सर्टिफिकेट बोकेर जाँदैमा २५ लाख ऋण पाइँदैन, आधार पनि पेश गर्नु पर्छ: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 02:21:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले इमान्दारिताका साथ आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन र चुनौति विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। 

बजेट र मौद्रिक नीतिको अन्तरसम्बन्ध भएकाले आफूले बजेट कार्यान्वयनमा केही चुनौति देखेको उनले बताए। पहिलो चुनौति, बजेटको आकार आन्तरिक ऋण उठाउने व्यवस्था र यसको आकार, बजेटमा आएका कार्यक्रम र आउने वर्ष तय गरिएका विभिन्न कार्यक्रमले मौद्रिक तथा वित्तीय नीतिमा प्रभाव पार्ने उनले बताए। 

कोरोना विरुद्दको खोप खरिद गर्ने र कार्तिक  मङ्सिरमा हुने निर्वाचन जस्ता कार्यक्रम सरकारले अगाडि सारेकाले बजेटको व्यवस्था गर्नुपर्ने र यसको असर मौद्रिक नीति व्यवस्थापनमा पर्ने भएकाले यसले आफूहरुलाई चुनौति थप्ने उनले बताए। 

त्यसको व्यवस्थापन तथा समाधानमा आफूहरु कटिबद्द भएर लागिसकेको बताउँदै गभर्नर अधिकारीले बजेट कार्यन्वयन गर्नलाई काम सुरु भइसकेको बताए। 

वित्तीय प्रणालीको नियामक भएकाले आर्थिक पुनरउत्थानको कार्यक्रम ल्याउँदा त्यसको असर वित्तीय मजबुती र उपलब्धतामा पर्ने बताउँदै गभर्नर अधिकारीले गत वर्षझै यस वर्षको मौद्रिक नीतिमा त्यसबारे काम हुने बताए। 

बजेटमा उल्लेख शैक्षिक प्रमाणपत्र धितोको उदाहरण प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंकहरुले जोखिम हेरेर आफ्नो निर्णय लिने बताए। सरकारले ब्याजमा अनुदान र छुट दिने भएपनि लगानीको जोखिमबारे काम नगर्ने भएकाले राष्ट्र बैंकले यसको मेकानिजम बनाउने तर्फ काम गरिरहेको उनले बताए।

शैक्षिक कर्जा सम्बन्धमा बैंक वित्तीय संस्थाहरुसँग छलफल थालिसकेको बताउँदै गभर्नर अधिकारीले सर्टिफिकेट बोकेर बैंक जादैमा ऋण नपाइने स्पष्ट पारे। 

'शैक्षिक प्रमाणपत्र बोकेर बैंक जाँदैमा २५ लाख ऋण पाइहाल्ने होइन, उसको व्यवसाय, उसले सर्टिफिकेट धितो राखेर लिएको ऋण तिर्न सक्ने क्षमता लगायतका आधार स्पष्ट हुनुपर्छ' गभर्नर अधिकारिले भने। 

राज्यले ब्याजमा अनुदान र छुट दिएपनि लगानीको जोखिम लिनसकेकाले बैंकहरुले लगानीको जोखिम र लगानी उठ्ने कुराको सुनिश्चितता हेरेर मात्र लगानी गर्ने भएकाले त्यसको व्यवस्थापन गर्न तर्फ राष्ट्र बैंकले काम गरिरहेको उनले बताए। 

बजेट कार्यन्वयन गर्नलाई नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामको लागि नेपाल राष्ट्र बैंकले तिब्र गतिमा काम गरिरहेको उनले बताए। यसका लागि राष्ट्र बैंकले एउटा टास्क फोर्स गठन गरिसकेको र अर्थमन्त्रालयसँग नियमित संवाद तथा छलफलको लागि अर्को अलग्गै टिम बनाएको समेत उनले बताए। 

अहिले आफूहरुले बजेटलाई नै केन्द्रित बनाएर छलफल गरिरहेको बताउँदै मौद्रिक नीतिलाई लिएर आगामी सातादेखि मात्रै छलफल थाल्ने गभर्नर अधिकारीले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved