
कृषि तथा स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमुलक उद्योगले दुई करोडसम्मको कर्जा लिँदा 'सस्तो' ब्याजमा कर्जा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्थाहरुलाई थप प्रष्ट पार्दै आज जारि गरेको एकीकृत निर्देशन मार्फत यस्ता व्यवस्था लागू गरेको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय वाहेक) सञ्चालनका लागि दुई करोडसम्मको कर्जा दिँदा बैक वित्तीय सँस्थाले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ।
यो व्यवस्थाले केहि हदसम्म यी तोकिएका क्षेत्रमा लाग्ने उद्योगी व्यवसायीलाई कर्जाको ब्याज सस्तो पर्नेछ। बैंक वित्तीय सँस्थाहरुले कर्जा प्रवाह गर्दा आधार दरमा कति प्रतिशत ब्याज थप गर्न पाइने स्पष्ट नभएकाले महँगो ब्याज लिने अभ्यास छ। त्यसैले आधार दरमा लिन पाइने ब्याजको अंकनै तोकिदिएपछि बैंक बित्तिय सँस्थाले चाहेर पनि धेरै ब्याज लिन नपाउँदा यी क्षेत्रका उद्योगी व्यवसायीले दुई करोडसम्मको कर्जा लिंदा ब्याज सस्तो पर्नेछ।
रु २० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ ।
त्यस्तै निजि क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नु पर्नेछ ।