![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
स्तरोन्नतिको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यहि कात्तिक २३ गतेदेखि ३० प्रतिशत अन्तराष्ट्रिय उडान कटौती हुने भएको छ। स्तरोन्नतिका लागि दैनिक दश घण्टा मात्रै संचालन हुने हुँदा हिउँदे सिजनमा एक तिहाई उडान कटौती हुने भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकाअनुसार यसअघि नै पांच महिनासम्मलाई त्रिभुवन विमानस्थल राति दश बजेदेखि बिहान ८ बजेसम्म बन्द हुनेबारे तालिका नै सार्वजनिक गरिसकिएको छ। विमानस्थल दैनिक २१ घण्टा संचालनमा आउँदा सातामा चार सय १० अन्तराष्ट्रिय उडान हुँदै आएको थियो। तर यहि कात्तिक २३ गतेदेखि सातामा २ सय ८७ अन्तराष्ट्रीय उडान हुनेछ।
अन्तराष्ट्रिय विमानस्थलमा उडान अवधि कटौती हुँदा हवाई कम्पनीहरुले पोखरा र भैरहवालाई यसको विकल्पको रुपमा लिने प्राधिकरणको अपेक्षा रहेको थियो। तर भैरहवा र पोखरामा उडान सिफ्ट गर्ने योजनामा अन्तराष्ट्रिय हवाई कम्पनीहरुले अनिच्छा देखाएका छन्। नेपालमा संचालनमा रहेका अन्तराष्ट्रिय हवाई कम्पनीहरुले भैरहवा र पोखराबाट उडान भर्ने विकल्प छाडेर उडान कटौतीलाई प्राथमिकतामा राखेका हुन्।
संचालनमा रहेका २८ वटा अन्तराष्ट्रिय हवाई कम्पनी मध्ये तीनवटा थाई एयर एसिया, जजिरा, फ्लाई दुबई ले मात्रै भैरहवा र पोखराबाट उडान भर्न तयार भएका छन् भन्ने अन्य कम्पनीहरुले उडान कटौतीलाई नै पहिलो रोजाई बनाएका छन्।
भैरहवा र पोखराबाट उडान भर्ने कम्पनीलाई ल्यानडिंग, पार्किङ्ग, नेभिगेशन, सुरक्षा, ग्राउण्ड ह्याण्डलिङ्गमा ७५ प्रतिशत छुट दिइएको छ। त्यस्तै कम्पनीलाई हवाई इन्धनमा छुट दिइएको छ भने यात्रुलाई भ्याट छुट, यात्रु सेवा शुल्कमा छुट दिइएको छ। यत्तिका छुट दिंदा पनि अन्तराष्ट्रिय हवाई कम्पनीले पोखरा र भैरहवा रोज्नुको साट्टो हवाई उडान कटौती गरेर आफ्नो व्यवसाय सिमित किन बनाए भन्ने प्रश्न उब्जिएको छ।