
कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धर लाई शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन प्रतियोगिताको सद्भावना दूत नियुक्त गरिएको छ। फागुन ११ गते (फेब्रुअरी २३, २०२५) बुटवलमा आयोजना हुने नेपालको सर्वाधिक पुरस्कार राशीको १० किलोमिटर दौड प्रतियोगिता का लागि मानन्धरलाई नियुक्त गरिएको हो।
दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता का कीर्तिमानी धावक मानन्धरले खेलकुद प्रवर्द्धनका लागि आफूलाई सद्भावना दूत नियुक्त गरिएकोमा शाइन रेसुङ्गा बैंक परिवारप्रति आभार व्यक्त गरेका छन्। उनले स्वस्थ जीवनशैलीका लागि दैनिक दौडने संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
"स्वास्थ्य र तन्दुरुस्तीका लागि दौडौं" भन्ने नारासहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड ले फागुन ११ गते "शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन" आयोजना गर्न लागेको हो। इच्छुक खेलाडी तथा धावकहरूले फागुन ९ गते (फेब्रुअरी २१, २०२५) दिउँसो १२:०० बजेसम्म बैंकको आधिकारिक वेबसाइटमार्फत नाम दर्ता गर्न सक्नेछन्। दौड शाइन रेसुङ्गा बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुनः केन्द्रिय कार्यालयमा आएर समाप्त हुनेछ।
बैंकको १७ औं वार्षिकोत्सव को अवसरमा लोकप्रिय एथलेटिक्स विधाको रुपमा १० किलोमिटर राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख रुपैयाँ निर्धारण गरिएको छ। प्रतियोगिता खुला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथि गरी तीन विधामा हुनेछ। लुम्बिनी प्रदेशका नागरिकहरू मात्र स्थानीय विधामा सहभागी हुन पाउनेछन् भने अन्य धावकहरू स्वतः खुला विधामा समावेश हुनेछन्।
पुरुष तथा महिला खुला विधाका विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १५ हजार, र पाँचौं हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। स्थानीय विधामा ५ किलोमिटरको दौड हुनेछ, जसमा ५० वर्षमुनि र ५० वर्षभन्दा माथि गरी दुई समूह बनाइनेछ। विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथो स्थान प्राप्त गर्नेले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन कखरा इभेन्ट्स द्वारा गरिनेछ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड ले विगत १६ वर्षदेखि बित्तीय सेवा प्रदान गर्दै आएको छ र विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर रहँदै आएको छ। यसैको निरन्तरतास्वरूप खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्य सहित यो दौड प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघ ले स्वीकृति प्रदान गरेका छन्।