
नेपालका बैंक वित्तीय सँस्थाहरुले कोरोना प्रभावित ऋणी ग्राहकहरुलाई झन्डै १३ अर्ब रुपैयाँ बराबरको ब्याज छुट दिएका छन्। कोरोनाले बैंक वित्तीय संस्थामा पारेको असर र बैंकहरुले दिएका सुविधाबारे नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयमा बुझाएको प्रतिवेदनमा यसबारे जानकारी दिइएको हो।
प्रतिवेदनअनुसार बैंक वित्तीय संस्थाहरुले २ प्रतिशत ब्याज छुट बापत १२ अर्ब २५ करोड १७ लाख तथा १० प्रतिशत ब्याज रकम छुट बापत ५५ करोड १४ लाख रुपैयाँ गरि १२ अर्ब ८० करोड ३१ लाख रुपैयाँ छुट दिएका छन्।
२ प्रतिशत ब्याज छुट अन्तर्गत बाणिज्य बैंकहरुले मात्रै ९ अर्ब ६७ करोड छुट दिएका छन् भने विकास बैंकहरुले ९६ करोड ५० लाख, वित्तीय संस्थाहरुले १४ करोड ६७ लाख, लघुवित्तहरुले १ अर्ब ४७ करोड रुपैयाँ छुट दिएका छन्।
झन्डै ४१ हजारले पाए पुनर्कर्जा
झन्डै ४१ हजार ऋणी ग्राहकले ८२ अर्ब २० करोड रुपैयाँ बराबरको पुनर्कर्जा पाएका छन्। जस मध्ये १५ लाखसम्म ऋण उपभोग गरेका ऋणी ३३ हजार ६१० जना तथा १५ लाख देखि ५ करोडसम्म कर्जा उपयोग गर्ने ऋणी ७ हजार ३७३ जना रहेका छन्।
ग्राहक ऋणीअनुसार ३२ अर्ब १३ करोड बराबरको पुनर्कर्जा उपयोग गर्ने ऋणीको संख्या २२१ रहेको छ। एकमुष्ट पुनर्कर्जाबाट सातै प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाका ३५०४ वटा शाखाका ऋणी लाभान्वित भएका छन्।
त्यस्तै कोरोना प्रभावित ऋणी ग्राहकलाई राहत दिनलाई नेपाल सरकारले ल्याएको बिभिन्न ८ शिर्षकमा सहुलियतपूर्ण कर्जा सुविधा लिने ऋणीको संख्या २०७७ कात्तिकसम्म ४६ हजार ३४३ जना पुगेका छन्। जसमा व्यवसायिक कृषि तथा पशुपालन कर्जा लिनेको संख्या सबै भन्दा बढी २८ हजार ७६८ जना छन्। २०७७ असार महिनादेखि कात्तिकसम्म सहुलियतपूर्ण कर्जा सुविधा लिनेको संख्या १३ हजार ८९५ ले बढेको छ।
सहुलियतपूर्ण कर्जा लिनेहरुमा ‘क’ वर्गका बैंकका ऋणीहरु ४२ हजार ७ सय ३३ जना, ख’ वर्गका ३ हजार २ सय ७५ जना, ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुबाट २३१ जना र लघुवित्त वित्तीय संस्थाहरुबाट ११४ जनाले सहुलियतपूर्ण कर्जा सुविधा उपयोग गरेका छन्। सहुलियतपूर्ण कर्जा अन्तर्गत असार मसान्तसम्म ७९ अर्ब ७५ करोड कर्जा बक्यौता रहेको छ भने ३ अर्ब ८२ करोड अनुदानको रुपमा वितरण गरिएको छ।
कोरोनाको मारसँग जुध्दै आफ्नो व्यवसायलाई निरन्तरता दिन चाहनेहरुलाई नेपाल राष्ट्र बैंकले व्यवसायिक निरन्तरता कर्जा शिर्षकमा थप अर्को सुविधा ल्याएको छ। राष्ट्र बैंकले व्यवसायीक निरन्तरता कर्जा प्रवाह कार्यविधि कार्यन्वयनको लागि २०७७, मङ्सिर बैंकहरुलाई निर्देशन दिईसकेको छ।
यसका लागि नेपाल राष्ट्र बैंक बैंकिङ विभागमा २०७७ साल पुष १ गते व्यवसाय संचालनका लागि 'व्यवसाय संचालन निरन्तरता कर्जा प्रवाह शोध भर्ना ' खाता खोलि सकिएको छ। राष्ट्र बैंकले उक्त खातामा ३ अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता सहित हाल १ अर्ब ४६ करोड जम्मा गरिसकेको छ। अहिलेसम्म सानिमा बैंकले यो शिर्षकमा सुविधा लिईसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।