सञ्चारमन्त्रीको इन्ट्रेष्टमा अर्को अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना

निरोज कुमार थापा

निरोज कुमार थापा

May 18, 2023 | 08:44:29 AM मा प्रकाशित

laxmi  sunrise bank

जेठ २ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको एक वर्ष बित्यो । बीचबीचमा फाट्टफुट् अन्तर्राष्ट्रिय उडान भए । तर ठिक एक वर्ष पुरा हुँदा उक्त विमानस्थलबाट अहिले वैदेशिक उठान ठप्प भएको छ । एउटा पनि अन्तर्राष्ट्रिय उडान भर्न नसक्नु विडम्बना बनेको छ।

गौतमबुद्ध विमानस्थलको शाख जोगाइराखेको भैरहवा–कुवेत–भैरहवा उडान गर्ने जजिरा एयरलाइन्सले पनि विमानस्थलबाट उडान बन्द गरेपछि अहिले सन्नाटा छाएको छ ।

व्यवसायिक योजना बिना नै सञ्चालन थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च करोडौँ रुपैयाँ छ । उडान शून्य हुँदा पनि एयरपोर्ट २४सैँ घण्टा खुला राखेर सञ्चालन खर्च थप बढाइएको छ । विमानस्थल सञ्चालनमा आउँछ भनेर ५० अर्ब बढी लगानी गरेका होटल व्यवसायी अहिले निरास छन् ।

त्यसो त, गत पौष १७ गते गौतमबुद्ध विमानस्थल उद्घाटनकै जसरी तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि एउटै विदेश उडान हुन सकेको छैन । चीनको एक्जिम बैंकमार्फत लिइएको २२ अर्ब रुपैयाँ ऋण र अरु स्वदेशी लगानी लगाएर बनाइएको यो विमानस्थल पनि आन्तरिक उडानको भरमा छ ।

भैरहवाबाट उडान गर्न विभिन्न अन्तर्राष्ट्रिय हवाइसेवा प्रदायक कम्पनीले चासो नदेखाएका होइनन् । तर, भिजिबिलीटी कम हुँदा पनि उडान र अवतरणमा समस्या नहोस् भनेर विमानस्थलमा १ अर्ब खर्चेर जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस)को रेडियो डेटा (फ्रिक्वेन्सी) प्रवाह हुने क्षेत्रमा भारतको पनि केही भू–भाग पर्नगयो ।

भारतीय भूमि पनि कभरेज एरियामा परेपछि यो प्रणाली सञ्चालन गर्न भारतले पनि स्वीकृति दिनुपर्ने अवस्था आइपरेको छ । तर, नेपाल सरकारले पटक–पटक पत्राचार गरे पनि भारतले कुनै जवाफ दिएको छैन ।

उता, पोखरा विमानस्थलबाट विदेशका गन्तव्यमा उडान गर्न हालसम्म कुनै पनि विदेशी वायुसेवा प्रदायकले चासो देखाएका छैनन् । त्यसो त, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम पनि अघि बढिरहेकै छ ।

एकातिर बनेर उद्घाटनसमेत भइसकेका २ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा अस्वभाविक सन्नाटा छाइरहेका बेला र नेपालको गौरवको आयोजनामा सूचिकृत निजगढ विमानस्थल बनाउने काम पनि अघि बढिरहेका बेला फेरि अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चा सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको गृह जिल्ला दाङमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया अघि बढेको छ । दाङको नारायणपुरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन इआइएका लागि वैशाख १० गते नै सार्वजनिक सूचना जारी भइसकेको छ ।

३ हजार २ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहने, ट्याक्सी मार्ग, एप्रोन विमानस्थल टर्मिनल, कार्गो भवन, पार्किङ क्षेत्र, जलवायु मापन केन्द्र, राडर, इन्धन डिपो, उद्धार तथा अग्नि नियन्त्रण स्टेशन निर्माणको समेत अध्ययन हुने गरी इआइएका लागि सूचना जारी भएको छ ।

तुलसीपुरमा २०११ सालमा बनेको ५० मिटर लामो धावनमार्ग भएको विमानस्थलमा अहिले १९ सिटे ट्वीनअटर जहाज मात्रै अवतरण हुन सक्छन् । यो विमानस्थललाईअन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न इआइए अध्ययन गर्न लागिएको हो । यसमा सञ्चारमन्त्री शर्माको बढी जोडबल रहेको प्राधिकरण स्रोत बताउँछ ।

एयरपोर्ट ‘घाममा सुकाउन’ बनाउने होइनः व्यवसायी

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने अपेक्षामा रहेका होटल तथा पर्यटन व्यवसायीहरु अहिले निराश छन् । होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘एयरपोर्ट भनेको घाममा सुकाउने सम्पत्ति’ होइन भनेर टिप्पणि गरेका छन् ।

‘भैरहवाको प्रोमोशन हुन सकेन, अर्बौ रुपैयाँ लगानी गरेर बनाइएका एयरपोर्टहरु यसरी घाममा सुकाएर राखेर उपलब्धि हुँदैन’ उनले भने, ‘भैरहवामा मात्रै ५० अर्ब माथि होटल क्षेत्रमा लगानी भएको छ, एयरपोर्टलाई घाममा सुकाएर राख्ने भए अर्बौ रुपैयाँ किन लगानी गरेको ?’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved