ठुला बैंकका कारण कर्जाको ब्याजदर नघट्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2020 | 03:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजी क्षेत्रले कर्जाको ब्याजदर एकल अंकमा आउनुपर्ने माग गरेपनि बैंकहरुको तथ्याङ हेर्दा कर्जाको ब्याजदर एकल अंकमा नआउने देखिएको छ । औषतमा बैंकहरुको आधार ब्याजदर (बेसरेट) एक अंकमा आएपनि कर्जाको ब्याज भने नघट्ने देखिएको हो ।

हालसम्म १८ वटा बैंकले चालु आर्थिक वर्षको पुष मसान्त सम्मको ब्याजदर सार्वजनिक गरेकोमा ६ वटा बैंकको आधार ब्याजदर असोज मसान्तको तुलनामा वृद्धि भएको छ । त्यस्तै २ वटा बैंकको आधार ब्याजदर स्थिर रहेको छ भने बाँकी रहेका १० वटा बैंकको सामान्य घटेको छ ।

गत आर्थिक वर्षको पुष मसान्तसँग तुलना गर्दा १८ वटा बैंक मध्ये ७ वटा बैंकको आधार ब्याजदर बढेको छ । तुलनात्मक रुपमा कम ब्याजदर भएका बैकको आधार ब्याजदर वृद्धि भएको छ भने बढी ब्याजदर भएको बैंकको घटेको छ । गत असोज मसान्त र पुष मसान्तको बैंकहरुको आधार ब्याजदर हेर्दा राष्ट्रिय वाणिज्य र नेपाल एसविआई बैंकको स्थिर रहेको छ भने नविल, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, प्रभु, एनआईसी एशिया, सनराइज र सिद्धार्थ बैंकको आधार ब्याजदरमा वृद्धि भएको छ । यस्तै गत आर्थिक वर्षको पुष मसान्तको तथ्याङक सँग तुलना गर्दा पनि राष्ट्रिय वाणिज्य, नविल, नेपाल, एभरेष्ट, प्रभु, एनआइसी एशिया र नेपाल एसविआई बैंकको आधार ब्याजदरमा वृद्धि भएको छ ।

पुष मसान्तसम्मको ब्याजदर सार्वजनिक भएका बैंकहरुमा ७ वटा बैंकको आधार ब्याजदर नै दोहोरो अंकमा रहेकोले एकल अंकमा कर्जाको ब्याजदर आउने सम्भावना नदेखिएको हो । बैंकहरुले आधार ब्याजदरमा प्रिमियम जोडेर कर्जा लगानी गर्ने भएकोले आधार ब्याजदर नै दोहोरो अंकमा हुँदा कर्जाको ब्याजदर एकल अंकमा आउने सम्भावना नै नरहेको हो ।

पुष मसान्त सम्मको सबै बैकका ब्याजदर सार्वजनिक नभए पनि मंसिर मसान्तसम्मको बैंकको औषत आधार ब्याजदर ९.४६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पुष मसान्तमा बैंकहरुको औषत आधार ब्याजदर १०.३१ प्रतिशत रहेको थियो । बैंकहरुको आधार ब्याजदर घटेको भन्दा पनि मौद्रिक नीतिको ब्यवस्थाले गर्दा बाध्यकारी रुपमा घटाइएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत आधार ब्याजदर गणना गर्दा सम्पत्तिको प्रतिफल बराबरको ०.७५ प्रतिशत भारलाई हटाएको थियो । यसको आधारमा स्वत ०.७५ प्रतिशतले बैंकहरुका आधार ब्याजदर घटेको देखिन्छ ।

तुलनात्मक रुपमा निक्षेप धेरै भएका एनआइशी एशिया, नबिल, राष्ट्रिय वाणिज्य, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट लगायत बैंकको आधार ब्याजदरमा क्रमिक रुपमा बढ्दै गएकोले पनि आगामी दिनमा बैंकहरुको औषत आधार ब्याजदर घट्ने सम्भावना न्युन रहेको देखिन्छ । (बेसरेट) को आधारमा कर्जाको  ब्याजदर निर्धारण हुने भएकोले कर्जाको ब्याज नघट्ने देखिएको हो  ।  साथै चालु आर्थिक वर्षको प्रथम र दोस्रो त्रैमासमा कर्जा लगानी सुस्त भएको र तरलता पर्याप्त रहेको बताउँदा पनि बैंकहरुले निक्षेपका ब्याजदर घटाउन नसकेकोले पनि कर्जाको् ब्याजदर तत्कालै एकल अंकमा आउने सम्भावना देखिदैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved