मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्मा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माविरुद्ध केन्द्रीय बैंकमा गम्भीर आरोपसहित उजुरी परेको छ। उनीहरूले कर्जा प्रक्रिया र संस्थाको पदीय जिम्मेवारीको दुरुपयोग गरेको आरोप छ।
उजुरीअनुसार शर्मा द्धयले असोज मसान्तमा एनआईसी एसिया बैंकबाट ९.०६ प्रतिशत ब्याजदरमा एक अर्ब रुपैयाँ कर्जा लिएर त्यसको ५० करोड रुपैयाँ सवा र ब्याज गरी १४ दिनभित्र १७ लाख रुपैयाँ फिर्ता गरेका थिए। कर्जासम्बन्धी यस अनियमितताको छानबिन र कारबाहीको माग उजुरीमा गरिएको छ।
२०८१ असोजमा रूपन्देहीमा आयोजित समीक्षा कार्यक्रममा मेटलाइफ बिमालाई प्रायोजक बनाए पनि खर्च संस्थाबाट भुक्तानी गराइएको आरोप छ। करिब ४० लाख रुपैयाँ भुक्तानीमा अनियमितता भएको दाबी गरिएको छ।
त्यस्तै, विगतमा जागिर छोडेका र निलम्बित कर्मचारीहरूसँगको पाँच करोड रुपैयाँ असुलउपर नगर्नु, सीईओ नियुक्तिमा सम्झौता उल्लङ्घन गरी दशैं भत्ता लिएको, र संस्थाको निर्णय प्रक्रियामा अध्यक्ष र सचिवले मनोमानी गरेको उजुरीकर्ताको भनाइ छ।
सञ्चालक सदस्य खडानन्द सापकोटालाई अन्यायपूर्ण रूपमा पदमुक्त गरिएको, अनलाइन बैठकमा पारित निर्णयलाई फरक रूपमा माइन्युटमा लेखिएको, र अध्यक्ष शर्माले नेपाल पेमेंट सोलुसन र लघुवित्तको जिम्मेवारी एकसाथ बहन गर्नु कानुनविपरीत रहेको उजुरीमा उल्लेख छ।
उजुरीकर्ताले यी गम्भीर अनियमितताको छानबिन गरी अध्यक्ष र सीईओलाई पदमुक्त गर्न तथा संस्थागत सुसासन कायम गर्न केन्द्रीय बैंकसँग माग गरेका छन्।