
आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारीले आन्दोलन सुरु गरेका छन् । नेपाल बंगलादेश बैंक लिमिटेड कर्मचारी संघले आफ्ना माग पुरा नभएको भन्दै आजदेखि सांकेतिक विरोधका कार्यक्रम सुरु गरेको हो ।
आन्दोलन अनुसार संघले आज बैशाख २५ गते अपरान्ह ३ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधेर काम गर्ने तथा ब्यानर टास्ने कार्यक्रम तय गरेको छ । त्यस्तै बैशाख २६ गते र २७ गते बिहान १० बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बाधेर काम गर्ने तथा ब्यानर टास्ने कार्यक्रम तय गरेको छ । संघले ग्राहकलाई प्रदान गरिने सेवामा भने कुनै अवरोध नगर्ने प्रष्ट पारेको छ।
हाल दबाब स्वरुप सांकेतिक विरोधका कार्यक्रम मात्र सार्वजनिक गरेको र माग पुरा नभए कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । संघले नेपाल बंगलादेश र नबिल बैंकबीच प्राप्ती तथा गाभिने सम्बन्धमा कर्मचारी समायोजनको बिषयलाई लिएर असहमती जनाएको छ ।
संघले कर्मचारी समायोजन समान पद र हैसियत कायम गरिनु पर्ने, आकर्षक स्वेच्छिक् अवकाश योजना लागु गरिनु पर्ने, कर्मचारीको सेवा शर्त सुबिधा मर्जर पश्चात समान कायम गरिनु पर्ने, सहयोगि तहका कर्मचारीहरुको रोजगारीको सुनिश्चित गरिनु पर्ने र कर्मचारीको बृत्ति बिकास लाई निरन्तरता दिईनु पर्ने माग राखेको छ ।
पटक पटक लिखित तथा मौखिक रुपमा नबिल बैंक संग मर्जर प्राप्तीको प्रक्रियाको सन्दर्भमा समान पदमा समान रुपले पद मिलान गर्ने सम्बन्धमा आफ्ना मागलाई वेवास्ता गरी एकपक्षिय ढंग बाट निर्णय गरेको संघले जनाएको छ।
संघलाई जानकारी नै नदिई कर्मचारी समायोजन प्रक्रिया अघि बढेकोले उक्त निर्णय कर्मचारीहरुलाई अस्विकार्य भएकोले बिरोधका कार्यक्रम सुरु गर्न बाध्य भएको संघले जनाएको छ । संघले सबै कर्मचारीहरु लाई आ-आफ्नो कार्यस्थल रहेर विरोध कार्यक्रमहरु सन्चालन गर्न आग्रह गरेको छ।
संघले आन्दोलन सुरु गर्न लागेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अध्यक्ष तथा सन्चालक समिति, बैंकको मानब ससांधन विभाग, नेपाल राष्ट्र बैंकका गभर्नर , राष्ट्र बैंकको बैंक तथा बित्तिय संस्था नियमन विभाग, राष्ट्र बैंक कै गुनासो सुनुवाई इकाई, श्रम तथा रोजगार कार्यालय,र नेपाल बित्तिय संस्था कर्मचारी संघ फियुनलाई पनि दिएको छ ।
यस अघि :
- सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी- एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै