सिवाईसीका सीइओमाथि फर्जी तालिम देखाएर संस्थाको पैसा गोजीमा हालेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2024 | 03:03:41 PM मा प्रकाशित

सिवाइसि लघुवित्त वित्तिय संस्थामा संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र शर्माको फर्जी धन्दा अझैं पनि नरोकिएको आरोप लागेको छ। कहिले नक्कली भ्रमण देखाएर भत्ता लिने, कहिले कर्मचारीको नाममा पेशी लिएर आफुले चलाउने आरोप लागेका शर्माले बाग्लुङ्गमा कर्मचारीको तालिम भएको देखाएर त्यसको पैसा गोजीमा हालेको आरोप लागेको हो।

तालिम भनेर लघुवित्तबाट त्यसको भुक्तानी गराउने तर त्यो पैसा शर्मा आफुले गोजीमा हाल्ने गरेको लघुवित्त स्रोतले जनाएको छ। बाग्लुङ्गको 'न्यु होटल पिस प्यालेस' मा दुई दुई पटक कर्मचारीलाई तालिम भनेर लघुवित्तबाट करिब दश लाख रुपैयाँ भुक्तानी गरीएको स्रोतले बिजपाटीलाई उपलब्ध गराएको प्रमाणमा देखिन्छ।   

बाग्लुङ्गको तालिममा उपस्थित भनिएका कर्मचारीहरु सोहि दिन पोखरा स्थित केन्द्रिय कार्यालयमा हाजिर भएको हाजिर लक बुकमा देखिन्छ। यसले पनि कर्मचारीलाई भनिएको तालिम फर्जी भएको स्रोतको दाबिलाई पुष्टि गरेको छ। 

त्यतिमात्र नभई, तालिम गराउनेबारे गरिएको लघुवित्तको संचालक समितिको निर्णयको माइन्युटमा समेत कैफियत भेटिएको छ। बैशाख २ गते भएको भनिएको तालिमको लागि संचालक समितिको बैठकले बैशाख ८ गते मात्रै निर्णय गरेको माइन्युटमा देखिएको छ। त्यस्तै, जेठ २८ गते भएको भनिएको तालिमको निर्णय र खर्चबारेको निर्णय असार ५ गतेको संचालक समितिले निर्णय गरेको माइन्युटमा देखिन्छ। 

फर्जी तालिम देखाएर त्यसको पैसा गोजीमा हालेको आरोपमा सत्यता नभएको शर्माले बताए। 

तालिमको नाममा मात्रै नभई शर्माले आफैले लेखेको किताब संस्थाको पैसाले किनेर लघुवित्तका सदस्यलाई बाँड्ने, संस्थामा संचालक समिति सदस्य वा सामान्य कर्मचारीको हैसियत नहुँदा पनि संस्थाकै गाडी घोडा र क्वाटर प्रयोग गर्ने, आफुलाई चाहिने नगद पैसा संस्थाकै ड्राइभर र निकट कर्मचारीलाई 'पेश्की' दिएको देखाएर लिने,  वर्षभर देशदौडाहामा हुने तर तलब भत्ता संगै भ्रमण भत्ता पनि लिने गरेको आरोप छ। 

त्यसो त नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागले हालै मात्रै गरेको स्थलगत निरीक्षणको प्रतिवेदनमा पनि माथि उल्लेख कफियतबारे उल्लेख गरिएको छ। तर लघुवित्त वित्तिय संस्थालाई दुहुनो गाई बनाएर संस्थाको पैसामा मोजमस्ती गर्ने गरेको समाचार प्रमाण सहित राष्ट्र बैंकमा पेश हुँदा पनि शर्मालाई राष्ट्र बैकले चेतावनी समेत दिन सकेको छैन।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved