नेपालका सहकारी हाइब्रिड तरिकाका भएकाले नियमन गर्न कठिन भयो: रामकुमारी झाँक्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 09:58:50 PM मा प्रकाशित

laxmi  sunrise bank

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताएकी छिन् । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिकोत्सवको प्रमुख अतिथिको रुपमा बोल्दै झाँक्रीले पुँजी र जनसहभागिता धेरै भएको ठाउँमा नियमनको आवश्यकता पर्ने औल्याइन् ।

सदस्यले बचतको सुरक्षा र लगानीको प्रतिफल खोज्ने भएकाले राज्यले नियमन गर्नुपरेको उनको भनाई थियो । मुलुकभर ३० हजारको हाराहारीमा सहकारी संस्था रहेकोमा १४ हजार सहकारीले बचतऋणको कारोबार गर्ने हुँदा नियमन अपरिहार्य रहेको उनले जनाइन् । सहकारी विभागको श्रोतसाधनले बचतऋण सहकारीको नियमन गर्न नसक्ने भन्दै उनले विभागले उत्पादन उपभोग र वितरणका क्षेत्रमा मात्र सघाउन सक्ने उल्लेख गरिन् ।

सरकारको कुल बजेट ७ सय अर्ब नभएको भन्दै उनले सहकारीमार्फत ७ सय अर्ब पुँजी संकलन भएकाले त्यसलाई सही ठाउँमा लगानी गर्न सके आर्थिक समृद्धि प्राप्त हुने बताइन् । पुँजी भनेको हल्लाको मार्केट भएकाले सानातिना हल्लाले पनि पुँजीलाई हल्लाउन सक्ने हुँदा आम सदस्यको विश्वास जितेर सहकारीहरु अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

मिश्रित अर्थतन्त्रमा सहकारीलाई राज्यले महत्व दिएकाले सहकारीले पनि सोही अुनरुप आफ्नो भूमिकालाई दरिलो बनाउनुपर्ने उनको सुझाव छ । अमेरिकामा सहकारी पुँजीवादी मोडलबाट जन्मिएकाले पुँजीवादी मोडलबाटै अगाडि बढ्यो, रसियाको सहकारी समाजवादी मोडलबाट जन्मेकाले समाजवादी मोडलमा हिँड्यो, नेपालको हाइब्रिड तरिकाको सहकारी अभियान भएकाले नियमन गर्न कठिन भएको उनको भनाइ छ ।

राज्य एक्लैले विकसित र व्यवस्थित शहर निर्माण गर्न असम्भव भएकाले निजी क्षेत्र र सहकारीलाई पनि शहरी विकासका लागि जोड्न सकिने भन्दै उनले सहकारी दुईतीन सय अर्ब पुँजी लगानी गर्न सके त्यसका लागि आवश्यक पर्ने नीतिनियम र मार्गनिर्देश बनाउन सकिने उनले बताइन् ।

सहकारीमा महिला सहभागिता उल्लेख्य रहेकाले महिलाहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र आयआर्जनमा समेत जोडेर लैजान सके उपलब्धीमूलक हुने उनले बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटाले सहकारी अभियानमाझ पाँचताराले अग्रजहरुको सम्मान गरेर छुट्टै पहिचान बनाउन सकेको उल्लेख गरे ।

कार्यक्रमका अतिथि सांदस घनश्याम खतिवडाले सहकारी पवित्र मन्दिर भएकाले राजनीतिकर्मीले राजनीतिको जुत्ता खोलेर मात्रै सहकारीभित्र छिर्नुपर्ने बताए । आफुपनि राजनीतिकर्मी भएपनि सहकारीमा छिर्दा सहकारीकर्मीको रुपमा प्रस्तुत हुने गरेको भन्दै उनले राजनीतिमा भन्दा सहकारी क्षेत्रमा काम गर्दा सन्तुष्टि मिलेको बतााए ।

सहकारी ऐन २०७४ का केहि दफा संशोधन गर्नुपर्ने भएकाले आफुले संसदमा समेत आवाज उठाइराखेको उनले जनाए । सहकारीमा बद्मासी बढेकाले राज्यले ऐननियमको सही कार्यान्वयन गरि बेथिति रोक्नुपर्नेमा उनले जोड दिए ।

नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले सदस्यहरुको सुन्दर र समृद्ध भविष्य निर्माणका लागि सहकारीले काम गर्नुपर्नेमा जोड दिए ।

सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले सहकारीमा विकृति बढ्दै गएकाले महासंघ र केन्द्रीय संघले चनाखो भएर भूमिका खेल्नुपर्ने औंल्याए । प्रदेश सरकारले असरल्ल बहुउद्देश्यीय सहकारी दर्ता दिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसको विषयमा संघहरुले ध्यान पु¥याउन नसकेको आरोप लगाए । ऐनमा जनसंख्याका आधारमा सहकारी रहने भने पनि एउटै घरमा धेरै वटा सहकारी संस्था रहँदासमेत राज्यले ध्यान पु¥याउन नसक्नु कानुन कार्यान्वयनमा फितलो भएको उनको बुझाई छ ।

सहकारी अभियन्ता यज्ञराज ढुंगेलले पाँचताराले सामाजिक कार्यसँगै हरेक वर्गका सदस्यलाई समेटेर काम गर्न सकेको बताए । समुदायमा सबैभन्दा बढि सेवा दिने संस्था सहकारी भएकाले सहकारीका सकारात्मक पक्षलाई समाजमा उजागर गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । सदस्यहरुको सक्रिय सहभागितामा सहकारीले स्वयं मर्यादित भएर काम गर्ने भन्दै उनले थपे, ‘सहकारीलाई मर्यादित व्यवसाय भनेर परिभाषित गरिरहुनपर्ने आवश्यकता छैन ।’ केहि नराम्रा व्यक्तिको हातमा सहकारी गएकाले त्यस्ता व्यक्ति र संस्थाको पहिचान गरी सदस्यहरुलाई त्यहाँ कारोबार नगर्न सचेत गराए ।

सहकारी अभियन्ता पम्फा राईले कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सहकारीले सदस्यको भविष्यका लागि काम गर्ने भएकाले सोही अुनसार अघि बढ्नुपर्ने बताइन् ।

पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट ३ जना सम्मानित

पाँचतारा साकोसले पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मानबाट ३ जना व्यक्तित्वलाई सम्मानित गरेको छ । संस्थाका अध्यक्ष भोलानाथ पाठकको सभापतित्व एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रमुख आतिथ्यतामा भएको १४ औं वार्षिकोत्सव कार्यक्रममा ३ जना सहकारी अभियन्तालाई सम्मान गरिएको हो । 

पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७६ बाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७७ बाट जिल्ला सहकारी संघ ईलामकी अध्यक्ष विष्णुकुमारी लिम्बु दाहाल र पाँच तारा राष्ट्रिय व्यक्तित्व सम्मान २०७८ बाट नेफ्स्कुनका पूर्व अध्यक्ष एवं महासंघका सञ्चालक डिबी बस्नेतलाई कार्यक्रममा ताम्रपत्र, दोसल्ला र जनही ११ हजार १११ नगदसहित सम्मानित गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि झाँक्रीले उनीहरुलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेकी थिइन् । संस्थाले २०७६ र २०७७ मा क्रमश कँडेल र लिम्बुलाई सम्मान गर्ने घोषणा त्यसैबेला गरेको भएपनि कोभिड १९ का कारण भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्ने बातावरण नभएकाले संस्थाले १४ औं स्थापना दिवसको अवसरमा तीनैजनालाई सम्मान गरेको हो ।

सहकारी अभियानमा लागेर समाजको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा सक्रिय भूमिका खेलेको भन्दै संस्थाले उनीहरुलाई सम्मान गरेको हो । यस अघि पनि संस्थाले सहकारी अभियानका अग्रजहरुलाई सम्मान गरिसकेको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भोलानाथ पाठकले अग्रजको सम्मानका लागि आफुहरुले संस्था स्थापना भएदेखि नै सम्मान कार्यक्रमलाई निरन्तर गर्दै आएको बताए । सहकारी क्षेत्रमा लागेर आम सदस्य र समुदायको उन्नतिकालागि आफ्नो जीवन व्यतित गर्ने अभियन्ताहरुको कामको कदर गर्ने उद्देश्यले हरेक वर्ष स्थापना दिवसको अवसरमा फरक व्यक्तित्वलाई सम्मान गर्दै आएको उनले बताए । संस्था स्थापना हुँदाको बेला स्मरण गर्दै उनले शुरुका वर्षमा बाटोमा पाल टाँगेर वार्षिकोत्सव मनाएको उल्लेख गरे ।

पाँच तारा शुरु गर्दा त्यस क्षेत्रमा ४०र५० घरधुरी रहेको र कुनै पनि बैंकको शाखा नभएकाले बैंकिङ सेवा लिन कोटेश्वर पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि संस्था शुरु गरिएको बताए ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष विजया मल्लले शुभकामना मन्तब्य राखेकी थिइन् भने संस्थाले हरेक वर्ष सहकारी दिवसका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएर नियमित रुपमा ५ र १० पटक रक्तदान गरेका व्यक्तिहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि दिपक प्रकास बाँस्कोटाले २०७९ सालको क्यालेण्डर र संस्थाको स्मारिका विमोचन गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved