नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न, उत्पादनशील क्षेत्रमा लगानीको खाँचो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2025 | 05:36:34 PM मा प्रकाशित

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सोमबार काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले कोषले राष्ट्रिय प्राथमिकताका पूर्वाधार निर्माण र उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक रहेको बताएका छन्।

उनले नागरिक लगानी कोषले आफूसँग रहेको रकमलाई सरकारले निर्धारण गरेका प्राथमिकता प्राप्त र उत्पादनशील क्षेत्रमा लगानी गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्नुपर्नेमा जोड दिए। साथै, कोषले आम नागरिकलाई बढी संलग्न गराउने र सामाजिक सुरक्षाका क्षेत्रमा थप काम गर्नुपर्ने पनि उनले उल्लेख गरे।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्र बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए।

कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको आर्थिक वृद्धिबारे जानकारी दिँदै २ करोड ४४ लाख रुपैयाँबाट सुरु भएको कोषको हाल चुक्ता पूँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ पुगेको जानकारी दिए। उनका अनुसार, हाल कोषमा करिब ७ लाख सहभागी आवद्ध छन्, जसलाई सहज र सरल सेवा प्रदान गर्न डिजिटल प्रणालीलाई प्राथमिकता दिइएको छ।

कार्यकारी निर्देशक कार्कीले कोषको कर्जा नीति तथा लगानी नीतिमा आवश्यक परिमार्जन गरिंदै सरकारको प्राथमिकता अनुसार पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको बताए। उनका अनुसार, चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ, जसको २ खर्ब ६४ अर्ब रुपैयाँ विभिन्न लगानी क्षेत्रमा परिचालन गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाहरूले आफ्नो लगानी उत्पादनमूलक क्षेत्र, पूर्वाधार निर्माण र रोजगारी सिर्जनामा लगानी गर्नुपर्ने बताए। उनले कोषको ठूलो रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा रहेको भन्दै त्यसलाई रोजगारी सिर्जना र विकास निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिए।

कोषका पूर्वअध्यक्ष डा. भोजराज घिमिरेले सीमित जनशक्तिबाट २ खर्ब ७३ अर्ब रुपैयाँको फण्ड व्यवस्थापन गर्नु ठूलो उपलब्धि भएको बताउँदै, कोषले अझ प्रभावकारी रूपमा अघि बढ्नुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र बिक्रम थापाले कोषसँग सम्बन्धित विभिन्न विषय सम्बोधन गर्न व्यवस्थापन पक्ष र नेपाल सरकारलाई आग्रह गरे।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved