
बैंकहरुमा निक्षेपको तुलनामा कर्जाको माग बढ्न थालेको छ। कोरोनाको लकडाउन सकिएर सुस्तगतिमा आर्थिक गतिबिधि बढेसँगै बैंकहरुमा पछिल्लो समय निक्षेपको तुलनामा कर्जाको माग बढेको हो।
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार एक सातामा बाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढ्दा कर्जा लगानी २० अर्बले बढेको छ। यो तथ्यांकले पछिल्लो समय कर्जाको माग बढ्दै गएको देखाएको छ।
गत साता माघ १६ गते बाणिज्य बैंकहरुले ३७ खर्ब ७९ अर्ब निक्षेप संकलन गरि ३२ खर्ब ६८ अर्ब कर्जा लगानी गरेकोमा एक साताको अन्तर अर्थात माघ २३ गते ३७ खर्ब ८४ अर्ब निक्षेप संकलन गर्दा ३२ खर्ब ८८ अर्ब कर्जा लगानी गरेका छन्।
दोस्रो त्रैमासको अन्त्यतिर रिकभरीमा ब्यस्त रहेका बैंकहरु अहिले नयाँ कर्जा प्रवाहमा आक्रामक बनेका छन्। कोरोनाको लकडाउन मथ्थर भएर आर्थिक गतिबिधि बढेसँगै बैंकहरुले कर्जा प्रवाहका लागि बैंकहरुले नयाँ नयाँ प्रकारका स्किमहरु ल्याएका छन्। जसकारण कर्जा बिस्तार सुस्त गतिमा बढेको छ।
माघ यता ५ अर्बले निक्षेप वृद्धि हुँदा ५२ अर्बले कर्जा लगानी बढेको छ। यस तथ्यांकले पनि माघ यता निक्षेपको तुलनामा कर्जा लगानी उल्लेख्य बढेको देखाउँछ।