पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक चीनको सिचुवान प्रान्तको छेन्दुतर्फ व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन्। लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासपछि यो उडान हुन लागेको हो।
पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाका अनुसार सिचुवान एयरलायन्सले छेन्दुबाट तीन वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको छ। "पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यले एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो," उनले बताएका छन्। तीनवटा चाटर्ड उडानपछि एयरलायन्सले नियमित उडान सञ्चालन गर्ने योजना बनाएको छ।
चाटर्ड उडानका लागि एयरलायन्सले रु ६२ हजार भाडादर तोकेको छ। तीनवटा चाटर्ड उडानपछि नियमित उडानका लागि नयाँ भाडादर र तालिका सार्वजनिक गरिने बताइएको छ। पोखरा–छेन्दु उडान यहाँको पर्यटन विकासमा महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल, पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलायन्स र नेपालस्थित चाइनिज एशोसिएशनको सहकार्यमा पहिलो व्यवसायिक चाटर्ड उडान सम्भव भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताएका छन्।
आगामी तीन महिनाभित्र करिब १,२५० चिनियाँ पर्यटक सिचुवान प्रान्तबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अनुमान गरिएको छ। पहिलो उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीसहित पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदैछन्।
नेपाल पर्यटन बोर्डले नेपाली महावाणिज्य दूतावास छेन्दुसँगको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र ‘सेल्स मिसन’ आयोजना गर्ने योजना बनाएको छ। पोखराबाट पहिलो चाटर्ड उडानसँगै गरिने यी कार्यक्रमहरूले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
पोखरा भ्रमण वर्षलाई सहयोग
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको पहिलो व्यवसायिक चाटर्ड उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले यो उडानले पोखरा भ्रमण वर्ष २०२५ लाई बल दिने र पोखरालाई पर्यटन राजधानीका रूपमा विकास गर्न सघाउने बताएका छन्।
पोखराका पर्यटन व्यवसायीका अनुसार पोखरा–छेन्दु उडान सञ्चालन हुँदा चिनियाँ पर्यटक लक्षित पूर्वाधारमा कुनै कमी नरहेको छ। पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन्।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईका अनुसार कोरोनापछि बन्द भएका होटल तथा रेस्टुरेन्टहरू पुनः सञ्चालनमा आएका छन्। चिनियाँ पर्यटकहरू केवल बस्ने-खाने मात्र नभई बोटिङ, सपिङ, पदयात्रा, प्याराग्लाइडिङलगायत विभिन्न गतिविधिमा संलग्न हुने गरेको अनुभव पर्यटन व्यवसायीहरूले साझा गरेका छन्।