महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको छ। सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षता रहेको थियो।
सभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका अनुसूचीहरू अनुमोदन गरिएको छ। बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा ६३ (१११) अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि सभाले पारित गरेको छ।
साधारणसभाले संस्थाको नियमावलीको नियम ३२ (ग) संशोधन गर्ने निर्णय गर्दै, अन्य ‘घ’ वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद प्रक्रियामा अघि बढ्न निर्देशन दिएको छ। संस्थाको चल-अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, पारिश्रमिक निर्धारण गर्ने, र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ।
सभामा शेयरधनीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले भविष्यमा शेयरधनीहरूलाई उच्च प्रतिफल दिन कम्पनीको व्यवस्थापन अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सभालाई सम्बोधन गर्दै माननीय सांसद जुली कुमारी महतोले संस्थाको उन्नति तथा प्रगतिको शुभकामना दिएकी छन्। प्रमुख अतिथि तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्तबीच सहकार्य गरी संस्थालाई अझ मजबुत बनाउन सुझाव दिएकी छन्।
यस वार्षिक साधारणसभाबाट लघुवित्त संस्थाहरू गाभ्ने/गाभिने प्रक्रियालाई अघि बढाउने निर्णय भएकोले यसको प्रभावबारे लगानीकर्ता तथा सरोकारवालाहरूको चासो बढेको छ।