
हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरको सम्बन्धमा 'नन डिस्क्लोजर एग्रिमेन्ट' भएको छ । केहि दिन अघि २ बैंकबीच मर्जर प्रकृया अगाडी बढाउने विषयमा 'नन डिस्क्लोजर एग्रिमेन्ट' सम्बन्धि सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर टुटेपछि हिमालयनले सिभिलसँग मर्जरको लागि कुरा अघि बढाएको हो । यस अघि मर्जरका विविध विषयको टुंगो नलगाई इन्भेष्टबैंकसंग मर्जर सम्झौता गर्दा मर्जर भाडिएकोले हिमालयनले मुख्य सम्झौता अघि नै 'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेको हिमालयनका एक संचालकले बिजपाटीलाई जानकारी दिए।
उनका अनुसार 'नन डिस्क्लोजर एग्रिमेन्ट' पछि दुवै बैंकले मर्जरको लागि आवश्यक आन्तरिक कामहरु गरिरहेका छन् र केहि जटिल विषय देखा नपरे सम्भवत २ बैंकबीच छिट्टै मर्जरको लागि सम्झौता हुने छ।
हिमालयन र इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुटेपछि सिभिललाई हिमालयनको सम्भावित पार्टनरको रुपमा हेरिएको थियो । हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने धेरैको अनुमान छ।
इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता अगाडी पनि पनि हिमालयन र सिभिल बीच मर्जर प्रकृया धेरै अगाडी बढेको थियो। इन्भेष्टमेन्ट बैंकसँगको मर्जर टुटेकोले हिमालयनलाई अन्य कुनै बैंकसँग मर्जरमा जानु पर्ने बाध्यता छ। इन्भेष्टमेन्टले भने मेगा बैंकसँग मर्जरको लागि सम्झौता गरिसकेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि मर्जरको लागि दिइएको छुट सुविधाहरु यहि असारसम्म मात्र प्राप्त हुने भन्दै बैंकहरुलाई मर्जरको लागि दबाब दिईरहेको छ ।
हाल नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रक्रियामा रहेको छ भने इन्भेष्टमेन्ट र मेगाले मर्जर सम्झौता गरिसकेका छन् । त्यस्तै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँबीच पनि मर्जर सम्झौता भएको छ।