सरकारले भैरहवा र पोखरामा नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि विशेष प्याकेज ल्याउने तयारी गरेको छ। विमानस्थल सञ्चालनमा आएपनि नियमित अन्तरराष्ट्रिय उडान नभएपछि सरकारले सुविधा र छूटसहित विशेष प्याकेज ल्याउन लागेको हो।
स्वीकृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्ययोजनाअनुसार दुवै विमानस्थलमा अन्तराष्ट्रिय वायुसेवालाई ल्यान्डिंग, पार्किङ्ग, र नेभिगेसन सेवा बापत लिने शुल्क ५ वर्षसम्म मिनाहा हुनेछ भने पर्यटकको लागि भिसा निशुल्क हुनेछ ।
त्यस्तै, कार्गो र इन्धनमा सहुलियत दिइनेछ भने भ्याट र अन्य करमा छूट हुने छ। वायुवान र मर्मतशाला तथा ह्यानकर सञ्चालन गर्न चाहने निजि क्षेत्र र लगानीकर्तालाई ‘ट्याक्स होलिडे’ र अन्य छूट दिइने छ।
तत्कालिन सरकारले गत जेठमा पर्यटन तथा नागरिक उड्डयन, अर्थमन्त्रालयका प्रतिनिधिसहित नागरिक उड्डयन प्राधिकरणका निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा बनेको कार्यदलले असार ३१ मा बुझाएको प्रतिवेदनमा उल्लेख सुझाबहरुलाई समेटेर केपी शर्मा ओली नेतृत्त्वको सरकारले कार्ययोजना स्वीकृत गरेको हो।