
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले चुक्तापुंजीको दश करोडको आठ प्रतिशतका दरले हुने बोनस सेयर तथा नगद लाभांश पारित गरेको छ।
सभाले बोनस सेयर पश्चात कायम हुने चुक्तापुंजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताब समेत पारित गरेको छ। ७५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कालिका लघुवित्तको चुक्तापुंजी १८ करोड ९० लाख पुग्नेछ।
सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको चयन गरेको छ। सञ्चालकमा नित्यानन्द तिवारी, सन्तोष श्रेष्ठ, कृष्णकाजी के.सी. र कृष्ण खाणलाई निर्विरोध निर्वाचित गरेको छ। सञ्चालक समितिको तर्फबाट आगामी कार्यकालको लागि सर्वसम्मत रुपमा कृष्ण खाणलाई अध्यक्ष पदमा चयन गरिएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मिन बोहोराले बताए ।
कालिका लघुवित्तले पौष मसान्त सम्ममा अधिराज्यका २५ जिल्लामा ७० वटा शाखा विस्तार सहित ३३ हजार सदस्यबाट ६० करोड निक्षेप संकलन गरि कुल १ अर्ब ५३ करोड कर्जा लगानी गरेको छ।