मेगालाई मर्ज गराउन तीन बैंकको प्रस्ताव, कसले किन्यो मेगाको ३ लाख कित्ता सेयर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 09:39:34 AM मा प्रकाशित

laxmi  sunrise bank
मेगा बैंकलाई मर्जर तथा प्राप्तिको लागि अरु तीन कमर्शियल बैंकले प्रस्ताव गरेको पाइएको छ। मेगालाई नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले मर्जर तथा प्राप्तिको लागि प्रस्ताव गरेको जनाईएको छ। 

प्राप्त जानकारीअनुसार मर्जर तथा प्राप्तिको लागि यी तीनवटै कमर्शियल बैंकसँग घनिभूत छलफल भईरहेको छ। तीनवटै बैंकसँगको छलफल सकारात्मक रुपमा अगाडी बढेकाले यहिसँग भन्ने अहिल्यै भन्न नसकिने अवस्था रहेको छ। 

सबैकुरा अहिलेकै छलफल अनुसार अगाडी बढेको अवस्थामा सम्भवत नबिल र मेगाबीच मर्जर तथा प्राप्ति हुने सम्भावना प्रबल रहेको स्रोतको भनाई छ। नबिलले स्वाप अनुपात ५० प्रस्ताव गरेपनि मेगाले ६५ मागेकाले सहमतिको बिन्दु खोजिएको छ। 

यता मर्जरका लागि सम्झौता गरेर पनि मर्जर टुटेका एनआईबिएल र हिमालयन बैंकले पनि मेगालाई मर्जर तथा प्राप्तिको लागि प्रस्ताव गरेका छन्। दुवै अर्थात हिमालयन र एनआईबिएलले ७५-८० को स्वाप प्रस्ताव गरेपनि मेगाले ९० मागेकाले सहमतिको बिन्दु खोजिएको छ। 

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मर्जर तथा प्राप्तिका लागि मेगा बैंकले आफ्नो ब्राण्ड नगुमाउने तर आफुजस्तै संस्थासँग मिलेर अगाडी बढ्ने भन्दै आएका थिए। तर अहिले भने मेगा बैंक आफ्नो ब्राण्ड गुमाएर भएपनि मर्जर तथा प्राप्तिमा जान तयार भएको हो। 

अहिलेको अवस्थामा बैंक संचालन खर्च धेरै भएकाले र ठुलो बैंकको आवश्यकता भएकाले आफुहरु ब्राण्ड र बोर्ड गुमाएर पनि मर्जर तथा प्राप्तिमा जाने अवस्था बनेको बैंकका एक संचालकले बिजपाटीलाई बताए। 

व्यवसाय र अन्य कुरा राम्रा हुँदा हुँदै पनि समयको माग भएकाले आफुहरु पनि मर्जर तथा प्राप्तिमा जाने बोल्ड निर्णय गर्न बाध्य भएको ती संचालकको भनाई छ। 

मेगा बैंक मर्जर तथा प्राप्तिमा जाने चर्चाले बिहिबारको सेयर कारोबारमा मेगा बैंकको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो। बैंकको  शेयर मूल्य १० प्रतिशत अर्थात् २२ रुपैयाँ ५० पैसाले बढेर २४७ रुपैयाँ ५० पैसामा बन्द भएको थियो। बिहिबारको सेयर कारोबारमा उद्योगी तथा होटल व्यवसायी शशिकान्त अग्रवालले मात्रै मेगा बैंकको ३ लाख कित्ता सेयर किनेका थिए।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved