बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना तथा अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा भएको थुनछेक बहसपछि जिसस प्रमुखसमेत रहेका कुमारी सहकारीका पूर्वसञ्चालक थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरूङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश)लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो।
यसैगरी प्रहरी हिरासतमा रहेर बिरामी अस्पतालमा उपचाररत सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश भएको छ। साथै, फरार रहेका १९ जना व्यक्तिलाई पक्राउ पुर्जी जारी गर्न अदालतले आदेश दिएको जिल्ला अदालत म्याग्दीका स्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए।
सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो। अदालतले सहकारी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरी १५ दिनभित्र सहकारी सञ्चालन गर्न आदेशसमेत दिएको छ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरूद्ध सङ्गठित रूपमा सहकारीमा रहेका बचतकर्ता, शेयर सदस्य तथा बाह्य ऋणबापतको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ। नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पु¥याई सहकारी ऐन, २०७४ र संस्थाको विनियमविपरीत कार्य गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
विसं २०६५ मा खुलेको कुमारी सहकारीमा छ हजारभन्दा बढी बचतकर्ता छन्। सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा तथा ऋण समितिका संयोजक र सदस्यलाई मुद्दामा विपक्षी बनाइएको छ। सञ्चालकहरूले सहकारीको रकम व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरी बोर्डिङ स्कुल, घरजग्गा तथा अन्य व्यापारमा लगाएको छानबिन प्रतिवेदनमा उल्लेख छ।
विसं २०८१ माघ २० गते पक्राउ परेका पाँच जना र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरी हिरासतमा थिए भने बाँकी १९ जना अझै फरार छन्। अदालतको आदेशअनुसार अब पक्राउ पुर्जी जारी गरी फरार अभियुक्तहरूको खोजी तीव्र पारिनेछ।