कर्णाली डेभलपमेन्ट बैंकमा यसरी गरिन्छ 'निमुखा' प्रयोग गरेर अर्बौंको अपचलन

Mohammad Ajmat Ali / Niroj Thapa

Mohammad Ajmat Ali / Niroj Thapa

Jan 04, 2023 | 11:52:42 AM मा प्रकाशित

laxmi  sunrise bank

२ मार्च २०२० मा डम्मर कामीको खातामा कर्णाली डेभलपमेन्ट बैंकबाट ऋणको पहिलो किस्तास्वरूप २६ लाख जम्मा भयो । सोही दिन २६ लाख नै मुकेश गौतमको एकाउन्टमा जग्गा किन्ने प्रयोजन खुलाएर चेकमार्फत ट्रान्सफर गरियो ।

भोलिपल्ट डम्मरको खातामा ऋणको दोस्रो किस्ता १४ लाख जान्छ र सोही दिन जग्गा किन्ने प्रयोजन देखाएर गिरिजाकुमारी जोशीको खातामा सबै पैसा ट्रान्सफर हुन्छ । त्यही दिन ऋणको तेस्रो किस्ता ७ लाख ४४ हजार अर्कोपटक डम्मरको खातामा जम्मा हुन्छ ।

डम्मरको खाताबाट ऋण तिर्ने प्रयोजन देखाउँदै ४ महिनापछि जुलाई २० मा विदेशबाट १ लाख ४० हजार झिकिन्छ । कुन देशबाट झिकिएको हो, त्यो स्टेटमेन्टमा खुलेको छैन ।

त्यसपछि किरण भण्डारीले डम्मरको खातामा २८ हजार जम्मा गर्छन् । १३ जनवरी २०२१ मा डम्मरको खातामार्फत विदेशमा १ लाख ९८ हजारको कारोवार भएको छ ।  

माथि डम्मर कामीको खाता विवरण उल्लेख गरिएको हो । जसको पनि बैंकमा कारोवार हुन सक्छ, किन समाचार बनाउनुपर्यो भनेर पाठकलाई लाग्न सक्छ । हामीले यसअघि बिजपाटीमा प्रकाशित गरेको 'कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा,निक्षेपकर्ताको अर्बौं रकम जोखिममा' शीर्षकको समाचारको फलोअप स्टोरी तयार गर्दैछौं ।

उक्त समाचारमा उल्लेख गरिएका मिटरब्याजी तिलक बिकको गाडी चलाउने ड्राइभर हुन् डम्मर बिक । तिलक र डम्मरबीच सालाभेनाको नाता हो । डम्मर लेखपढ गर्न सक्दैनन्, गाडी भने मज्जैले चलाउन सक्छन् । तिलकले आफ्नो गाडी चलाउन डम्मरलाई मासिक १५ हजार तलबमानमा राखेका थिए ।

आज भन्दा १ वर्षअघि डम्मरले काम गरेबापतको ३ लाख नदिइकनै तिलकले डम्मरलाई जागिरबाट निकालिदिए । अनि आफूले डम्मरका लागि किनिदिएको मोटरसाइकल चोरी भयो भन्दै प्रहरीकहाँ निवेदन दिएर तिलकले एक रात जेलसमेत हालेका रहेछन् ।

पढ्न लेख्न नजान्ने र हाल बेरोजगार डम्मरले ४८ लाख बराबरको ऋण निकालेर कारोवार कसरी गरे होलान् ? के आधारमा बैंकले उनलाई ऋण दियो त ?

यसको कथा रोचक छ । डम्मरलाई ऋण बोकाउने प्रयोजनकै निम्ति बैंकका ऋण विभाग प्रमुख मुकेश गौतमले आफ्नी श्रीमतीको नाममा रहेको डेढ कठ्ठा जग्गा डम्मरको नाममा गरिदिए । मालपोत कार्यालय नेपालगंज बाँकेको अभिलेखमा हेर्दा उक्त जग्गाको सरकारी मूल्य जम्मा १० लाखको हाराहारीमा देखिन्छ ।

मुकेश गौतमकी श्रीमतीको नाममा आएको जग्गा पहिला कसको नाममा थियो, यसको जवाफ अनुत्तरित छ । तर डम्मरको खातामा ऋणबापतको दोस्रो किस्ता आएकै दिन गिरिजाकुमारी जोशीलाई त्यो पैसा ट्रान्सफर भएकाले जोशीको नामबाट मुकेशकी श्रीमतीको नाममा जग्गा आएको अनुमान गर्न सकिन्छ । यो केसमा जोशी मिटरब्याजबाट पीडित हुन सक्ने अनुमान बिजपाटीले गरेको छ ।  

माथि उल्लेख गरिएको स्टेटमेन्टमा डम्मरको खातामा ऋण गएकै दिन मुकेश गौतमको खातामा सबै पैसा ट्रान्सफर हुनुको रहस्य यही हो ।

डम्मरको नाममा जग्गा पास गर्न मालपोत कार्यालयका एक कर्मचारीले सेटिङ मिलाएका थिए । केशव सुवेदी नामका ती कर्मचारी रातदिन नभनी अहोरात्र काम गरिरहेका भेटिन्छन् कार्यालयमा । कागजपत्र तयार गर्ने जिम्मा उनैलाई दिइएको छ । कागजपत्र तयार भएपछि तिलकले डम्मरलाई भने, 'केटा त्यहाँ गएर सही गरेर आइज ।'

तिलकको आदेश डम्मरले शिरोपर गरे । आफूलाई सही गर्न समेत नआउने बताउने डम्मरले केशवले भनेको ठाउँमा ल्याप्चे हानिदिए । त्यही दिन ऋण लिँदा पूरा गर्नुपर्ने कागजात सबैमा ल्याप्चे लिए । सोही आधारमा उक्त जग्गा रोक्का गरियो ।

अनि शुरू भयो ऋणको सिलसिला । डम्मर भन्छन्, 'मैले तीन वटा खालि चेकमा ल्याप्चे लगाइदिएको हो ।'

सोही चेकमा आफूलाई चाहिएबराबरको रकम भरेर मुकेश गौतम, गिरिजाकुमारी जोशी र किरण भण्डारीले अपचलन गरेका छन् । साथै विदेशमा समेत शंकास्पद कारोवार गरिएको छ ।

डम्मरलाई आफ्नो नाममा आएको जग्गा कहाँ छ, त्यो पनि थाहा छैन । आफ्नो नाममा ४८ लाख ऋण छ भन्नेसम्म थाहा छ । सरकारी मूल्य १० लाख मात्र भएको जग्गाबाट ४८ लाख ऋण कसरी लिइयो त ? यसको कथा पनि रोचक छ ।

इन्जिनियर निसार अहमद दर्जी अहिले सञ्चालक समितिका सदस्य छन् । उनी यसअघि बैंककै भ्यालुएटर थिए । १० लाखको जग्गालाई ४८ लाख ऋण दिन मिल्ने गरी भ्यालुएसन गरेकै कारण उनलाई पछिल्लो साधारण सभाबाट सञ्चालक समितिको सदस्य पुरस्कार दिइएको हो ।

अहिले निसारकै निर्देशनमा अर्का इन्जिनियरले जग्गाको मूल्यांकन गर्छन् । यस्ता कर्तूतहरू बैंकमा आजको मितिसम्म भइरहेका छन् ।

निसारले यत्ति मात्र कर्तूत गरेका छैनन्, निमुखाको नाममा जबर्जस्ती जग्गा पास गरिदिएर त्यसलाई दशौँ गुणा बढी मूल्यांकन गर्ने र पैसा बैंकको उच्च व्यवस्थापन, तिलक, मुकेश र आफ्नो गिरोह मिलेर अपचलन गर्ने गरेका छन् ।

डम्मरको खाताबाट विदेशमा पनि पैसाको कारोवार भएको देखिएकाले यो गिरोह अन्तर्राष्ट्रिय रूपमै मुद्रा अपचलनमा सामेल रहेको पुष्टि हुन्छ ।

माथि उल्लेख गरिएको बैंक स्टेटमेन्टमा किरण भण्डारीको पनि संलग्नता देखिन्छ । भण्डारी कानूनी रूपमा अष्टलक्ष्मी बिल्डिङ प्रोडक्टका मालिक हुन् तर कम्पनी भने तिलककै हो । तिलकले ऋण अपचलन गर्ने प्रयोजनकै निम्ति भण्डारीलाई मोहरा बनाएर कम्पनी खडा गर्न लगाएको तथ्य बिजपाटीलाई प्राप्त भएको छ ।

डम्मरलाई प्रयोग गरेर बैंकबाट ऋण अपचलन गरिएको यो दोस्रोपटक हो । पहिलोपटक १० अक्टोबर २०१९ मा डम्मरको खातामा ऋणस्वरूप ५१ लाख ७४ हजार ८ सय आएको थियो । सोही दिन सबै रकम अष्टलक्ष्मीकै एकाउन्टमा ट्रान्सफर गरियो ।

अघिल्लो पटक आफूलाई प्रयोग गरिएको डम्मरलाई याद छैन । तिलकले भनेअनुसार नै कागजहरूमा ल्याप्चे लगाएको बताउने डम्मरलाई प्रयोग गरेर अहिलेसम्म १ करोड हाराहारीमा बैंकको पैसा हिनामिना गरिएको छ । डम्बर जम्मा एकजना पीडित हुन्, उनीजस्तै अन्य निमुखालाई प्रयोग गरेर अर्ब भन्दा माथिको पैसा अपचलन गरिएको छ ।

 अष्टलक्ष्मी कम्पनीले पटकपटक गरेर बैंकबाट १५ करोड भन्दा बढी ऋण लिएको छ । बिजपाटीलाई प्राप्त दस्तावेजमा अष्टलक्ष्मीले तिर्नुपर्ने जम्मा ऋण ५ करोड ८० लाख देखिएको छ ।

भण्डारी पूर्वअर्थमन्त्री जनार्दन शर्माका निकट मानिन्छन् । भण्डारीले यसअघि आफ्नो कम्पनीको नाममा ऋण बोकाइएकोप्रति आपत्तिसमेत जनाएका थिए । कर्णाली डेभलपमेन्ट बैंकको यस प्रकरणमा पूर्व मन्त्री शर्माकोसमेत संलग्नता खुल्ने आधारहरू बिजपाटीलाई प्राप्त छ । 

यसबारे बैंकका सीईओ दिनेशकुमार रावत पनि बेखबर छैनन् । उनी व्यवसायी तिलकका अति मिल्ने साथी हुन् । यसमा दिनेशसमेतको सेटिङ रहेको पुष्टि हुने आधारहरू प्रशस्तै छन् । यसबारे उनले केही गल्ती भएको हुनसक्ने भन्दै घुमाउरो हिसाबले बिजपाटीसमक्ष स्वीकारेका छन् ।

व्यवसायी तिलकले आफ्नो संलग्नता नरहेको भन्दै बिजपाटीसँग खण्डनका लागि अनुरोध गरेका थिए । उनले भनेका छन्, 'पुष्टि हुने गरी मेरो संलग्नता कहीं कतै छैन । बरू मेरो पारिवारिक कलहका कारण यो घटनालाई नियोजित रूपमा बाहिर ल्याइयो ।'

उल्लेखित तथ्यले पटक-पटक बैंकको निरीक्षणमा गएको राष्ट्र बैंकका कर्मचारीहरूको पनि मिलेमतोको आशंका गर्न सकिने देखाउँछ । निमुखा प्रयोग गरेर गरिएको अर्बौं अपचलन अहिलेसम्म राष्ट्र बैंकले किन भेटाएन भन्ने अर्को महत्त्वपूर्ण प्रश्न पनि यहाँ खडा हुन्छ । 

बैंकमा गएको निरीक्षण र भेटिएको कैफियतका बारेमा सूचनाको हक प्रयोग गरेर राष्ट्र बैंकसमक्ष बिजपाटीका ईश्वर अर्यालले सूचना मागेका थिए । राष्ट्र बैंकले उक्त सूचना दिन नमिल्ने जवाफ दिएको छ । तर अनौपचारिक स्रोतबाट आएका अन्य सूचनाहरू भने बिजपाटीसँग सुरक्षित छन् । 

समाचार प्रकाशित भएपछि  सम्पर्कमा आएका व्यक्तिहरुको भनाईलाई स्थान दीइएको छ। र यस समाचारसँग सम्बन्धित कागजात र अन्य प्रमाण बिजपाटी डटकमसँग सुरक्षित छ। -सम्पादक

यस अघि: 

 - [Exclusive] कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा, निक्षेपकर्ताको अर्बौं रकम जोखिममा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved