वर्ष नवित्दै गौतमबुद्ध विमानस्थलको हालत खराब, पूर्पुरोमा हात लगाउने अबस्थामा व्यवसायी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 15, 2023 | 12:52:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालत खराब भएको छ । बन्द भनौँ भने कर्मचारीहरु भरिभराउ छन्, २४सै घण्टा विमानस्थल खुला छ । खुला भनौँ भने एउटा पनि अन्तर्राष्ट्रिय उडान छैन । गौतमबुद्ध विमानस्थलमा कुवेत–भैरहवा उडान गरिरहेको एक मात्र वायुसेवा कम्पनी जजिरा एयरलाइन्सले उडान रोकेपछि विमानस्थल अहिले आन्तरिक उडानमा सीमित छ । 

गत पुसमा विमानस्थलमा मौसम (सितलहर र बाक्लो हुस्सु)का कारण जहाज अवतरण गर्न नसक्ने भएपछि जजिराले ३ महिना (गत पुस ६ देखि फागुन २५ सम्म) उडान रोकेको थियो । गर्मी सुरु भएसँगै पुनः हप्तामा ३ उडान गर्ने गरी कुवेत–भैरहवा उडान थालेको जजिराले अहिले फेरि व्यावसायिक कारण देखाउँदै एक महिनादेखि उडान रोकेको छ । 

त्यसो त, नेपाली ध्वजाबाहक कम्पनीले पनि भैरहवाबाट उडान गर्न मानेका छैनन् । सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र निजी क्षेत्रको हिमालय एयरलाइन्स नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली वायुसेवा प्रदायक कम्पनी हुन् । 

यी दुबै एयरलाइन्स कम्पनीले भैरहवाबाट उडान गर्न मानेका छैनन् । हिमालय एयरलाइन्सले २ महिना चार्टड उडान गरेर अन्तर्राष्ट्रिय उडान रोकेको थियो । 

भोलि जेठ २ गते यो विमानस्थल उद्घाटन भएको एक वर्ष पुग्दैछ । गत वर्षको जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटन भएको एक वर्ष पूरा हुँदा पनि विमानस्थल चल्न सकेको छैन । 

विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले अहिले पुनः उडान सञ्चालन गर्ने विषयमा जजिरा एयरलाइन्ससँग कुराकानी भइरहेको बताएका छन् । यसअघि जजिराले मङ्गलबार, विहीबार र शनिबार गरी हप्तामा ३ उडान गर्दै आएको थियो ।

किन रोक्यो जजिराले उडान ?

हप्तामा ३ वटा उडानले खासै योगदान केही दिएको थिएन । तर, उडान छैन भन्दा छ भन्ने अवस्था थियो भने जजिराका पाइलट र अन्य उडान कर्मचारीहरु सो क्षेत्रका होटलमा बस्थे । तर, अहिले एउटा पनि उडान नहुँदा भैरहवा विमानस्थलमा सन्नाटा छाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जजिराले राती उडान गर्दा विमानस्थलमा ‘ओभर टाइम’ ड्युटीका कारण सञ्चालन खर्च बढेकाले बिहान सार्न प्रस्ताव गरेको र सोही कारण अहिले उडान रोकेको बताउँछन्।

व्यवसायीको लगानी फस्यो, सरकारले ‘प्रोमोशन’ गर्न सकेन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउने भएपछि निजी क्षेत्रले ५० अर्ब माथि लगानी गरेको छ । होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अनुसार भैरहवा क्षेत्रमा पाँचतारे होटल मात्रै ५ वटा खुलिसकेका छन् । 

पाँचतारेदेखि टुरिष्ट स्ट्याण्डर्डसम्मका होटलमा मात्रै भैरहवा क्षेत्रमा निजी क्षेत्रले ५० अर्ब माथिको लगानी गरेको भए पनि विमानस्थल सञ्चालन नहुँदा लगानी फस्ने त्रासमा होटल व्यवसायीहरु छन् । उनीहरु अब पूर्पुरोमा हात लगाएर बस्नुपर्ने अबस्था आएको भन्दै चिन्ता प्रकट गर्छन् ।

‘सरकारले प्रोमोशन गर्न सक्दैन, विमानस्थल बनाएपछि सो क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्डिङको काम टुरिजम बोर्डले गर्नुपर्ने हो, तर टुरिजम बोर्ड के गर्दैछ केही अत्तोपत्तो छैन’, हानका अध्यक्ष शाहले भने, ‘भारतले उसको एयर स्पेश दिएन भने पनि दुई तीन मिनेट बढी लाग्ने त हो, सिमराको स्पेश त छँदैछ, त्यसलाई प्रयोग गरेर भए पनि उडान हुने अवस्था बनाउनुपर्नेमा भइरहेको उडान पनि रोकिएको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved