
संसद्को सार्वजनिक लेखा समितिमा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी उपसमितिको अध्ययन प्रतिवेदन पेस गरिएको छ। समितिका सदस्य राजेन्द्रप्रसाद लिङ्देनको संयोजकत्वमा गठन गरिएको उपसमितिले सो प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा विमानस्थलको निर्माण लागत, उपयोगिता, पूर्वाधार र सञ्चालन अवस्थासम्बन्धी विस्तृत विवरण समावेश गरिएको छ।
उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य रहेका थिए। समितिले दिएको जानकारीअनुसार प्रतिवेदनमाथि छलफलपछि निर्णय लिइनेछ।
विमानस्थल निर्माणमा उठेका प्रश्नहरूपछि समितिले २०८१ जेठ २७ गते अध्ययन र अनुगमनको निर्णय गरेको थियो। त्यसपछि उपसमितिले २०८१ असार २३ देखि २५ गतेसम्म स्थलगत निरीक्षण गर्दै विमानस्थलसँग सम्बन्धित सरोकारवाला निकाय, स्थानीय बासिन्दा तथा विज्ञहरूसँग छलफल गरेका थिए।
करीब २२ अर्ब रुपैयाँ लागतमा चीनको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण सम्पन्न भएको उक्त विमानस्थल २०७९ पुस १७ गते (१ जनवरी २०२३) देखि सञ्चालनमा आएको हो। तर हालसम्म केही चार्टर उडानबाहेक नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन। आन्तरिक उडान मात्र जारी रहेको विमानस्थलको उपयोग नहुँदा लगानीको प्रतिफलप्रति गम्भीर प्रश्न उठेका छन्।
समितिले प्रतिवेदनको अध्ययनपछि उपयुक्त निर्णय लिने बताएको छ। सो प्रतिवेदन सार्वजनिक भएपछि पोखरा विमानस्थलको उपयोगिता र रणनीतिक भविष्यबारे नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।