राष्ट्र बैंकले बजेटलाई सघाउने गरि खुकुलो मौद्रिक नीति बनाउन सम्भव नै छैन : डा. खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2023 | 10:44:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी नेतृत्त्वको आठ दलीय गठबन्धनको सरकारका अर्थमन्त्री बनेका डा प्रकाशशरण महतले मन्त्री भएको दिनदेखि नै अर्थतन्त्रको अहिलेको अवस्था सुधारको लागि नेपाल राष्ट्र बैकको भूमिका प्रमुख रहेको बताउदै आएका छन्। बजेट मार्फत अर्थतन्त्र चलायमान बनाउने ठाउँ नभएकाले राष्ट्र बैंकले त्यसलाई सघाउनुपर्ने अभिव्यक्ति मन्त्री महतले मन्त्री भएकै दिनदेखि बोल्दै आएका छन्। 

९३ पृष्ठको ४९६ वटा बुँदा सामेल बजेट बक्तब्यको ४९४ औं बुंदामा  'बजेटमा उल्लेखित नीति र कार्यक्रमको कार्यान्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य लिईएकोले यो उदेश्य प्राप्त गर्न सघाउ पुग्नेगरि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तय गर्नेछ' भन्ने उल्लेख छ। 

यसको अर्थ बजेट कार्यान्वयन हुनेगरी सजिलो र खुकुलो मौद्रिक नीति बनाएर राष्ट्र बैकले सघाउनुपर्ने भन्ने देखिन्छ। विद्यमान अर्थतन्त्रलाई सुधार गर्नका लागि राष्ट्र बैकले सघाउनुपर्ने बजेटको 'आशय' देखिन्छ। तस्तो त हरेक बजेटमा नै बजेटले लिएको उदेश्य प्राप्त गर्न सघाउ पुग्नेगरि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तय गर्नेछ भनी उल्लेख हुन्छ । तर यसपटक अर्थमन्त्रीले राष्ट्र बैंकबाट बढी नै अपेक्षा गरेका छन् ।

तर गभर्नर समेत भईसकेका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले चाहेर पनि बजेटले अपेक्षा गरेको खुकुलो मौद्रिक नीति अबलम्बन गर्न नसक्ने बताएका छन्। सरकारको आर्थिक सल्लाहकार पनि भएकाले राष्ट्र बैंकबाट अपेक्षा गर्नु स्वाभाविक भएपनि राष्ट्र बैंक देशको वित्तीय अवस्थाअनुसार मौद्रिक नीति बनाउने निकाय हो भन्ने कुरा पनि याद गर्नुपर्ने डा. खतिवडाले बताए। 

बिजपाटीसंगको अन्तर्वार्ताको क्रममा डा. खतिवडाले राष्ट्र बैंक ड्राइभर नभई सहजकर्ता मात्र भएको अर्थमन्त्रीले बुझ्नु पर्ने बताए। डा. खतिवडाले भने 'राष्ट्र बैंकले जति गर्न सक्थ्यो गरिसक्यो, अब गर्न पर्याप्त स्पेस छैन, सरकारले नेपालको वर्तमान अवस्थालाई नजरअन्दाज गरेर विस्तारकारी बजेट ल्याएकोले अब राष्ट्र बैंकले चाहेर पनि खुकुलो मौद्रिक नीति ल्याउन सक्दैन।'

राष्ट्र बैंकलाई मौद्रिक नीति खुकुलो ल्याउन भन्नु वा अहिलेको ब्याजलाई 'आदेश' बाट घटाउनु काङ्ग्रेस र अर्थमन्त्री महतकै सिद्दान्त विपरित हुने भन्दै राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीति ल्याउनको लागि दबाब दिनु गलत हुने डा. खतिवडाले बताए। 

उनी भन्छन् ' नेपाली कांग्रेसले उदारवाद र पुँजीबादको सिद्दान्त बोकेकाले प्रत्येक बस्तु तथा सेवाको मुल्य माग र आपूर्तिको आधारमा बजारले निर्धारण गर्नेमा कांग्रेस र अर्थमन्त्री महतले विश्वास गर्नुहुन्छ। त्यसैले कांग्रेसको नीति र देशको विद्यमान मौद्रिक अवस्थाअनुसार पनि खुकुलो मौद्रिक नीति बनाउनलाई दबाब दिनु हुदैन। '

यदि कांग्रेसले आफ्नो सिद्दान्त छोडेको भए मात्र राष्ट्र बैंकलाई खुकुलो मौद्रिक नीतिको लागि अर्थमन्त्रीले आग्रह गर्न सक्ने उनको भनाइ छ।  होइन भने बजारमा मुद्राको माग र आपूर्तिको आधारमा राष्ट्र बैंकले आवश्यकता अनुसारको मौद्रिक नीति ल्याउनु पर्ने डा. खतिवडाले बताए।

सरकारले १० प्रतिशत ब्याजमा आन्तरिक ऋण उठाएको स्मरण गर्दै ब्याजदर घटाएमा बैंकहरु ब्यवसायीलाई ऋण नै नदिई १० प्रतिशतको ट्रेजरी बिल खरिद गरेर व्यवसाय विस्तार तिर ध्यान नदिने खतिवडाको भनाई छ। सरकारले २ खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा अहिले बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम नै २ खर्ब प्लस रहेकोले त्यसलाई मध्यनजर गरेर नै खुकुलो मौद्रिक नीतिको लागि दबाब दिने नदिनेमा सरकार आफैले मुल्यांकन गर्नुपर्ने उनको भनाई छ। 

अहिलेकै अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गर्नलाई सघाउन पुग्नेगरी कर्जा प्रवाह गर्न बैंकहरुसंग रकम नै नभएको खतिवडाको भनाई छ । कर्जा निक्षेप अनुपात (सिडी रेसियो)  चलाउन नमिल्ने र पुँजीकोष अनुपात पनि 'टाइट' रहेकोले अहिलेको अवस्थामा धेरै कर्जा प्रवाह नहुने उनले बताए। सोहि कारण अधिकतम ४.५ प्रतिशतसम्मको आर्थिक वृद्धि कल्पना गर्न सकिने डा. खतिवडा बताउछन् । 

डा. खतिवडासंगको अन्तर्वार्ता आज बिजपाटीमा प्रकाशन हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved