नेपाल राष्ट्र बैंकले क्रस होल्डीङ मार्फत बाणिज्य बैंकलाई मर्जर गर्ने नीति लिएको छ। मौद्रिक नीति पुर्व मर्जरको लागि तात्तिएको तर नीतिगत रुपमा केहि नआएको भन्ने आलोचना भईरहेका बेला मर्जरको नीति नछाडेको राष्ट्र बैकका अधिकारिहरुले दाबि प्रस्तुत गरेका छन।
'मर्जरको हल्ला जस्तै बुझ्ने गरि मौद्रिक नीतिमा फोर्स मर्जर भन्ने शब्द छैन, तर नियमले बाँधेर मर्जर गराउने कुरा स्पष्ट छ, त्यसलाई बुझ्नु पर्नेले बुझेका छन' राष्ट्र बैंकका एक उच्च अधिकारिले बिजपाटीलाई बताएका छन। मौद्रिक नीतिमा भएको क्रस होल्डीङको प्राबधाननै फोर्स मर्जरको संकेत भएको उनको दाबि छ।
मौद्रिक नीतिमा निश्चित प्रतिशत भन्दा माथि सेयर भएकालाई क्रस होल्डीङ मानिने भएपनि कति प्रतिशत भन्ने कुरा सर्कुलरमा स्पष्ट हुने र त्यसले एकै व्यक्ति तथा समुहका बैंक तथा वित्तीय संस्था मर्जरमा जाने राष्ट्र बैंकका अधिकारिको दाबी छ।
केहि ठुला बैंकहरुमा नै क्रस होल्डीङ भएकाले यस व्यवस्थाले जटिलता ल्याउने उनको भनाई छ। ठुला बैंकहरुलाई मर्जरमा लैजाँदा भोलि बैंकिङ क्षेत्रमा नै समस्या आउनसक्ने तर्फ पनि केन्द्रिय बैंक बेलैमा सजग हुनुपर्ने उनको भनाई छ ।
नेपालको ठुला बैंकहरु भनेर चिनिएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष समेत रहेका पाण्डे समुहको क्रस होल्डीङ हिमालयन बैंकमा देखिएको छ। त्यस्तै एनएमबी बैंक, एनआईसी एशिया बैंक र सनराइज बैंकमा पनि क्रस होल्डीङ रहेको बताइन्छ। यि तिन वटा बैंकलाई मर्जरमा लैजान चुनौति रहेने देखिन्छ।
'नेपाल राष्ट्र बैंकले चाहेमा सनराइज बैंकलाई एनएबी अथवा एनआईसी एशिया बैंकमा मर्जरमा लैजान सक्ला तर एनएमबी बैंक र एनआइशि एशिया बैंकबीचको मर्जर त्यति सहज देखिदैन' स्रोतको भनाई छ।
खेतान ग्रुपको भनेर चिनिने लक्ष्मी बैंकलाई समेत मर्जरमा जान बाध्यता हुन सक्ने देखिन्छ। लक्ष्मी बैंकको क्रस होल्डीङ हिमालयन र नेपाल बैंकमा पनि देखिएको छ। एकै ग्रुपको ३ वटा बैकमा संस्थापक सेयर रहेकाले यसमा पनि राष्ट्र बैंकलाई ठुलो चुनौती देखिन्छ। खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान लक्ष्मी बैंकमा संस्थापक शेयरधनी रहेका छन् भने हिमालयन बैंक र नेपाल बैंकमा पनि खेतान ग्रुपबाट एक जना संचालकको प्रतिनीधीत्व हुने गर्दछ।
सिटिजन बैंकका संस्थापक सेयरधनी समेत रहेका नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष प्रदिप जंग पाण्डेको क्रस होल्डीङ सिभिल बैंकमा र बैंक अफ काठमान्डूका मल्ल समुहको क्रस होल्डीङ सिभिल बैंकमा देखिएको छ। त्यस्तै नेपाल बंगलादेश बैंकका प्रमोटर रहेका जित बहादुर श्रेष्ठ समुहको क्रस होल्डीङ एनसिसि बैंकमा छ।
राष्ट्र बैंकले 'धर्म' नछाड्ने हो भने मौद्रिक नीतिमा भएको क्रस होल्डीङको प्राबधानले धेरै ठुला बैंकहरु मर्जरमा जानुपर्ने देखिन्छ। यद्दपी क्रस होल्डीङ देखिएका तेस्रो पुस्ताका बैंकहरु राष्ट्र बैंकको प्राथमिकतामा रहेको बताइन्छ।