उद्योगी व्यवसायीको आन्दोलनले उब्जाएको प्रश्न: जनताहरु व्यवसायीविरुद्द सडकमा उत्रिए के हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 10, 2022 | 10:50:47 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा तरलता अभाव र बैंकले कर्जामा ब्याजदर बढाएको भन्दै उद्योगी व्यवसायीहरु राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाविरुद्द आन्दोलित छन् । कतिपय ठाउँमा व्यवसायीहरुले बैंकका शाखा नै बन्द गराएर बहिष्कार गर्ने सम्मका घोषणा नै गरेका छन् ।

उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर महँगो भएको र विगतमा लिएको कर्जाको ब्याजसमेत नयाँ आधार दर अनुसार बैंकहरुले बढाएर साँवा र ब्याज भूक्तानीका लागि ताकेता गरिरहेको आरोप लगाउँदै आएका छन् । उद्योगी व्यवसायीहरु निरन्तर प्रभावित हुँदै आएको तर, बैंक तथा वित्तीय संस्थाले भने यस्तो अवस्थामा पनि नाफामा मात्रै ध्यान दिइरहेको आरोप उनीहरुको छ ।

यद्यपी, बुधबार साँझ नेपाल उद्योग वाणिज्य महासंघले मंसिर ४ गते (चुनाव)सम्म आन्दोलन र प्रदर्शन स्थगित गर्न सबै जिल्ला नगर उद्योग वाणिज्य संघ र बस्तुगत संघहरुलाई अनुरोध गरेको छ । यस विषयमा जिल्ला तहका उद्योगी व्यवसायीहरुले महासंघप्रति नै गुनासो गरेका छन् ।

महँगी बढेको बढ्यै, मारमा उपभोक्ता

गत वर्ष (२०७८ साउनमा) ४.३५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ साउनमा आइपुग्दा ८.२६ प्रतिशत पुगेको छ । वर्ष भरीमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भएपनि साउनमै महँगीलाई लक्ष्यभित्र राख्न राष्ट्र बैंक असफल भयो । 

साउनमा घ्यू तथा तेल र फलफूलको मूल्यवृद्धि १९.५८ प्रतिशत पुग्यो । दूग्ध पदार्थ तथा अण्डाको मूल्य साउनमा १०.१९ प्रतिशत बढ्यो । 

साउनमा यातायात क्षेत्रको मुद्रास्फिती २३.८८ प्रतिशत पुग्यो । 

त्यस्तै २०७८ भदौमा ३.२३ प्रतिशत रहेको मूल्यवृद्धि २०७९ भदौमा ८.६४ प्रतिशत पुग्यो । असोजमा अझ महँगी आकासियो । व्यवसायीका संगठनहरु र उपभोक्ता अधिकारकर्मीहरुले असोजमा महँगी दोहोरो अंकले बढेको र तथ्यांक आउन बाँकी रहेको बताउन थालेका छन् ।

गत वर्ष अर्थात् २०७८ भदौको तुलनामा २०७९ भदौमा यातायात भाडा मात्रै ३३ प्रतिशतले बढेको छ । भान्छामा प्रयोग हुने खाद्य बस्तु फलफूल, घ्यू र तेलको मूल्य मात्रै यसवर्षको भदौमा १७.२९ प्रतिशतले बढ्यो । तरकारीको मूल्य औसतमा १०.२४ प्रतिशतले बढेको छ ।

त्यस्तै स्वास्थ्यतर्फ (परीक्षण, औषधि, उपचार)मा १०.५४ प्रतिशतले शुल्क बढेको छ । अर्थात् गत वर्षको भदौमा १ सय रुपैयाँ पर्ने औषधि अहिले ११० रुपैयाँ ५४ पैसा पर्न गएको छ ।

शिक्षातर्फ ८.११ प्रतिशतले महँगी बढेको छ । यसमा विद्यालयको भर्ना, किताब, कापी खरिद, अरु शैक्षिक सामग्रीको खरिद समावेश छ । अर्थात् गत वर्ष एक जना विद्यार्थीको दैनिक खर्च १ सय रुपैयाँ थियो भने अहिले त्यो बढेर औसतमा १०८ रुपैयाँ ११ पैसा पुगेको छ । 

घरायसी उपकरणहरु (फर्निचरका सामानहरु) मा पनि ९.२५ प्रतिशत मूल्य बढेको छ । 

यसरी उपभोक्ताहरु चौतर्फी रुपमा महँगीको सिकार भइरहेका छन् । यस्तो अवस्थामा उद्योगी व्यवसायीहरुले आफूहरु मात्रै मर्कामा परेको जसरी आन्दोलन गरिरहेका छन् ।

उपभोक्ताहरु उद्योगी व्यवसायीविरुद्द सडकमा आए भने के हुन्छ ?

उद्योगी व्यवसायीहरुले ब्याजदर बढ्दा त्यसको प्रभाव बस्तुको उत्पादन र बिक्रिमा परिरहेको बताउँदै आएका छन् । यसले उपभोक्ता मारमा परिरहेका छन् । उत्पादित बस्तुको लागत र आयातित बस्तुको लागत उत्पादनकर्ता र आयातकर्ताले उपभोक्ताबाटै असुल गर्ने हुन् । 

तर, उद्योगी व्यवसायीहरुले आफूहरु चर्को ब्याजमा उद्यम व्यवसाय गर्न नसक्ने मात्रै बताउँदै आएका छन्, उनीहरुले ब्याज बढ्दा उपभोक्ताहरु महँगीको चपेटामा परेको भन्ने गरेका छैनन् ।

ब्याज बढ्दा बस्तुको लागत बढेको र त्यस अनुसार बस्तुको उपलब्धता नै कम हुँदा महँगी बढ्न गएको तर्क व्यवसायीहरुको छ । उद्योगी व्यवसायीहरुका कारण महँगी बढेको नभई ब्याज बढ्दा उत्पादन लागत नै बढ्न जाँदा महँगी बढेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । 

सँगै, उद्योगी व्यवसायीहरुले महँगी र ब्याजदर विरुद्दको आन्दोलन अब उद्योगी व्यवसायीको नभई आम सर्वसाधारणको हुनुपर्ने बताउने गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्यमण कँडेलले केही दिन अघि अब यो आन्दोलन उद्योगी व्यवसायीको मात्रै नभई आम सर्वसाधारण पनि आन्दोलित हुने गरी सडकमा उत्रिनुपर्ने बताएका थिए । 

‘आन्दोलन अब उद्योगी व्यवसायीहरुको मात्रै रहेन, महँगीमा मारमा आम सर्वसाधारण परेका छन्, उनीहरु पनि सडकमा आउने छन्’ उनले भनेका थिए, ‘राजनीतिक दलहरुले यसलाई मुद्दा बनाएकै छैनन्, ब्याजदर वृद्धि र महँगीको विषय राजनीतिक दलको पनि मुद्दा बन्नुपर्छ ।’

यसैबीच, महँगीको चेपेटामा परिरहेका आम उपभोक्ताहरु उद्योगी व्यवसायीहरु विरुद्द नै सडकमा आउने खतरा पनि उत्तिकै रहेको जिल्ला नगरका उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरु स्वीकार गर्छन् । किनकी, सर्वसाधारणसलाई महँगी बढ्नुमा उद्योगी व्यवसायीहरु मात्रै हात हुन्छ भन्ने लाग्ने भएकाले उनीहरु सडकमा आउने खतरा झन झन नजिक देखिएको उद्योगी व्यवसायीहरु बताउँछन् ।

यसका लागि अहिले नै उनीहरुले आफ्नो कारणले महँगी बढेको नभई बैंकहरुको ब्याजका कारण मूल्यवृद्धि भएको जानकारी उपभोक्तालाई दिएर उपभोक्तालाई आफूहरु विरुद्द नभई बैंक विरुद्दको आन्दोलनमा उतार्ने रणनीति बनाइरहेका छन् ।

यो पनिः

बैंकविरुद्द सडक प्रदर्शनमा उत्रिएका महासंघका ३ उपाध्यक्ष के भन्छन् ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved