अनलाइन ठगी र कृषि विकास बैंकको सिस्टम ह्याकको दोहोरो कनेक्सन

१७ बैंकको प्रयोग
विजय पराजुली

विजय पराजुली

Dec 11, 2019 | 05:20:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार प्रहरी अपराध महाशाखाले अनलाईन मार्फत करोडौं रुपयाँ ठगी गर्ने एउटा गिरोहलाई सार्वजनिक गर्यो । उक्त गिरोहले आम नागरिकलाई चिठ्ठा परेको, लाखौंको पार्सल आएको भन्दै प्रलोभनमा पारी ठगी गर्ने गरेको खुलासा भएको छ । गिरोहले पार्सल तथा चिट्ठा विभिन्न स्थानमा अड्केको र त्यसलाई छुटाउन केहि रकम आवश्यक पर्ने भन्दै पैसा उठाएर ठगी गर्ने गरेको खुलेको हो ।

प्रहरी अपराध अनुसन्धान महाशाखाले समान्य उजुरीको अधारमा अनुसन्धान गर्दै जाँदा अनलाईन ठगीको ठुलो सञ्जाल सम्म पुगिएको जनाएको हो । नाइजेरीयन नागरीक पिटर मुख्य योजनाकार भएको र पिटरले आफ्नो एजेन्ट मार्फत नेपालमा अनलाइन ठगी तथा बैंक ह्याक गर्नेसम्मको कार्यमा संलग्न देखिएको अनुसन्धानले देखाएको महाशाखाले जनाएको छ ।

 कसरी बाहिर आयो घटना ?

 शान्ता राई भनिने एक जना पिडित महिलाले एउटा उजुरी लिएर प्रहरी समक्ष पुगिन । उनले आफुलाई चिट्ठा परेको भन्दै सन्देश आएको र त्यसको छुटाउन लागि निश्चित रकम पठाउन आग्रह गरेको बताइन ।  हाल बेलायतमा रहेका स्मीथ मोरिस नामका ब्यक्तिले राइलाई विश्वस्त पारेको र आफुले पटक पटक २४ लाख भन्दा माथि रकम पठाएको तर चिट्ठा पनि नपाएको साथै पैसा पनि फिर्ता नपाएको भन्दै ठगीको उजुरी गरिन ।

सोहि उजुरीको आधारमा छानविन गर्दै जाँदा राइले काठमाडौंको ठमेलमा रेस्टुरेन्ट संचालन गर्दै आएका रमेश खड्काको खातामा पैसा ट्रान्सफर गरेको देखियो । अनुसन्धानमा संलग्न अधिकारीले भने रेस्टुरेन्ट व्यबसायी खड्का र मुख्य योजनाकार पिटरको बीचमा पनि सम्बन्ध भेटिएको छ । योजनकार पिटरले खड्का लगायत ४० जना नेपाली नागरिकलाई एजेन्टको रुपमा परिचालन गरेको देखिएको छ ।

उनले भने ‘रमेश खड्का,  उनको रेस्टुरेन्टमा काम गर्ने वेटर विश्वेश्वर प्रसाद तिवारी र मनि एक्सचेन्जका संचालक संदिप कलवारको बीचमा विभिन्न १७ वटा बैंकमार्फत करिब १४ करोड ६८ लाख रुपैयाँको कारोबार भएको देखिन्छ ।‘ उनका अनुसार १५ जनाले उजुरी दिएकोमा ५ जनाले रमेश खड्काको खातामा पैसा ट्रान्सफर गरिएको फेला परेको छ ।

 उजुरी दिएको १५ जनाको ७२ लाख भन्दा बढी ठगी भएको उजुरी आएको र त्यस्ता पिडीत हजारौको संख्यामा हुन सक्ने भन्दै प्रहरीमा उजुरी दिन समेत महाशाखाले आग्रह गरेको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पक्राउ परेका तीन जनाले विभिन्न बैंक मार्फत १४ करोड ६७ लाखको कारोबार गरेका छन् । यी कारोबार हुँदा उनीहरुले बैंकहरुको सिस्टम नै ह्याक गरेको हुन् सक्ने आशंकामा महाशाखाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

केहि समय अगाडी कृषि विकास बैंकको सिस्टम ह्याक हुँदा संलग्न देखिएका संजय घले र लवाङ तामाङको सम्बन्ध यस घटनाका मुख्य योजनाकार पिटरसँग पनि देखिएको छ । कृषि विकास बैंक ह्याक प्रकरणको मुख्य योजनाकार नै पिटर रहेकोले यी दुई घटना एक अर्कासँग सम्बन्धित रहेको प्रहरीको भनाई छ ।

 यस्तै कृषि विकास बैंकमा पनि आफ्नो एजेन्टको खातामा रकम ट्रान्सफर गर्नुको साथै भारत प्रैसा लगिएको देखिएको र हालको घटनामा पनि एजेन्टको बैंक खाता प्रयोग गरी रकम भारत लागेको देखिएकोले दुवै घटनामा समानता देखिएको छ । अहिले भएको अनलाइन ठगी प्रकरणमा एजेन्टलाई १५ देखि २० प्रतिशत कमिसन दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत नै पठाईएकोले पनि घटना एक अर्कासँग जोडिएको पुष्टी हुने प्रहरीले जनाएको छ ।

पिटर, मोरिस र रमेश खड्कका बीचको सम्बन्ध

अनलाइन ठगीको मुख्य योजनकार पिटर नै रहेको र पिटरको एजेन्टको रुपमा रमेश खड्काले नेपालमा काम गरिरहेको प्रारम्भीक अनुसन्धमा देखिएको महाशाखाले जनाएको छ । रमेश खड्काले पिटरको एजेन्टको रुपमा नेपालका विभिन्न व्यक्तिहरुलाई बैंक खाता खोल्न लगाएर खाता नम्बर पिटरलाई पठाउने गरेको देखिन्छ । तर पिटरलाई पठाईएको एजेन्टको खाता नम्बर कसरी पिडितले पाए भन्ने एकीन नभएपनी पिटरले बेलायतबाट नै ठगीको अनलाइन सिस्टम संचालन गरेको हुन्  सक्ने प्रहरीको भनाई छ । स्मिथ मोरिसले पिटरको योजना अनुसार उनको सहयोगीको रुपमा बेलायतबाट अनलाइन ठगीको काम गर्ने गरेको खुलेको छ ।

उनै स्मीथले नै सर्वसाधारणलाई विभिन्न माध्यमहरु (भाइबर, म्यासेन्जर, ह्वाट्स एप, इमो र इमेल) लगायतको माध्यमबाट पार्सल अथवा चिठ्ठा परेको सन्देश दिने गरेको देखिन्छ । उक्त रकम पाउन निश्चित रकम पठाउनु पर्ने भन्दै नेपाली एजेन्टको खाता नम्बर समेत पठाउने गरेको प्रहरी जनाएको छ । पठाईएको रकम पास भएको तर सिधै नेपालको बैंकमा पैसा पठाउन नमिल्ने भन्दै भारतीय एजेन्ट प्रयोग गरी पीडितबाट थप पैसा मगाउने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

 अनुसन्धानमा संलग्न अधिकारीले भने पिडितले पुन उनीहरुले भनेको बैंक खातामा रकम हाल्ने गरेको र यसरी पटक पटक विभिन्न बहाना बनाएर पैसा हाल्न लगाउने गरेको देखिन्छ ।प्रहरीले आफ्नो अनुसन्धानमा १० जना भारतीय नागरिकको पनि संलग्नता देखिएको जनाएको छ । यस्तै पिटर र रमेश खड्को बीचमा पुरानो सम्बन्ध भएको र खड्काले कमिशनको लागि मात्रै नभएर मिलेमतोमा नै एजेन्टको रुपमा गरेको देखिन्छ । अपराध महाशाखाका प्रहरी अधिकारी भन्छन २०१० मा पिटर रमेश खड्काको ठमेलमा रहेको रेस्टुरेन्टमा बसेको देखिन्छ ।

यी हुन् ठगी गर्ने गिरोहले रकम ट्रान्सफर गर्न प्रयोग गरेका बैंक तथा संस्थाहरु : 

कृषि विकास बैंक, पानस रेमिट, बैंक अफ काठमाडौँ, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराइज बैंक, सिटिजन बैंक, नबिल बैंक, लुम्बिनी विकास बैंक , माछापुच्छ्रे बैंक , नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved