वर्चश्व गुम्ने डरले बिग मर्जरबाट पछि हट्यो नेपाल इन्भेष्टमेन्ट बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 01:09:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक बिग मर्जरबाट पछि हटेको पाइएको छ। नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई साथ दिन बिग मर्जरको तयारी गरेको नेपाल इन्भेष्टमेन्ट बैंक बर्चश्व गुम्ने डरले बिग मर्जरबाट पछि हटेको स्रोतले जनाएको छ। 

हिमालयन बैंकसँग मात्र मर्जरको चाहना भएपनि हिमालयनले सिभिललाई पनि संगै लिएर अगाडी बढ्नुपर्ने प्रस्ताव राखेपछि एनआईबिएल मर्जरबाट पछाडी हटेको स्रोतको दाबि छ। 

स्रोत भन्छ, "हिमालयनसँग मात्र मर्जर गर्दा एनआईबिएलले अध्यक्ष पाउने र हिमालयनले सीईओ पाउने अवस्था रहन्छ तर सिभिल बैंक सहितको मर्जर हुँदा कर्मचारी संचय कोषको सेयर होल्डिङ सबै भन्दा बढी हुने भएकाले एनआईबिएलले अध्यक्ष पनि नपाउने हुन सक्छ, मर्जरपछिको यहि हिसाब किताबका कारण एनआईबिएल तीनवटा बैंकबीचको बिग मर्जरबाट पछाडी हटेको हो।" 

हिमालयन बैंकमा सबैभन्दा बढी हबिब बैंकको २० प्रतिशत सेयर रहेको छ भने त्यसपश्चात कर्मचारी संचय कोषको १४ प्रतिशत सेयर छ। त्यस्तै सिभिल बैंकमा पनि सबै भन्दा धेरै कर्मचारी संचय कोषको ८.५१ प्रतिशत सेयर हिस्सा छ। सिभिल र हिमालयन बैंकमा रहेको कर्मचारी संचय कोषको सेयर हिस्सा जोड्दा २२ प्रतिशत माथि हुन्छ। 

यो पनि: अन्य समुह हाबी नभए हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच मर्जर पक्का

जसले गर्दा तीनवटै बैंक मिलेर बन्ने बैंकमा एनआईबिएलको वर्तमान अध्यक्ष पृथ्वी पाण्डे र अन्य संचालकको सेयर हिस्साको दबदबा कम हुने भएकाले एनआईबिएलले हिमालयनसंग मात्र मर्जर चाहेको हो। तर हिमालयन बैंकका संस्थापक, हाल बोर्डका प्रमुख सल्लाहकार तथा हिमालयन बैंकका सीईओ अशोक शमशेर राणाका बुवा हिमालय शम्सेर राणाको चाहना सिभिल बैंकलाई संगै लिएर अगाडी बढ्ने रहेको स्रोतको दाबी छ। 

हिमालयन बैकका सीईओ अशोक शमशेर राणाले एनआईबिएल बैंकका अध्यक्ष तथा नातामा भेनाजु पर्ने पृथ्वी पाण्डेको चाहना भन्दा बुवाको चाहनालाई प्राथमिकता दिनुपर्ने अवस्थामा रहेकाले उनको चाहना पनि सिभिल बैंकलाई साथमा लिएर अगाडी बढ्ने रहेको पाइएको छ। 

तर सिभिललाई साथमा लिएर अगाडी बढ्ने हिमालयनको प्रस्ताव स्वीकार गर्दा आफ्नो सीईओ पनि नरहने, अध्यक्ष पद पनि गुमाउने र सेयर स्वामित्वमा पनि दबदबा नरहने देखेकाले एनआईबिएल बिग मर्जरबाट हटेको स्रोतको दाबी छ।  बिग मर्जरबाट हिमालयन बैंक पछाडी हट्ने अवस्था नभएपछि एनआईबिएलले लामो समयको पर्खाईपछि गत असारमा ज्योति पाण्डेलाई अर्को ४ बर्षको लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको बताईएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved