एनआईसीसहित ११ संस्थाका सेयरधनीले यो वर्ष लाभांश नपाउने, यस कारण लाभांश घोषणामा ढिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2022 | 10:54:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक बर्षको अभ्यास हेर्ने हो भने तिहार अगाडी धेरै बैंक वित्तीय सँस्थाले सेयरधनीलाई लाभांश खुवाईसकेका हुन्थे। तर यसपालि तिहार सकिसक्दा पनि एउटा बैक बाहेक कसैले पनि सेयरधनीलाई लाभांश खुवाऊन सकेका छैनन् भने सुचिकृत १३ संस्थाले मात्र लाभांश घोषणा गरेका छन्।  

चालू आर्थिक बर्ष गत आर्थिक बर्षको लाभाश घोषणा गर्नेमा पहिलो बनेको सिटिजन्स बैंकले मात्रै नेपाल राष्ट्र बैंकबाट अनुमती पाएर यहि कात्तिक ४ गते बार्षिक साधारणसभा सम्पन्न गरि सेयरधनीलाई लाभांश वितरण गरेको छ भने लाभांश घोषणा गरेका १३ मध्ये कुमारी, एनसीसी, र निफ्राले मात्रै  एजिएम डाकेका छन्। 

सुचिकृत १३ संस्थाले गरे लाभांश घोषणा 

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले अघिल्लो वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र १० दशमलव ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष ०७७/७८ मा १० प्रतिशत बोनस सेयर र तीन दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । 

सानिमा

सानिमा बैंकको अघिल्लो वर्षको तुलनामा लाभांश घटेको छ । बैंकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ दशमलव ८९ प्रतिशतसम्म लाभांश दिएकोमा यसपटक घटेको हो । सानिमा बैंकले यसपटक अघिल्ला वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश दिएको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले अघिल्लो वर्षको मुनाफाबाट २० दशमलव ९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ६ प्रतिशत बोनस सेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष ०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । 

एनसिसी

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)ले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३ दशमलव ३७ प्रतिशत बोनस सेयर र ७ दशमलव ६४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष ०७७/७८ मा ८ प्रतिशत बोनस सेयर र ० दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

कुमारी

कुमारी बैंकले अघिल्लो वर्षको मुनाफाबाट बोनस सेयर दिएको छैन । बैंकले नगद लाभांश १२ दशमलव ५ प्रतिशत मात्र दिएको हो । आर्थिक वर्ष ०७७÷७८ मा ६ प्रतिशत बोनस सेयर र २ दशमलव ६७ प्रतिशत नगद लाभांश दिएको थियो । 

सिटिजन्स

वाणिज्य बैंक समूूहतर्फ सिटिजन्स बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ । सिटिजनले गत आर्थिक वर्षको मुुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । जसमध्ये १२ दशमलव ७ प्रतिशत बोनस सेयर र ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश थियो । 

सोल्टी होटेल

सोल्टी होटेलले २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । होटेलले ५ प्रतिशत बोनस सेयर र २१ दशमलव ३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

जलविद्युत्मा तीन कम्पनी

जलविद्युुत् समूूहतर्फ अरुण काबेली पावरले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ भने सानिमा माई हाइड्रोपावर कम्पनीले ५ दशमलव २७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष अरुण काबेली पावर कम्पनीले १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, सानिमा माई हाइड्रोपावर कम्पनीले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।त्यस्तै, रुरु जलविद्युत् परियोजनाले अघिल्लो वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो वर्ष पनि परियोजनाले सोहीबराबरको लाभांश प्रस्ताव गरेको थियो ।

निफ्रा

लगानी समूूहअन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चार दशमलव ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । कम्पनीले लगानीको क्षेत्र बढाउँदै जाने योजना बनाएको भए पनि नाफामा खासै उत्साहजनक प्रगति देखिएको छैन ।

त्यसैगरी, उत्पादनमूलक समूहअन्तर्गत नेपाल ल्युुब आयल लिमिटेडले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७७÷७८ मा कम्पनीले ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । त्यसैगरी, बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले बोनस सेयर नभई नगद लाभांश मात्र प्रस्ताव गरेका छन् । बोटलर्स नेपाल (तराई)ले ६० प्रतिशत नगद र बोटलर्स नेपाल (बालाजु)ले २० प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनी

अघिल्लो वर्षको नाफाबाट नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअघि इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश  दिएको थियो ।

एनआईसी र माछापुच्छ्रेसहित ११ सँस्थाका सेयरधनिले लाभांश नपाउने 

एनआईसी एसिया र माछापुच्छ्रे बैंकसहित ११ वित्तीय संस्थाका लगानीकर्ताले लाभांश नपाउने भएका छन् ।  प्राथमिक पुँजी कोष (कोर क्यापिटल) पुर्याउन नसकेपछि यी दुई बैंकहरुले गतवर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिन नपाउने भएका हुन्। यद्दपि नगद लाभांश वितरण गर्न नपाउने भएपनि बोनस सेयर वितरण प्रस्ताव राष्ट्र बैंकमा लाने नलाने भन्नेबारे निर्णय भईनसकेको माछापुछ्रे बैंक स्रोतले जनाएको छ। 

एनआईसी एसिया र माछापुच्छ्रे बैंकले गत वर्षको केही महिना पुँजीकोष  व्यवस्थापन गर्न नसक्दा लाभांश वितरण गर्न नपाउने भएका हुन्। यहि अवस्था सिद्दार्थ लगायत एक दुइ अरु बैंकमा पनि लागू हुन सक्ने देखिन्छ। 

त्यस्तै विकास बैंकअन्तर्गत नारायणी डेभलपमेन्ट, कर्णाली विकास, सप्तकोसी, सिन्धु विकास बैंकले पनि पुँजीकोष व्यवस्थापन गर्न नसक्दा लगानीकर्ता लाभांश पाउनबाट बञ्चित हुन पुगेका हुन्। 

त्यसैगरी लाभांश वितरण गर्न नपाउनेमा वित्त कम्पनीअन्तर्गत बेष्ट फाइनान्स, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्स छन् । समस्याग्रस्त जनरल फाइनान्समा नयाँ लगानीकर्ता भित्रिएपछि बेष्ट फाइनान्स बनेको थियो। पछि बेष्ट फाइनान्समा सिजर्नी फाइनान्स विलय भएको हो।  समस्याग्रस्त नेपाल फाइनान्स र समस्याग्रस्त ललितपुर फाइनान्समा नयाँ लगानीकर्ता भित्रिएसँगै दुवै फाइनान्स एक भएर नेपाल फाइनान्स बनेको हो। 

समस्याग्रस्त गोर्खा डेभलपमेन्टको पुँजी घटाएर काठमाडौं फाइनान्ससँग मर्ज भएपछि गोर्खाज फाइनान्स बनेको हो । समस्याग्रस्त वल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा नयाँ लगानीकर्ता आए पछि समृद्धि फाइनान्सका रुपमा परिचित भएको हो ।यी संस्थाहरुले लामो समयदेखि लगानीकर्तालाई लाभांश दिएका छैनन्। जोखिमका आधारमा प्राथमिक पुँजीको अनुपात (सिसिएआर) नपुगेकै कारण लाभांश वितरणमा रोक लाग्ने सम्भाना बढेको हो । यस्तो अनुपात न्यूनतम ८ दशमलव ५ प्रतिशत हुनुपर्छ । यो अनुपात कायम गर्न नसक्ने बैंक वित्तीय सँस्थाले लाभांश बाँड्न पाउँदैन । यसको समाधान भनेको भएको व्यवसाय घटाउने वा प्राथमिक पूंजी वृद्धि नै हो। 

लाभांश खुवाउन ढिलाई किन ?

पालना गर्नुपर्ने कुराहरु पालना भए नभएको बारेमा राष्ट्र बैंकले कडाइ गरेकाले लाभांश घोषणा तथा वितरणमा ढिलाई भएको बैंकहरुले बताउने गरेका छन्। नेपाल राष्ट्र बैकका सहायक प्रवक्ता तथा सूचनाअधिकारि नारायण पोखरेलकाअनुसार बार्षिक साधारणको अनुमति लिन आउने बैक वित्तीय संस्थाहरुले 'फेयर' व्यवसाय गरे नगरेको, कम्प्ल्यांस पुरा गरे नगरेको, निर्देशनका पालना भए नभएको हेर्ने गरेकाले स्वीकृतिमा बिगत भन्दा ढिलाई हुने गरेको बताएका छन्। 

उनकाअनुसार अहिलेसम्म ८-१० बैंकहरुले बार्षिक साधारणसभाको लागि अनुमती मागेर राष्ट्र बैंकमा ब्यालेन्स सिट स्वीकृतिका लागि पठाएका छन्। उनीहरुको ब्यालेन्स सिटमा हेर्नुपर्ने सबै कुरा हेरेर ठिक देखिएमा मात्र राष्ट्र बैंकले एजीएम स्वीकृति दिने उनको भनाई छ। 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार राष्ट्र बैकले बिशेषगरि बैंकहरुले ऋणीबाट राष्ट्र बैंकको नियम बिपरित बढी प्रीमियम लिएको पाइएपछि र गर्नुपर्ने प्रोभिजन नगरेकाले, निर्देशित कर्जाको लक्ष्य नभेट्टाएकाले एजीएम क्लिययरेन्स अगाडी नै उक्त कुराहरु सच्याएर आउँनलाई निर्देशन दिइरहेको छ। सोहि अनुसार बैंकहरुले पनि ब्यालेन्स सिटमा सच्याउनुपर्ने र मिलाउनुपर्ने कुराहरु मिलाएर राष्ट्र बैंक पठाउने गरेका छन्। 

बिश्वका अन्य देशका बैंकहरुमा कोभिड १९ को प्रभाव देखिएपनि नेपालका बैंक वित्तीय संस्थामा त्यस्तो फरक नपरेको देखिएपछि अन्तराष्ट्रिय मुद्रा कोष, बिश्व बैंक जस्ता संस्थाले बढी चाँसो दिएपछि राष्ट्र बैंक पनि निर्देशन पालना गर्न गराउनमा 'सिरियस' देखिएको जानकारहरुको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved