डढेलो निभाउन हेलिकप्टरको प्रयोगः कति सम्भव ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2024 | 07:07:53 PM मा प्रकाशित

हिजोको मन्त्रिपरिषद बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् । आज शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा भएको छलफलमा गृहसचिव एकनारायण अर्यालले उपप्रधानमन्त्री लामिछानेले राखेको प्रस्तावबारे जानकारी गराएका हुन् ।

तर, वायुसेवा प्रदायकहरु भने डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याउने लामिछानेको प्रस्ताव पूरानो भएको बताउँछन् । सिम्रिक एयरले विगत ५ वर्षदेखि नै हेलिकप्टरबाट डढेलो निभाउने काम गरिरहेको छ । यसअघि पाथीभरा, लुक्ला, शिवपूरी राष्ट्रिय निकुञ्ज, तनहुँ र काठमाडौँको एक औद्योगिक क्षेत्रमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रण गरिएको सिम्रिक एयरका महाप्रबन्धक समेत रहेका वायुसेवा सञ्चालक संघका सचिव मुरलीधर जोशी बताउँछन् ।

अहिले देशभरी डढेलोको घटना बढिरहेको बेला संसद र सरकारका अंगले समेत विपद् व्यवस्थापन सम्बन्धमा छलफल गर्दा हेलिकप्टरबाट पानी खन्याएर डढेलो नियन्त्रण गर्ने बारे छलफल थालेका छन् । जोशीका अनुसार देशका विभिन्न ठाउँबाट डढेलो नियन्त्रणका लागि हेलिकप्टर कम्पनीमा खबर आउने गरेको छ । तर, स्थानीयले दिने जानकारीमा स्पष्ट ठेगाना नहुँदा र स्थानीय प्रशासनबाट तत्काल अनुमति नपाउँदा डढेलो निभाउन हेलिकप्टरहरु प्रयोग हुन नसकेको उनको भनाइ छ । 

साथै, डढेलो लागिरहेको अधिकांश ठाउँको नजिकै ताल तलैया तथा नदी पनि नहुँदा पानी जम्मा गर्न असजिलो हुने गरेकाले पनि समस्या डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग हुन नसकेको जोशी बताउँछन् ।

‘स्थानीहरुले अहिले पनि खबर गरिरहनु भएको हुन्छ, तर स्पष्ट ठेगाना हुँदैन, फेरि स्थानीय प्रशासनले गृह मन्त्रालयमार्फत अनुमति नदिई अग्नी नियन्त्रणका लागि भनेर हेलिकप्टर आफैँ उड्न पनि पाउँदैनन्’ जोशीले भने, ‘डढेलो लागिरहेको वन जगंलको आसपास ठूला पोखरी र तालहरु पनि नहुँदा पानी भर्न समस्या छ । तर, यी कुराहरु सम्भव हुने ठाउँमा हेलिकप्टरमार्फत डढेलो नियन्त्रण गर्न सकिन्छ ।’

उनका अनुसार निजी क्षेत्रका हेलिकप्टरहरुले विगतमा पनि डढेलो निभाइसकेको र खर्चिलो पनि हुने भएकाले निजी क्षेत्रको मात्रै एकल प्रयासबाट नभई सरकारको समेत यसमा सहयोग चाहिने अवस्था छ ।

अहिले देशका ५० बढी जिल्लामा डढेलो लागेको गृह मन्त्रालयको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved