एजेन्टको मनपरी, बैंकको कमजोरी र राष्ट्र बैंकको नजरअन्दाजले 'दुखद अन्त्य'को संघारमा बीएलबी

भीमा पन्थी/बिजपाटी

भीमा पन्थी/बिजपाटी

Nov 04, 2022 | 02:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरूमध्ये बैंकलाई सबैभन्दा भरपर्दो मानिन्छ । नेपालको सन्दर्भमा बैंकहरूले शाखा, एक्सटेन्सन काउन्टर, शाखारहित बैंकिङ, चेक, एटीएम कार्ड तथा अनलाइन लगायतका माध्यमबाट दिँदै आएका सेवाहरू भरपर्दा नै छन् । तर केही दिनअगाडि माछापुच्छ्रे बैंकको सम्मरीमाई गाउँपालिका, रुपन्देहीमा अवस्थित शाखारहित बैंकिङ (बिएलबी)बाट धेरै ग्राहकहरू ठगिएको समाचार बाहिरीयो । जसले गर्दा सेवा प्रवाहको माध्यम ‘बिएलबी’लाई चासोको रुपमा हेरिएको छ ।

विगतमा कहिलेकाँही बैंकका कर्मचारी, व्यवस्थापक तथा सञ्चालकका गतिविधिले सीमित सेवाग्राहीमा समस्या आएको पाइने गरेको थियो, जुन सजिलै बैंक तथा नियामकसम्म आइपुग्थ्यो ।

तर सेवाको प्रणाली अर्थात माध्यममाथि नै सोचविचार गर्नुपर्ने गरी घटेको यो पहिलो घटना हो । ‘कुनै शाखाको कर्मचारीले गल्ती गरेको भए त्यसको जानकारी छिट्टै हुन्थ्यो । सोही अनुसार कारबाही हुन्थ्यो,' वाणिज्य बैंकका एक अध्यक्षले बिजपाटीसँग भने, ‘बैंक र राष्ट्र बैंकबाटै स्वीकृत लिई शुरू गरिएको बैंकको एक प्रणालीबाट गाउँभरकै सेवाग्राही ठगिँदासम्म पनि बैंकलाई नै पत्तो नहुनु भनेको सेवाको माध्यममाथि नै सोच्चुपर्ने अवस्था आएको बुझ्नुपर्छ ।’

उनका अनुसार विगतमा पनि कहिलेकाँही कन्ट्रयाक्ट सकिएपछि पनि एजेन्टले कारोबार गरेका घटना भने आउँथे । कानुनत: सिधै त्यसको दायित्व सम्बन्धित बैंकमाथि आउँदैनथ्यो । यद्यपी भविष्यमा बैंकको प्रतिष्ठामाथि नकरात्मक प्रभाव पर्ने हुँदा बैंकहरूले त्यस्ता घटना थाहा पाएसम्म स्थानीय तह तथा त्यहाँको प्रहरी प्रशासनसँग समन्वयन गरी सुल्झाउने गर्थे ।

यस्तै घटना गत वर्ष मालिका गाउँपालिका घमिर, गुल्मीमा घटेको थियो । मेगा बैंकको शाखारहित बैंकिङ सञ्चालन गर्दै आएका एजेन्टले कन्ट्रयाक्ट सकिएपछि पनि निरन्तर कारोबार गरे । केही समयपछि सेवाग्राहीको रकम लिएर फरार भए । सेवाग्राहीले पनि आफू ठगिएको धेरै पछि थाहा पाए । अन्ततः स्थानीय तह र प्रहरी प्रशासनले एजेन्टलाई नियन्त्रणमा लिई केही समय दिएर सबैको रकम फिर्ता गर्ने गरी मेलमिलाप गरेका थिए । यो खासै बाहिर आएको घटना थिएन ।

यद्यपी माछापुच्छ्रेको घटनापछि भने राष्ट्र बैंकले पनि यससम्बन्धमा विशेष चासो दिएको छ । राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले उक्त घटनालाई गम्भीरताका साथ लिएको बताए । एजेन्टको रुपमा स्वीकृति दिँदै गर्दा बैंकले बिश्वास गरेको एजेन्ट अयोग्य हुने कुनै अवस्था नभए राष्ट्र बैंकले रोक्दैन तर त्यसपछिको नियमन भनेको बैंक आफैले गर्नुपर्ने सहप्रवक्ता समेत रहेका पोखरेल बताउँछन् ।

बैंकले कस्तो एजेन्टलाई कारोबार अधिकार दियो, कसरी विश्वास गर्यो ? नियमनमा कहाँ चुक्यो ? यस्ता प्रश्नको जवाफ भने घटना बाहिरिएपछि राष्ट्रबैंकले सोधेको उनले बताए । पोखरेलका अनुसार के कति ग्राहक ठगिएका छन् र कति रकम हिनामिना भएको छ, त्यसको वास्तविक तथ्यांक केलाउनका लागि राष्ट्रबैंकको अनुसन्धान टोली रुपन्देही गएको छ । स्थानिय तहको सहयोग लिएर अनुसन्धान गरिरहेको राष्ट्रबैंकले बताएको छ ।

'सामान्य अवस्थामा नजिकैको ब्रान्च, ब्रान्चले नसके बैंकको केन्द्रीय कार्यलय र अन्तिममा राष्ट्र बैंकले नियमन गर्ने हो,' पोख्रेल भन्छन्, 'यो घटनालाई राष्ट्र बैंकले गम्भीर रुपमा लिएको हुँदा अनुसन्धान शाखाबाट कर्मचारी खटाइएको छ ।’

अनुसन्धानपछि मात्रै राष्ट्र बैंकले थप कामहरू गर्ने उनले बताए । क्षतिको विवरण र घटनाक्रम हेरेपछि राष्ट्रबैंकले सोही अनुसार कारवाही गर्ने उनको भनाइ छ ।

‘अनुसन्धान पछि सोही बैंकलाई मात्रै कारबाही गर्ने कि नगर्ने वा गरेपनि के गर्ने ? र कमीकमजोरी के हुन्, राष्ट्र बैंकले थप ऐन नियम नै बनाएर जानु पर्ने देखिन्छ कि जस्ता कुराहरूमा पनि छलफल गर्नेछ,' उनले भने । राष्ट्र बैंकले माछापुच्छ्रेलाई हिनामिना रकमको प्रोभिजनिङ समेत गराउनुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।

के हो शाखारहित बैंकिङ (बीएलबी)?

बैंकहरूले आफ्नो भौतिक शाखाको उपस्थिति बिना बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था नै शाखारहित बैंकिङ हो । बैंकले कर्मचारी तथा अभिकर्तामार्फत ‘पोइन्ट अफ ट्रान्जेक्सन मेसिन अर्थात ट्याबको प्रयोग गरी बैंकिङ सेवा प्रवाह गर्छ । शाखा विस्तार गर्दा धेरै खर्च हुने तर बैंकिङ कारोबार कम हुने दुर्गम क्षेत्रका जनतालाई बैंकिङ सेवा प्रवाह गर्ने यसको अवधारणा हो ।

बैंकको सेवा नपुगेको स्थानमा बैंकका तर्फबाट स्थानीय व्यापारी वा सेवाग्राहीलाई अभिकर्ताका रूपमा सम्झौता गरिन्छ । अभिकर्ताले बैंकले उपलब्ध गराएको मेसिनमार्फत स्थानीयको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने, रेमिट्यान्स भुक्तानी र स-सानो ऋण लगानीलगायत सेवासुविधा दिन्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार ‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका विकास बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउँछन् ।

नेपालको सन्दर्भमा सन् २००८ मा एभरेष्ट बैंकले शाखारहित बैंकिङ विस्तार गरेको थियो । जतिबेला शाखारहित बैंकिङका लागि कुनै पनि कानूनी व्यवस्था थिएन । एभरेष्टले इन्डियाको सिनो नाम गरेको कम्पनीसँग समन्वयन गरेर एकैपटक बहुसंख्यामा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो ।

एभरेष्ट बैंकका गुनासो सुनुवाइ विभागकका प्रमुख आशुतोष शर्माले नेपालमा शाखा विस्तार एकदमै न्यून अर्थात बैंकिङ पहुँच नै न्यून भएको अवस्थामा एभरेष्टले अन्ताराष्ट्रिय स्तरको प्रविधि भित्र्याएको बताए । उनले भने, ‘बैंकिङ पहुँच बढाउने उद्देश्यले यो प्रणाली भित्राएका थियौँ । नेपालमा एभरेष्ट बीएलबीको पायोनियर हो ।’

केही वर्षमा विस्थापित हुनसक्छ बिएलबी

आजको दिनसम्म आउँदा बीएलबीले धेरै चुनौतिहरू सामना गर्नुपरेको उनको गुनासो छ । विगतमा वित्तीय साक्षरताकै कार्यक्रम नहुने, ग्राहकमा पनि बैंकिङ पहुँच र ज्ञान कम रहेकाले ग्राहक ठगिन पुग्ने हुन् कि वा एजेन्टले गडबड गर्छ कि भनेर डराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । एद्यपी एभरेष्टमा त्यस्तो समस्या नदेखिएको उनले बताए ।

‘माछापुच्छ्रे कै घटनामा पनि ग्राहकमा बैंकिङ साक्षरता भएको भए, समस्या आउँदैनथ्यो । किनभने बीएलबीले भौचर प्रदान गर्दैन मेसिनबाट आएको स्लिप वा बैंकको आधिकारिक लेटरहेडबाट स्टेटमेन्ट मात्रै प्रदान गर्ने हो,' उनले भने ।

माछापुच्छ्रेको जस्तो घटना नदोहोर्याउन व्यवस्थापनमा सुधार गर्नुपर्ने उनको जोड छ । ‘बीएलबी भनेको स्थानीय व्यक्तिलाई समाउने हो । अहिले नेपालमा बैंकको योग्य  ग्राहक भए अभिकर्ता बनाउन सकिन्छ । तर विदेशमा स्थानीय तहको स्थापित कम्पनी तथा व्यापारीहरूलाई दायित्व नै हस्तान्तरण गरेर कारोबार गरेका छन् । जहाँ अभिकर्ताकै जिम्मेवारी हुन्छ । नेपालमा पनि यही व्यवस्था लागू गर्नुपर्छ,' उनले भने ।

उनले थपे, ‘भारतमा बीएलबी एजेन्ट बनाउने कम्पनी नै निर्धारित गरिएको छ । मानौँ एउटा जिल्लामा एउटा त्यस्तो कम्पनी छ भने उसले पूर्ण दायित्व लिएर एजेन्ट बनाउँछ र आफै जोखिम लिन्छ । नेपालमा पनि यही व्यवस्था स्थापित गर्न सकिन्छ ।’

नेपालको अहिले कमिशन बेसमा बीएलबी सञ्चालनमा छन् । यसलाई विस्थापित गरेर छिमेकी मुलुकमा जसरी दायित्व हस्तान्तरण गर्न सके सुरक्षित हुन सकिने उनको भनाइ छ ।

उसो त शर्मा दीर्घकालमा बीएलबीको अस्तित्व नरहने बताउँछन् । 'सन् २०१५ पछि नेपालमा शाखाको विस्तार उल्लेख्य रुपमा हुँदै आएको छ । सरकारले पनि एक पालिका एक बैंक शाखाको अवधारणा लिएको छ । यसले गर्दा अहिले धेरै ठाउँमा शाखासहितको बैंकिङ पहुँच पुगेको छ । साथै पछिल्ला समय डिजिटल बैंकिङको अवधारणा आइसकेको छ । कोभिड पछि डिजिटल कारोबारले धेरै नै फड्को मारिसकेको छ । यो सिनारियो हेर्दा अबको केही वर्षमा नै शाखारहित बैंकिङ विस्थापित नहोला भन्न सकिन्न,' उनले भने  ।

यसअघि भौगोलिक बनावटको आधारमा नेपालमा बीएलबीको आवश्यकता रहेको तर प्रविधिले यसलाई प्रतिस्थापन गर्ने उनको बुझाइ छ । साथै स–साना आर्थिक कारोबारको लागि सहकारी, फाइनान्स, लघुवित्तजस्ता वित्तीय संस्थाहरू स्थानीय स्तरमा पुगिसकेको अवस्थामा बीएलबीको अस्तित्व धेरै लामो समय नरहने उनी बताउँछन् ।

राष्ट्र बैंकले पछिल्लो पटक गत पुसमा शाखारहित बैंकिङको व्यवस्थालाई थप मजबुत बनाउन भन्दै नयाँ निर्देशन जारी गरेको थियो । नयाँ निर्देशनमा राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा, बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्झौता, आधिकारिक व्यवसायिक प्रतिनिधिसँगको सम्झौता, प्रतिनिधि छनौट सम्बन्धी, तेस्रो पक्ष सेवा प्रदायकको, शाखारहित बैंकिङ सेवा बन्द गर्न राष्ट्र बैंकको स्वीकृती लिनुपर्ने, बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था तथा खारेजी र बचाउको विषयमा उल्लेख गरेको छ ।

उक्त निर्देशनमा नियमनकारी निकाय वा तोकिएको अधिकारीबाट गरिने निरीक्षण तथा सुपरिवेक्षणअन्तर्गत आवश्यक तथ्याङ्क, विवरण, सूचना तथा कागजात उपलब्ध गराउने विषय तथा सम्झौताको अवधि, सम्झौता नवीकरण तथा सम्झौता संशोधनको व्यवस्था गर्न भनेको छ  ।

बैंक तथा वित्तीय संस्थाले यस निर्देशनमा उल्लेख भए बमोजिमका कार्यहरू स्वयम् संस्थाद्वारा नियुक्त प्रतिनिधिमार्फत गराउने भएमा त्यस्तो प्रतिनिधि छनौट गर्दा देहायबमोजिम सक्षमता परीक्षण गर्नुपर्नेछ व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

एक वर्षमा हटे २ सय बढी बीएलबी

पछिल्लो एक वर्षमा दुई सय भन्दा बढी शाखारहित बैंकिङ विस्थापन भएका छन् । राष्ट्र बैंकका अनुसार यो भदौको अन्त्यमा नेपालमा बिएलबीको संख्या १ हजार ४९७ रहेको छ ।

गत वर्षको सोही अवधिमा शाखारहित बैंकिङको संख्या १ हजार ७ सय ६ रहेको थियो । ग्राहक संख्यामा भने वृद्धि भएको देखिन्छ । गत भदौसम्म २ लाख ३० हजार हाराहारी ग्राहक थिए भने यो भदौसम्म आइपुग्दा बीएलबीका २ लाख ९६ हजार ग्राहक पुगेका छन् । 

पढ्नुहोस् यो पनि - 

शाखारहित बैंकिङको अभिसाप : पैसाउठाउँदै खाँदै माछापुच्छ्रेका एजेन्ट, अंशवण्डाकोझगडाले खुल्यो पोल

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved