अन्य समुह हाबी नभए हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर पक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 08:18:53 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्य समुह हाबी नभए हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक बीच मर्जर हुने पक्का भएको छ। पारिवारिक व्यवस्थापन जस्तो देखियो भनेर विरोध नआए पुष भित्रै मर्जरको लागि औपचारिक सहमती हुने स्रोतले जनाएको छ।  

मर्जर पछि बन्ने बैंकमा पाण्डे र राणा परिवारको हालीमुहाली हुने देखेर कसैले अदालत गुहारे मात्र मर्जरमा समस्या आउँन सक्ने अन्यथा यहि पुष भित्र मर्जरको लागि औपचारीक सहमती हुने स्रोतको दाबी छ। 

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्। 

जिम्मेवारीको हिसाबले मात्र नभई सेयर स्वामित्वमा पनि पाण्डे र राणाको परिवारको दबदबा रहेको छ। हिमालयन बैंकमा सबै भन्दा बढी पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको छ भने त्यसपछि कर्मचारी संचय कोषको १४ प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी ५१ प्रतिशत सेयरमा पाण्डे र राणा परिवारको हिस्सा धेरै छ। 

५१ प्रतिशत सेयर मध्ये हिमालय शमशेर राणाको लगानी रहेको आभा इन्टरनेशनल कम्पनीको ११.३८ प्रतिशत सेयर रहेको छ। त्यसो त आभा इन्टरनेशनलको धेरै हिस्सा सेयर शशीकान्त अग्रवालको हातमा पुगेको छ भने केहि सेयर एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको रहेको छ। 

हिमालयन बैंकको ५१ प्रतिशत सेयर मध्ये संस्थापक भीमबहादुर पाँडे र पृथ्वीबहादुर पाँडेको परिवारको लगानी रहेको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत सेयर छ। छायाँ इन्टरनेशनलमा पनि शशिकान्त अग्रवाल, मनोजबहादुर श्रेष्ठ र उनका आफन्तको  सेयर रहेको छ। 

त्यस्तै हिमालयन बैंकको ५१ प्रतिशत  सेयर मध्ये १२.७१ प्रतिशत सेयर रहेको एन ट्रेडिङमा मनोजबहादुर श्रेष्ठ र उनका भाई प्रचण्डबहादुर श्रेष्ठको लगानी छ भने शशी कान्त अग्रवालको आफ्नै नाममा समेत २.६५ प्रतिशत सेयर रहेको छ। 

यता नेपाल इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय बीमा कम्पनी र महालक्ष्मी इन्भेष्टमेन्ट कम्पनी पछि धेरै सेयर बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको कम्पनी छायाँ इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको रहेको छ। 

पाण्डेपछि इन्भेष्टमेन्ट बैंकमा पनि शशिकान्त अग्रवालको सेयर हिस्सा धेरै छ। अग्रवालले इन्भेष्टमेन्ट बैंकमा आधा दर्जन कम्पनीमार्फत १० प्रतिशतभन्दा माथि सेयर होल्ड गर्छन्। 

हिमालयन र इन्भेष्टमेन्ट बैंकमा पाण्डे र राणा परिवार बाहेकका सेयरधनीहरुले मर्जपछि बन्ने बैंकमा आफ्नो दबदबा कम हुने आंकलन गरेको अवस्थामा मर्जरमा बाधा अड्चन आउँन सक्ने तर यो बाहेकका अन्य कारणले मर्जरमा समस्या नआउने स्रोतको दाबी छ। 

'मर्जरको लागी सहमति गरिसकेपछि पछाडी फर्कन नपरोस भन्ने उदेश्यले दुवै बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डीडीए) को मूल्यांकन गरिरहेका छन्' स्रोतले भन्यो, 'कर्मचारी व्यवस्थापन, मर्जरपछि बन्ने बैकको नाम लगायतका बिषय टुंग्याएर मात्र मर्जरको लागि औपचारिक सहमती हुनेछ। '

मर्जरको लागि मर्जरपछि बन्ने बैंकको नाम, व्यवस्थापन टिम  र कर्मचारी व्यवस्थापन बाधा नबन्ने स्रोतको भनाई छ। मर्जरपछि बन्ने बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे, सीईओमा अशोक राणा तथा वरिष्ट सीईओमा ज्योति पाण्डे रहने गरी मोटामोटी सहमती भईसकेको छ। र सम्भवत: बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट रहने छ।

दुवै बैंकको अवस्था मोटामोटी रुपमा उस्तै रहेकाले स्वाप अनुपात समेत समान रहने जनाईएको छ। डीडीएको काम टीआर उपाध्यायको एकाउन्टिङ फर्मले गरिरहेको छ। हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर खरिदका लागि समेत बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) ले टीआर उपाध्यायको एकाउन्टिङ फर्मलाई नै डीडीए गर्न लगाएको थियो।

राष्ट्र बैंकले मर्जरका लागि अन्य बैंकलाई नैतिक दबाब सृजना होस् भन्ने उदेश्यले यी दुई बैंकको मर्जरलाई सबै प्रकारको सहयोग र साथ दिने प्रतिबद्धता  दिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

हाल हिमालयन बैंकको चुक्ता पूंजी ९ अर्ब ३७ करोड रहेको छ भने इन्भेष्टमेन्ट बैंकको चुक्तापुंजी १४ अर्ब २४ करोड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved