राप्त सुत्रका अनुसार यस्ता दुर्घटनाहरुले नेपालको उड्डयन क्षेत्रमाथि प्रश्न चिन्ह लाग्छ । बेलैमा सुधार जरुरी रहेको विज्ञहरुको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved