ऋणीको सम्पत्ति लिलामीमा पारदर्शिता र विश्वसनीयता अपनाउन सरोकारवालाको सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2025 | 05:26:28 PM मा प्रकाशित

laxmi sunrise bank

बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रममा यो विषय प्रमुख रूपमा उठाइएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल ले धितो लिलाम प्रक्रियामा पारदर्शिता अभाव रहेको भन्दै सुधार आवश्यक रहेको बताए। उनले धितो मूल्याङ्कन गर्दा उच्च मूल्य राख्ने तर लिलाम गर्दा निकै कम मूल्याङ्कन गर्ने प्रवृत्तिलाई सच्याउनुपर्ने बताए। “धितो स्वीकार गर्दा इञ्जिनियरको मूल्याङ्कन गर्ने, तर लिलामका बेला त्यो प्रक्रिया नअपनाउने प्रवृत्ति रहँदै आएको छ,” उनले भने।

नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेल ले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह मात्रै नभएर ऋणीको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए। उनले ऋण दिएको उद्देश्यअनुसार नै प्रयोग भए/नभएको अनुगमन गर्न आवश्यक रहेको उल्लेख गरे।

वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्य ले राष्ट्र बैंकको नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेको दाबी गरे। उनले केही संस्थाका गल्तीका आधारमा सबै संस्थालाई दोष लगाउन नहुने बताए। साथै, पछिल्लो समय ऋण उठाउन समस्या भइरहेको तथा बैंक कर्मचारीहरू आक्रमणको शिकारसमेत भएको भन्दै सुरक्षा चुनौतीबारे सचेत गराए।

नेपाल राष्ट्र बैंक वीरगञ्जका सहायक निर्देशक नरेशकुमार सर्राफ ले ऋण असुली चुनौतीपूर्ण हुँदै गएको उल्लेख गर्दै, सम्पत्ति लिलाम गर्दा पारदर्शिता अपनाउनुपर्ने बताए। पर्साका प्रहरी प्रमुख गौतम मिश्र ले पछिल्लो समय आर्थिक अपराधका उजुरीहरू बढिरहेको बताए। बैंक तथा वित्तीय संस्थाले यस्ता गतिविधिहरूको अनुसन्धानमा सहकार्य गर्नुपर्ने उनको भनाइ थियो।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका गणपति राधेश्याम धिमाल ले बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षा प्रविधिको प्रयोग गर्न र कार्यालय वरिपरि सीसी क्यामेरा जडान गर्न आग्रह गरे।कार्यक्रमका वक्ताहरूले ऋणीहरूको सम्पत्ति लिलामी गर्दा देखावटी प्रक्रिया मात्रै पूरा नगरी पारदर्शिता, निष्पक्षता र कानुनी विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved