कर्णाली घोटाला : बोल्न सुन्न नसक्ने एगे कामी, जसले मिटरब्याजीका लागि बोकिदिएका छन् ५० लाख ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 04:01:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँकेको बैजनाथ नगरपालिका वडा नम्बर ६ निवासी एगे कामी बोल्न र सुन्न सक्दैनन् । जन्मैदेखि यस्तो समस्या भएका एगे सामान्य खेतीपातीबाहेक अन्य केही काम गर्न सक्दैनन् । उमेरले ५ दशक नाघेका उनको नाममा कर्णाली डेभलपमेन्ट बैंकमा ५० लाखको ऋण छ ।

बिजपाटीलाई प्राप्त दस्तावेजअनुसार सन् २०२० को नोभेम्बर २५ गते उनको बैंकमा उनको खाता खोलियो, उनको खातामा केही दिनसम्म ऋणको किस्ताबापतको पैसा आयो । त्यसपछि पैसो आउने दिन उनको खाताबाट सबै पैसा अलप भयो ।

उनको बैंक स्टेटमेन्टमा ऋण तीन किस्तामा आएको देखिन्छ । तीनवटै किस्तामा आएको रकम सोही दिन मिटरब्याजी तिलक बिक र उनले खडा गरेका फर्जी कम्पनीहरूमा गएको छ । आफ्नो खातामा पैसा आएको र गएकोबारे एगेलाई मात्र होइन परिवारका अन्य सदस्यलाई पनि थाहा छैन ।

उनले लिएको ऋण २ वर्षसम्म यथावत छ । ब्याज भने तिरिएको छ । जिल्ला मालपोत कार्यालय बाँकेको अभिलेखमा उनको नाममा ४९५ वर्गमिटर जग्गा रहेको र सोही जग्गालाई धितो मानेर रोक्का गरिएको तथ्य फेला परेको छ ।

उनको पारिवारिक स्रोतले जग्गा कहाँबाट आयो, कसरी बैंकमा राखियो त्यो पनि थाहा नभएको दाबी गर्छ । साविक वनकटहवा वडा नम्बर ९ स्थित उनको जग्गाको सरकारी मूल्यांकन करीब ८ लाखको हाराहारीमा छ । त्यसलाई ५० लाखको मूल्यांकन गर्ने तत्कालीन मूल्यांकनकर्ता इन्जिनियर निसार अहमद दर्जी अहिले कर्णाली डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा छन् ।

एगेको नाममा ऋण निकालेर सो पैसा मिटरब्याजमा लगाउने तिलक बिकका २५ भन्दा बढी फर्जी कम्पनीहरू रहेका छन् । तिलकले तिनै कम्पनी र एगेबाहेक अन्य डमी ऋणी खडा गरेर डेढ अर्ब भन्दा बढीको ऋण अपचलन गरेको विषयमा बिजपाटीले निरन्तर समाचार प्रकाशन गर्दै आइरहेको छ ।

२०२० को नोभेम्बर २५ मै बैंकबाट थप अरू ४ जनाको खातामा ५०/५० लाख ऋण दिइएको छ । लालबहादुर कामी, ध्रुव केसी, रामवती थारु र ध्रुव चलाउनेको खातामा गएको ऋणबापतको ५०/५० लाख सोही दिन सबैको खाताबाट अलप हुन्छ । आफ्नो नाममा जग्गा कहाँ छ, कति छ, कसरी धितो राखियो, कसरी ऋण लिइयो र पैसा कहाँ पुग्यो भन्ने यी पीडितमध्ये कसैलाई पनि थाहा हुँदैन ।

लालबहादुर कामी एगे कामीका दाइ हुन् । उनले गाडी चलाउँछन् । तिलक र उनीबीच पनि सालाभेनाको साइनो छ । तिलकले उनीहरू दाजुभाइ दुवैको नाममा बैंकबाट फर्जी डकुमेन्ट बनाएर ऋण लिएर अपचलन गरेका हुन् । एक करोड तिर्ने न त लालबहादुरको क्षमता नै छ, न त उनको दाई एगे कै क्षमता छ । अर्थात बैंकले लगानी गरेको उक्त रकम सिधै डुब्ने देखिन्छ ।

मिटरब्याजी तिलकले बैंकका सीईओ र अन्य उच्च व्यवस्थापनका कर्मचारीहरूलाई प्रभावमा पारेर डमी ऋणी खडा गर्दै पैसा अपचलन गर्दै आएका छन् । यसरी आएको पैसा उनले मिटरब्याज चलाउने गर्छन् ।

सोही दिन आफ्नो ऋण खातामा पैसा आएको रामवती थारुलाई पनि थाहा छैन । उनी नेपालगंजको न्यूरोडमा रहेको तिलकको कार्यालयमा सहयोगीका रूपमा काम गर्ने गर्थिन् । केही समयअघि उनले जागिर छोडिन् तर उनको नामबाट तिलकले लिएको ऋण जस्ताको त्यस्तै छ ।

रामवती थारुको नाममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा करीब ५ कठ्ठा जग्गा मिटरब्याजी तिलक र बैंकका ऋण विभाग प्रमुखको सेटिङमा पास गराइएको थियो । करीब १० लाख सरकारी मूल्यांकन रहेको उक्त जग्गालाई ५० लाखको बनाएर बैंकको सीईओकै सेटिङमा ऋण प्रवाह गरियो । मिटरब्याजी तिलकको दबाबमा ५० लाखको ऋण बोकिदिएकी रामवतीको खाता तिलक र उनका मान्छेहरूले चलाउँछन् ।

ध्रुव केसी र ध्रुव चलाउनेको नाममा पनि सोही दिन ५०/५० लाख ऋण प्रवाह गर्यो बैंकले । दुवै जना तिलकले आफ्नो लागि बैंकबाट पैसा निकाल्ने एटीएम जस्तै गरेर प्रयोग गरिरहेका छन् ।यसरी गरीब, निमुखा र बोल्न सुन्न नसक्नेहरूलाई डमी ऋणी बनाएर तिलकले सोही बैंकको उच्च व्यवस्थापनसँगको सेटिङमा डेढ अर्ब भन्दा बढी रकम अपचलन गरेका छन् ।

पढ्न लेख्न नजान्ने र बोल्न सुन्न समेत नसक्ने व्यक्तिहरूको नाममा थाहै नदिई ऋण बोकाउने र उनीहरूको खाता आफूखुसी सञ्चालन गरेर निक्षेपकर्ताको पैसा दुरुपयोग हुँदै आएको बैंकका ठूला २० ऋणी कम्पनीमध्ये दर्जन भन्दा बढी कम्पनी 'डमी' छन् ।

आफूलाई व्यवसायीका रूपमा चिनाउने तिलकले ऋण प्रयोजनकै निम्ति अर्कैको नाममा डमी कम्पनी खडा गर्ने, सेटिङमा कागजपत्र मिलाएर बैंकबाट ऋण लिने र त्यसलाई अपचलन गर्ने काम गरिरहेका छन् ।

यस्ता कम्पनीहरूमा डीएनटी इन्भेस्टमेन्ट, प्रतिक निर्माण सेवाअष्टलक्ष्मी बिल्डिङ प्रोडक्ट्स, वैदिक कन्स्ट्रक्सन, एनटी कन्स्ट्रक्सन, रुद्रप्रिया इन्भेस्टमेन्ट, थ्री पी कन्स्ट्रक्सन र अन्य धेरै कम्पनी रहेका छन् ।

बिजपाटीलाई प्राप्त दस्तावेजमा तिलकले डीएनटीका नाममा अहिलेसम्म १४ करोड ४० लाखप्रतिक निर्माण सेवाको नाममा ६ करोडअष्टलक्ष्मीका नाममा ५ करोड ८० लाख, वैदिक कन्स्ट्रक्सनका नाममा ४ करोड ६० लाख, रुद्रप्रिया इन्भेस्टमेन्टका नाममा २ करोड १० लाख र थ्री पी कन्स्ट्रक्सनका नाममा २ करोड २० लाख ऋण लिएर अपचलन गरेका छन् ।

कर्णाली डेभलपमेन्ट बैंकबाट करोडौं ऋण लिएका यी डमी कम्पनीहरूको नाममा कुमारीसिभिल, प्राइम र अन्य बैंकबाट पनि करोडौं ऋण प्रवाह भएको छ । अचम्म त के छ भने माथि भनिएका कुनै पनि कम्पनीहरूको आफ्नो वेबसाइट छैन । गुगलमा सर्च गर्दा पनि भेटिन्नन् । अन्य डमी कम्पनीहरूको बारेमा बिजपाटीले थप अध्ययन गरिरहेको छ ।

समाचार प्रकाशित भएपछि  सम्पर्कमा आएका व्यक्तिहरुको भनाईलाई स्थान दीइएको छ। र यस समाचारसँग सम्बन्धित कागजात र अन्य प्रमाण बिजपाटी डटकमसँग सुरक्षित छ। -सम्पादक

यसअघि - 

बैंकको उच्च व्यवस्थापन नै मिटरब्याजीसँग मिलेपछिकर्णालीका निक्षेपकर्तामा 'प्यानिक'

कर्णाली डेभलपमेन्ट बैंकमा यसरी गरिन्छ 'निमुखा' प्रयोगगरेर अर्बौंको अपचलन

[Exclusive]कर्णाली डेभलपमेन्ट बैंक मिटरब्याजीको कब्जामा, निक्षेपकर्ताको अर्बौंरकम जोखिममा

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved