अर्थमन्त्रीलाई भेटेर बैंकका सञ्चालकले सुनाए गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2024 | 03:49:29 PM मा प्रकाशित

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रतिनिधिमण्डलले बुधबारअर्थमन्त्री विष्णु पौडेललाई भेटी दिगो आर्थिक एवं बैंकिङ विकासका विषयमा छलफल गरेको छ ।

सिबिफिनका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक संकुचन आएको, वित्तीय संस्थाहरुको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको बारे अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

साथै उनले बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नर्तिनका लागि गरिएका दुरुत्साहनका कार्यहरु निरुत्साहित हुन नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरुले बैंकिङ लगानीकर्ताहरुमा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीहरुसमेत पलायन हुने क्रम बढेकोप्रति मन्त्रीको ध्यानाकर्षण गराएक थिए । 

त्यसैगरी, परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी/नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधारस्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेको बताए ।

उनले पूँजी निर्माण एवं परिचालन, लगानी विस्तार, रोजगारी, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको यस क्षेत्रले कमाउनै हुँदैन भन्ने निहित स्वार्थ समूहको सोच र सोही प्रकारका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरुको मुनाफा ऋणात्मक भएको बताए ।

त्यस्तै परिसंघका कार्यकारी सदस्य लिला प्रकाश सिटौलाले कर्जा र धितोको विषयमा वस्तुगत अध्ययन नै नगरी गैरकार्यकारी भूमिकामा रहने सञ्चालकहरुलाई कागजी जानकारीका आधारमा हिरासतमा लिने प्रवृति बढ्दै जानुले समग्र बैंकिङ क्षेत्र नै भयवित बनेको बताए ।

सो अवसरमा अर्थमन्त्री पौडेलले सुशप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीहरुको समाधान र अपेक्षाहरुको सम्बोधन लागि सरकारले आवश्यक पहलकदमी लिने बताए ।

सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानी हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्‍याउने कुनै पनि गतिविधिहरु क्षम्य नहुने बताए ।

अर्थतन्त्रको आधार स्तम्भकारुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधानहरु सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने पनि उनले बताए ।

उक्त छलफलमा सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्ली, सचिव भरतराज ढकाल, सह-कोषाध्यक्ष  हिरेन्द्रमान प्रधान, सदस्यहरु राधेश पन्त, मनोज कुमार गोयल, डा चन्द्र बहादुर अधिकारी, महेन्द्र कुमार गोयल र महानिर्देशक रोशन कोइरालाको समेत सहभागिता थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved