राष्ट्र बैंकको निर्देशनले के होला हिमालयन बैंकको संचालक विवाद ?

विजय पराजुली

विजय पराजुली

Dec 30, 2019 | 03:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकमा संचालक चयनको बिषयलाई लिएर नेपाल राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ। आपसी समझदारीमा संचालक चयन हुँदै आएको भन्दै राष्ट्र बैंकले चुनावी प्रकृयाबाट नै संचालक चयन गर्नलाई निर्देशन दिएको हो।

सिमित व्यक्तिको चुंगुलबाट बाहिर ल्याउनलाई चुनावी प्रकृयाबाट नै संचालक चयन गर्नलाई निर्देशन दिइएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ। हाल कायम संस्थापक सेयरको स्वामित्व बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार नै गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन पनि यहि कारण भएको राष्ट्र बैंकको दाबि छ। 

हाल ८५ प्रतिशत रहेको संस्थापक सेयरधनीको हिस्सा १५ प्रतिशतले घट्दा सर्वसधारणको पनि बैंक संचालक समितिमा नेतृत्त्व हुने र यसले बैंकमा अहिले कायम संचालकको दबदबा तोडिने राष्ट्र बैंकको बुझाई छ। 

राष्ट्र बैंकले सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत बनाउन र संचालकको नियुक्ति चुनावी प्रकृयाबाट गर्नलाई दिएको निर्देशनले हिमालयन बैंकको आगामी साधारणसभालाई लिएर अन्यौलता बढेको पाइएको छ। राष्ट्र बैंकको निर्देशनले बैंकमा श्रेष्ठ र राणा समुहको बर्चश्व समाप्त समाप्त हुने अपेक्षा गरिएको छ। 

के थियो विवाद ?

बैंकमा संचालक समितिको विषयलाई लिएर पहीलेदेखिनै विवाद रहँदै आएको छ। बैंकमा पहिलो विवाद सन २०१२ मा देखिएको थियो । त्यतिबेला बैंक संचालक समितिको अध्यक्षमा एन ट्रेडिङ कम्पनीको तर्फबाट हालको समेत अध्यक्ष रहेका मनोज बहादुर क्षेष्ठ अध्यक्ष र आभा इन्टरनेशनलको तर्फबाट हालको समेत प्रमुख कार्यकारी अधिकृत आशोक राणा थिए।  

सुरुमा राणा र श्रेष्ठ बीचमा एकले अर्कालाई हटाउने विषयमा विवाद थियो तर पछि त्यही पदमा एकले अर्कोलाई सहयोग गर्ने सहमति जुटेपछि  खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीबाट प्रतिनिधीत्व गर्दै आएका संचालकले नोट अफ डिसेन्ट लेखेर संचालक समितिबाट बाहिरिएका थिए । त्यसपछी उक्त कम्पनीबाट संचालकमा कुनै प्रतिनिधित्व छैन।

बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐन, वाफियामा संचालक समितिको संख्या ७ जनामा सिमित गरेपछी बैंकको संचालक समितिमा केही हेरफेर भएको थियो। सोही समयमा खेतान समुहको म्युचुअल ट्रेडिङ कम्पनीले पनि संचालक समितिमा मनोनयन गर्न भन्दै बैंकलाई पत्र लेखेपछि बैंकको संचालक समितिको विषयलाई लिएर विवाद रहँदै आएको छ। म्युचुअल ट्रेडिङ कम्पनीको उक्त विषय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र अदालत सम्म पुगेको थियो।

म्युचुअल ट्रेडिङ कम्पनीको उजुरी विरुद्ध अदालतले बैंक संचालक समितिलाई कम्पनीको विरुद्धमा कुनै पनि निर्णय नगर्न निर्देशन समेत दिएको थियो। तरपनि म्युचुअल ट्रेडिङ कम्पनीबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । म्युचुअल ट्रेडिङ कम्पनीलाई कर्मचारी संचय कोष र हबीब बैकले समेत साथ दिएको बताइन्छ।  

