क्लोजिङको समयमा सेन्चुरीका सीईओको राजिनामा: नियत खराब कि बाध्यता ? (Inside Story)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2021 | 02:17:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नियुक्ति तथा राजिनामा नियमित प्रकृया जस्तै हुन्। नियमित रुपमा यस्ता प्रकृया हुँदा त्यो समचारको बिषय पनि नबन्न सक्छ। तर अस्वाभाविक रुपमा अस्वाभाविक समयमा कसैको नियुक्ति हुन्छ वा कसैले राजिनामा दिन्छ भने त्यसमा सबैको चाँसो हुन्छ र त्यो समाचारको बिषय पनि बन्छ। 

बालि भित्र्याउने बेलामा कृषकले आफ्नो जिम्मेवारीबाट टाढा हुने निर्णयलाई जसरी अस्वभाविक मान्न सकिन्छ, त्यसैगरि एक आर्थिक बर्षको सम्पूर्ण हिसाब किताब व्यवस्थापन गर्नुपर्ने र लेन देन मिलाउनुपर्ने बेला कुनै व्यक्तिले सीईओ जस्तो पदबाट राजिनामा दिन्छ भने त्यहाँ पक्कै पनि केहि कारण हुनुपर्छ।  

सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृतको राजिनामामा पनि यतिबेला चर्चामा छ । किनभने उनले आर्थिक बर्षको अन्तिम महिना अर्थात असारमा राजिनामा दिए ।  गौतमले भने यो बिषय सामान्य भएको बिजपाटीलाई बताएका छन्। 

'मर्न र छाड्न साइत कुर्नु पर्दैन, अब काम गर्न मन लागेन, त्यहि भएर राजिनामा दिएको हो, कुन बेला राजिनामा दियो भन्ने कुरा चर्चाको बिषय मात्र हो तर महत्त्वपूर्ण कुरा होइन' गौतमले बिजपाटीसंगको कुराकानीमा बताए।

तर उनको राजिनामा सामान्य नभएको सेन्चुरी बैंकको संचालक समितिको बुझाई छ। असार १८ गते शुक्रबार दिउँसो ४ बजे संचालक समितिको बैठक बस्नु अगाडीसम्म गौतमले सीईओ पदबाट राजिनामा देलान् भन्ने कुरा संचालक समितिका अरु सदस्यको के कुरा, बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले समेत सोचेका थिएनन्। 

बैठक सुरु हुनासाथ अध्यक्ष श्रेष्ठले गौतमले सीईओ पदबाट राजिनामा दिएको जानकारी गराए, जुन जानकारी थाहा पाएपछि बैंकका अन्य संचालक समिति समेत अचम्मित भए। 

सीईओ पदको लागि गरिएको सम्झौताअनुसार असोज मसान्तसम्म काम गर्नुपर्ने भएपनि राजिनामा दिईसकेकाले जति सक्दो छिट्टो आफ्नो राजिनामा स्वीकृत गरिदिन गौतमको राजिनमा पत्रमा उल्लेख छ। सम्भवत: असार मसान्त देखि नै लागू हुने गरि उनको राजिनामा स्वीकृत हुनेछ।

अकस्मात राजिनामा आएको बिषयका पछाडी दुई फरक तरिकाले विश्लेषण गरिएको छ। 

गौतमको राजिनामा गलत समयमा आएको एकपक्षको विश्लेषण छ। एक आर्थिक बर्षको हिसाब किताब गर्नुपर्ने, रिकभरीका सम्पूर्ण काम सक्नुपर्ने, आगामी आर्थिक बर्षको लागि योजना बनाउनुपर्ने, कोभिड १९ जस्तो विश्वब्यापी महामारीको कारण कर्जामा परेको असरको व्यवस्थापन गर्नुपर्ने लगायतका महत्त्वपूर्ण काम गर्नुपर्ने बेलामा अकस्मात राजिनामा दिनु पूर्ण रुपमा अव्यवहारिक भएको उनीहरुको विश्लेषण छ। बर्ष भरि गरिएका कामहरुलाई एउटा किनारामा पुर्याउनुपर्ने बेलामा राजिनामा दिएर बैंकलाई अस्तब्यस्त बनाएको उनीहरुको बुझाई छ।    

निषेधाज्ञाको समयमा गौतमबाट घरमै बसेर काम भएको तर अवस्था सामान्य भएपछि बिदा (फोर्स लिभ) बसेको र अहिले सामान्य अवस्था हुने लाग्दा राजिनामा दिएको कारण योजना अनुसार नै राजिनामा आएको यो पक्षको दाबी छ। यति सम्म कि यो पक्षले गौतमले व्यवसायिक धर्म नै निर्वाह नगरेको र बैंकिङ इतिहासमा अहिलेसम्मकै अव्यवहारिक निर्णय गरेको आरोप समेत लगाएको छ। 

तर गौतमको राजिनामाको मुख्य कारण बैंकका पछिल्ला घटना जिम्मेवार भएको अर्को पक्षको विश्लेषण रहेको छ। यो पक्षकाअनुसार हालै सम्पन्न बार्षिक साधारणसभाबाट संचालक समितिमा रमेश कुमार निरौलाको आगमनसंगै गौतमको राजिनामाको यात्रा सुरु भएको हो। 

गौतम यस अगाडी माछापुच्छ्रे बैंक सीईओ हुँदा रमेश कुमार निरौला केहि घटनाका कारण माछापुछ्रे बैंकको संचालक समिति पदबाट राजिनामा दिएका थिए। त्यहाँ पनि निरौला संचालक समिति सदस्य हुँदा गौतमलाई असहयोग गरेको यो पक्षको दाबी छ। 

त्यसो त असहयोग र हस्तक्षेपको सुरुवात निरौला सेन्चुरीको संचालक भएपछि यता पनि भएको यो पक्षको दाबि छ। निरौला र सुनिल कुमार न्यौपाने लगायतका संचालक समितिका सदस्यले केहि समय अगाडी प्रिमियर इन्स्योरेन्स कम्पनीले आफुसंग रहेको नागरिक लगानी कोषको सेयर लिलाम बढाबढ मार्फत बिक्रिमा राखेको सेयर किन्नलाई दबाब दिएका थिए तर इन्भेष्टमेन्ट कमिटि हुँदै माथि पुगेको यो प्रस्ताव अध्यक्ष राजेश कुमार श्रेष्ठले अस्वीकृत गरेका थिए।  

यो घटना नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्कासँग समेत जोडिएको छ। त्यसो त, अहिले संचालक समिति सदस्य बनेका रमेश कुमार निरौला यस अगाडी नेको इन्स्योरेन्सको अध्यक्ष थिए। 

सीईओ पदबाट राजिनामा दिएका गौतम र निरौला तथा खडकाबीचको सम्बन्ध भने अहिले  सेन्चुरीमा जुरेको सम्बन्ध भने होइन। गौतम माछापुछ्रे बैंकका सीईओ हुँदा अहिले सेन्चुरीको संचालक बनेका निरौला माछापुच्छ्रेमा संचालक थिए भने हाल नेकोको सीईओ रहेका खड्का त्यो बेला माछापुच्छ्रे बैंकका सिनियर म्यानेजर थिए। माछापुछ्रे बैंकले स्ट्यान्डर्ड चार्टड फाइनान्स प्राप्ति गर्दा सिनियर म्यानेजरका रुपमा खड्काको पद व्यवस्थापन भएको थियो।   

माछापुच्छ्रे बैंकमा संचालक समिति सदस्य हुँदा निरौलाले खड्कालाई चिफ अपरेटिङ म्यानेजर बनाउन चाहन्थे तर त्यो प्रयास विफल भएको थियो। त्यस बेलाको त्यो घटना अहिले सेन्चुरीमा पनि दोहोरिन सक्ने अवस्था भएपछि गौतमले राजिनामा दिएको हुन सक्ने यो पक्षको दाबि छ। मिलेसम्म खड्कालाई नै सीईओ बनाउने, त्यो पनि नभए डेपुटी सीईओ बनाउने निरौलाको चाहनाले आफ्नो बिगत बल्झिएको र यसले प्रतिष्ठामा चोट पुगेकाले गौतमले राजिनामाको बाटो रोजेको यो पक्षको दाबी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved