नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुलाई रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न निर्देशक दिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको भई औपचारिक उद्घाटन कार्यक्रमा गभर्नर नेपालले युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्न रोजगारमूलक अवसर सिर्जना हुने गरी लगानी बढाउन निर्देशन दिएका हुन् ।
नेपालले नाकाबन्दीबाट अझै पनि पाठ सिक्न नसकेको औंल्याउंदै गभर्नर नेपालले मुलुक अरु कसैले बनाइदिने नभई नेपालीले नै बनाउने हो भन्ने चेत खुल्नुपर्नेमा जोड दिए । नेपालीहरुले मलेसिया,दुबई, अमेरिका र अष्ट्रेलियामा मात्रै अवसर देख्ने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले उद्यम गर्नेलाई ऋण दिन बैंकहरु गाउं गाउंमा पुगिसकेकाले बैंकबाट कर्जा लिएर उद्यमशील बन्न सुझाव दिए ।
रुपन्देहीको तिलोत्तमामा भएको लगानी सम्मेलनले समेत ५ नम्बर प्रदेशमा लगानीका प्रशस्त संभावना खोलेको भन्दै उनले कृषि,पर्यटन र सेवा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपालको आर्थिक बृद्धि दर तीन वर्ष यता लगातार बृद्धि हुनु लगानीकर्ताका लागि खुशीको कुरा भएको स्मरण गराए ।