यि हुन् बैंकका ठुला संस्थापक शेयरधनी 

बैंकमा ८ प्रतिशत भन्दा माथि शेयर स्वामीत्व रहेका ६ वटा कम्पनी छन्। संयुक्त लगानीको बैंकमा सबैभन्दा धेरै शेयर हिस्सा पाकिस्तानको हबीब बैंकको २० प्रतिशत, दोस्रोमा कर्मचारी संचय कोष १४ प्रतिशत, एन ट्रेडिङ कम्पनीको १२.७१ प्रतिशत छ। जसबाट संचालकमा प्रतिनीधीत्व गरेको मनोजबहादुर श्रेष्ठ हाल बैंकको अध्यक्ष रहेका छन् । 

त्यस्तै बैंकको चौथो ठुलो शेयरधनी रहेका खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत शेयर छ। यस्तै बैंकको पाँचौ ठुलो शेयरधनीको रुपमा प्रथम गभर्नर हिमालयन शम्शेर राणाको आभा इन्टरनेशनलको ११.३८ प्रतिशत र छाँया इन्टरनेशनलको ८.८९ प्रतिशत शेयर स्वामित्व छ। यस्तै बैंकको सातौ ठुलो शेयरधनीमा शशिकान्त अग्रवाल छन्। 

समाधान होला त विवाद ? 

बैंकले केही संस्थागत शेयरधनीबाट मनोनयनको आधारमा संचालक चयन गर्दै आएको छ। यहि कारणले बैंकमा संचालकबीच बिबाद बढेपछि राष्ट्र बैंकले चुनावी प्रकृयाबाट नै संचालक चयन गर्न निर्देशन दिएको हो। बैंकमा संस्थापक र साधारण शेयर संरचना परिवर्तन भएपछी संचालक प्रतिनिधित्वमा पनि उलटफेयर हुन सक्ने देखिन्छ । 

सात सदस्सीय संचालक समितिमा एक जना स्वतन्त्र संचालक नियुक्त गर्नुपर्ने कानुनी प्राबधान छ। अन्य ६ जना संचालक भने साधारणसभाले चयन गर्नुपर्ने हुन्छ। हिमालयन बैंकमा साधारण शेयरको हिस्सा ३० प्रतिशत पुगेसँगै संस्थापक शेयरधनीको तर्फबाट संचालक बन्नेको संख्या पनि घट्ने देखिन्छ । 

यसअधि बैंकमा संस्थापक समुहबाट संचालक ५ जना रहेकोमा आगामी साधारणसभाबाट ४ जना मात्रै चयन हुने अवस्था छ। यसबाट संचालक समितिमा मनोजबहादुर श्रेष्ठको राज पनि सकिने अवस्था आउन सक्ने जानकारहरु बताउँछन् । श्रेष्ठले साधारण, स्वतन्त्र संचालकको साथै छायाँ इन्टरनेशनल, आभा इन्टरनेशनल र आफु संचालक चयन भएको एन ट्रेडिङ कम्पनीको संचालकको सर्मथनमा अध्यक्ष पद खाँदै आएका थिए। तर श्रेष्ठलाई अब अध्यक्षमा कायम रहनको लागि कम्तीमा आफुलाई समर्थन गर्न आफु बाहेक ३ जना संचालक निर्वाचित गाउनुपर्ने हुन्छ । जसको लागि उनले दुई ठुुला शेयरधनी कर्मचारी संचय कोष र हबिब बैंकको साथ आवश्यक पर्ने देखिन्छ। उता हविब बैंकले आफ्नो प्रमोटर शेयर बेलायतको सिडिसि ग्रुपलाई बिक्रि गर्न लागेको छ । तर अध्यक्ष मनोजबहादुर श्रेष्ठ भने सिडिसिलाई ल्याउँदा आफ्नो राजको अन्त्य हुने भन्दै ल्याउन नहुने पक्षमा लागेको तर खेतान समहु भने ल्याउनुपर्छ भन्ने पक्षमा रहेको स्रोतको दाबी छ । 

सिडिसिले गभर्नर र अर्थमन्त्रीलाई समेत भेटेर हिमालनय बैंकमा लगानीको विषयमा छलफल गरेको र उनीहरु पनि सकारात्मक रहेको तर बैंकको संचालक विवादको विषय सिडिसि भित्र्याउन बाधक बन्न लागेको महसुस भएपछी राष्ट्र बैंकले बैंकमा निवार्चनबाट संचालक चयन गर्न निर्देशन दिएको बताइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved