
सुपर लघुवित्त वित्तीय सँस्थालाई समस्याग्रस्त लघुवित्त घोषणा गर्नलाई सिफारिस गरिएको छ। स्थलगत सुपरिवेक्षणको क्रममा कर्जा प्रवाहको कागजात नभेटिएपछि थालिएको अनुसन्धानको नतिजाको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
"स्थलगत सुपरिवेक्षणको क्रममा भेटिएका प्रमाणहरुको आधारमा समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको हो" राष्ट्र बैंक स्रोतले भन्यो, "हाम्रो काम सिफारिस गर्ने हो, समस्याग्रस्त घोषणा गर्ने नगर्ने निर्णय लिने अधिकार राष्ट्र बैंक संचालक समितिको हो।"
राष्ट्र बैंकले २०७८ साल कात्तिक ७ देखि कात्तिक १२ गतेसम्म गरेको समष्टिगत स्थलगत निरीक्षण र २०७८ मंसिर १३ गतेदेखि १६ गतेसम्म गरेको बिशेष निरीक्षण प्रवेदनको आधारमा सुपरलाई समस्याग्रस्त घोषणा गर्नलाई राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले संचालक समितिलाई प्रस्ताव गरेको हो।
स्थलगत सुपरिवेक्षणमा कर्जा नोक्सानी व्यवस्था नगरिएको , सुपरका तुल्सीपुर, दंगीशरण, हापुरे, घोराही र लमही शाखा कार्यलयले प्रवाह गरेको कर्जा फाइलहरु नभेटीएको, फोन गर्दा ऋणीलाई सम्पर्कमा नआएको जस्ता बिभिन्न कारणहरु देखाएर राष्ट्र बैंकले सुपर लघुवित्तलाई बिभिन्न शिर्षकमा १४ करोड २४ लाख ९९ हजार थप कर्जा नोक्सानी व्यवस्था गर्नलाई निर्देशन दिएको थियो।
१४ करोड २४ लाख ९९ हजार कर्जा नोक्सानी व्यवस्था गर्दा तोकिएको प्राथमिक पुंजी र पुंजीकोष अनुपात कायम नहुने भन्दै राष्ट्र बैंकले सुपरलाई शीघ्र सुधारात्मक कारबाही गरि बिभिन्न सर्तहरु राखेको थियो।
राष्ट्र बैंकले सुनेन संचालकको गुनासो
यता सुपर लघुवित्त वित्तीय संस्थाको संचालक समितिले राष्ट्र बैंकले देखाएको कैफियत बराबर हुनेगरि संचालक समितिका अध्यक्ष लगायतको सम्पति रोक्का राखेर सँस्थालाई 'शीघ्र सुधारात्मक कारबाही' बाट हटाईदिनलाई राष्ट्र बैंकलाई प्रस्ताव गरेको थियो।
अहिलेको अवस्था आउनुमा तत्कालिन संचालक समिति मात्र नभई तत्कालिन व्यवस्थापनको टिमपनि जिम्मेवार भएको र केहि कैफियत कानुनी लुपहोल अर्थात हिजो फ़िङ्गो हुँदा सिस्टममा नहुँदाको कारण भएको भन्दै सुपरको संचालक समितिले यस्तो प्रस्ताव गरेको थियो। तर राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागले संचालक समितिको उक्त प्रस्ताव नसुनी सिधै समस्याग्रस्त घोषणा गर्नलाई नेपाल राष्ट्र बैंक संचालक समिति समक्ष पेश गरेको सुपरका एक संचालकको गुनासो छ।
यस अघि:
- विवादमा मुछिएको सुपर लघुवित्तबाट निरौलाले दिए राजिनामा
-झनै गिजोलियो सुपरको २२ करोड प्रकरण: राष्ट्र बैंक र लघुवित्तका कर्मचारीमाथि नै आशंका
- चुक्ता पूँजी २ करोड रहेको सुपर लघुवित्तमा २२ करोडको ‘सुपर’ घोटाला