भैरहवा एयरपोर्ट चल्ने गरी भारतले हवाइ रुट दिएकोबारे किन झुट बोले प्रचण्डले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2023 | 02:03:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट भाषण लगत्तै (जेठ १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा नेपालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न सक्ने गरी ‘हवाई रुट’ पाउने अपेक्षा गरिएको थियो । 

तर, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले दुई देशबीच भएका ७ बुँदे सहमतिमा जेठ १८ गते (जुन १ मा) हस्ताक्षर गर्दा नयाँ हवाई रुटबारे केही पनि उल्लेख छैन । यसको अर्थ यसपटक पनि नेपालले भैरहवा विमानस्थलबाट सहजै उडान हुने गरी ‘एयर स्पेश’ पाएन ।

त्यहाँ १ अर्ब रुपैयाँ लगाएर जडान गरिएको इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) उपकरणको रेडियो डेटा (फ्रिक्वेन्सी) प्रवाह हुने एरियामा भारतको पनि केही भू–भाग परेको छ । भारतले सहमति नदिँदा उक्त प्रणाली चल्न पाएन र त्यसैकारण अहिले भिजिवलिटी कम हुँदा उक्त विमानस्थलमा जहाज ल्याण्ड गर्न नसकिने भएकाले जहाजहरु भैरहवा जान मानिरहेका छैनन् । 

भारत भ्रमणका क्रममा त्यसविषयमा महत्वपूर्ण सम्झौता होला भन्ने अपेक्षा आम नेपालीको थियो । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ हवाइ रुटको विषय पनि दुई देशबीचको छलफलको एजेण्डाका रुपमा समावेश त थियो । तर, भैरहवा विमानस्थल चल्ने गरी नयाँ हवाइ रुट दिन भारतले सहमति दिएन । दुई देशबीच कुनै सहमति नभइ भारतबाटै प्रधानमन्त्री प्रचण्डले नयाँ हवाइ रुटका विषयमा दुई थरी कुरा गरे । उनले त्यस विषयमा भारतले अनुमति दिएको अभिव्यक्ति भारतमै भएका बेला सार्वजकि गर्न भ्याए । नेपाल फर्किएपछि प्रधानमन्त्री प्रचण्डलाई आफ्नै भनाइ भारी पर्यो । 

भारतबाट फर्किएपछि भारतमा हुँदा दिएको अभिव्यक्ति सच्याउँदै प्रधानमन्त्रीले नयाँ हवाइ रुटको विषय ‘प्रक्रियामै रहेको र सहमति नजिक पुगेको’ बताए ।  आइतबारको संसद बैठकमा प्रष्टिकरणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाललार्ई अर्को हवाइ प्रवेश मार्ग र गौतबुद्ध विमानस्थल सञ्चालनका लागि इन्स्टुमेन्टल ल्याण्डिङ सिष्टम सञ्चालका सम्बन्धमा साकारात्मक कुरा भएको तथा नेपालका अन्य शहरमा पनि दुईतर्फी हवाई उडानका सम्बन्धमा सकारात्मक छलफल भएको बताएका थिए । 

नयाँ हवाइ रुट र आइएलएस सञ्चालनको अनुमति पाएका छैनौँः क्यान

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै बखत नेपालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) सञ्चालनको अनुमति पाएको भनिएको थियो । 

तर, नेपाल नागरिक उड्डयन प्राधिकरणले भने प्रधानमन्त्री प्रचण्डले यसबारे उच्च तहमा कुरा उठाएको भए पनि भारतले निर्णय दिइनसकेको बताएको छ । प्राधिकरणका प्रवक्तासमेत रहेका उप–महानिर्देशक जगन्नाथ निरौलाले भारत आईएलएस सिस्टम चलाउन दिन र नयाँ हवाइ रुट दिन सकारात्मक रहेको जानकारी आएको भए पनि अहिले नयाँ हवाइ रुट र भैरहवा विमानस्थलमा जडान गरिएको आईएलएस सिस्टम सञ्चालन गरिहाल्ने भन्ने कुनै सहमति दिइनसकेको बताएका छन् ।

‘प्रधानमन्त्रीले कुरा राख्नुभयो, उच्च तहमै कुरा राखिएको हुनाले भारतको नेतृत्व यसमा सकारात्मक देखिएको छ’ उनले भने, ‘७ बुँदे समहतिमा नयाँ हवाइ रुट र आईएलएस प्रणालीको विषयमा मेन्सन नभएको हो, तर अब दुई देशका विभागीय मन्त्रालय (नेपाल र भारतका नागरिक उड्डयन हेर्ने मन्त्रालय) र दुई देशका नागरिक उड्डयन हेर्ने निकायबाटै यो विषय टुङ्गो लगाउने भन्ने छ, अब क्यान र पर्यटन मन्त्रालयले भारतसँग थप छलफल गर्छन् ।’ उनले यो विषयमा उच्च तहमै कुरा भएर ‘ब्रेक थ्रु’ भएको मान्न सकिने बताएका छन् ।

‘भोलिदेखि नै चलाइहाल्ने भन्ने होइन, कुरो सकारात्मक छ, अब सकेसम्म चाँडै हुन्छ’ उनले थपे, ‘ब्रेक थ्रु भयो, प्रधानमन्त्रीले कुरा राखेको हुनाले आईएलएस र नयाँ रुटको विषय अब अफिसियल च्यानलबाट चाँडै टुङ्गिन्छ भन्ने लाग्छ, मन्त्रालय–मन्त्रालयबीच पत्राचार गरेर चाँडै टुङ्गिन्छ होला ।’

निरौलाले प्रधानमन्त्रीको भारत भ्रमणका बेला दुई देशबीच भएका ७ बुँदे सहमतिमा यो विषय नपरे पनि उच्च तहमा कुरो उठान हुँदा भारतले ‘नाई’ नभनेकाले अब अफिसियल च्यानलबाटै यो नयाँ रुट पाउने र आईएलएस सिस्टम पनि सञ्चालनको अनुमति पाउने आशा गर्न सकिने बताए ।

भैरहवा-नेपालगञ्ज-महेन्द्रनगर हुँदै प्रवेश विन्दु माग: भारतले ‘ल’ पनि भनेन, ‘नाइ’ पनि भनेन

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा ३२ अर्ब रुपैयाँ लगानी भएकाले चलाउनैपर्ने बाध्यतामा नेपालसामु छ । नेपाल सरकारले प्रधानमन्त्रीको भारत भ्रमणका बेला मुख्य एजेण्डाका रुपमा राखेको हवाइ रुट र हवाइ प्रवेश विन्दुको विषयमा भारतले ‘हुन्छ’ वा ‘हुँदैन’ भन्ने कुनै जवाफ नदिएको स्रोतले बताएको छ । 

भैरहवा विमानस्थल सहज रुपमा चलाउन भारतसँग नेपालले विभिन्न देशबाट आउने जहाजलाई भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरका विन्दुबाट नेपाल प्रवेश गर्न मिल्ने गरी भारतीय आकाश प्रयोग गर्न दिन माग गरेको छ । तर, भारतले यसमा ‘हुन्छ’ वा ‘हुँदैन’ केही भनेको छैन ।

‘अहिले ७० प्रतिशत जहाजहरु सिमराको हवाइ विन्दु प्रयोग गरेर नेपाल छिर्छन्, पूर्व वा पश्चिम जुन रुटबाट आए पनि जहाजहरुले सिमराकै विन्दु प्रयोग गरेर मात्रै नेपाल प्रवेश गर्न पाउँछन्’ स्रोत भन्छ, ‘नेपालले भारतसँग पूर्व र पश्चिम क्षेत्रमा जति पनि हवाइ रुट माग गरेको छ, त्यो अनुसार रुट पाउने हो भने जताबाट आए पनि सिमरा पुग्नुपर्ने बाध्यताबाट नेपाल आउने जहाजहरु मुक्त हुने थिए, अन्य रुट पाएपछि भैरहवा र पोखरा विमानस्थल पनि चल्न सक्थे ।’

भारतले पश्चिम नेपाल हुँदै जहाजहरु प्रवेश गर्न सक्ने गरी अनुमति दिए नेपाल आउने ७० प्रतिशत विमान सिमरा नगई काठमाडौँ, भैरहवा वा पोखरामा आउन सक्ने हवाइ क्षेत्रका प्राविधिकहरुको तर्क छ ।

२३ अर्ब बढी मुआब्जा वितरण र भौतिक संरचना निर्माणमा ८ अर्ब ८२ करोड गरी झण्डै ३२ अर्ब रुपैयाँ लागतमा बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भारतले चल्न दिन नचाहेको आम बुझाइ छ । एसियाली विकास बैंक (एडिबी)को ऋण र अनुदानमा बनेको भए पनि यो विमानस्थल निर्माणको काम चिनिया निर्माण कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन’ले गरेको हुनाले भारतले यो एयरपोर्ट चल्न दिन नचाहेको चर्चा हुने गरेको छ । 

यसअघिः
आफ्नो देशको विमानस्थल चलाउन भारतको अनुमति लिनुपर्ने बाध्यता कसरी आइलाग्यो ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved